भ्रष्ट्राचारको मुद्दा खेपिरहेका व्यक्तिसँग दान लिनु पनि भ्रष्ट्राचार हो : अध्यक्ष प्रचण्ड

छानबिनका लागि रविलाई पक्राउ गर्नु स्वाभाविक


सेतोखरी सेतोखरी   ७ घण्टा अगाडि
भ्रष्ट्राचारको मुद्दा खेपिरहेका व्यक्तिसँग दान लिनु पनि भ्रष्ट्राचार हो : अध्यक्ष प्रचण्ड

नेपालगन्ज ५ कार्तिक : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्ट्राचारको मुद्दा खेपिरहेका व्यक्तिसँग दान लिनु पनि एक प्रकारको भ्रष्ट्राचारनै भएको बताएकाछन् । 

कर्णाली प्रदेशको जुम्लामा आयोजित कार्यक्रममा सहभागि हुन जाने क्रममा सोमशार विहान नेपालगन्ज विमानस्थलमा पुगेका अध्यक्ष प्रचण्डले पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै सो बताएका हुन् ।

उनले भने–‘ललिता निवास जग्गा प्रकरणको भ्रष्ट्राचारमा मुछिएर पक्राउ परि जमानतमा छुट्नु भएका मिन बहादुर गुरुङको मुद्दा अझै अदालतमा बिचाराधिन रहेको अवस्थामा उहाँसँग दान लिनु अतिनै गलत कार्य हो, यो पनि एक प्रकारको भ्रष्ट्राचारनै हो ।’

यो सरकार भ्रष्ट्राचार बिरुद्धको अभियानबाट डराएर बनेको तथा यसले भ्रष्ट्राचारीलाई जोगाउने प्रयास गर्नेछ भनि आफुले सरकार छाडेको बेला संसदमा बोलेको कुरा अहिलेको दान प्रकरणले पुष्टि गरेको पूर्व प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।  

Kanti Aarogya Hospital Nepalgunj

उनले सो बिषयलाई लिएर माओवादी केन्द्र लगायतका प्रतिपक्षि दलहरुले सोमवार बेलुका नै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको जनाउँदै यो प्रकरण प्रक्रियामा गएर टुगिंने बिश्वास व्यक्त गरे ।

अप्राकृतिक र अस्वभाविक रुपमा बनेको यो सरकारले भ्रष्ट्राचारीलाई जोगाउने र सरकारको बिरोध गर्नेलाई फसाउने काम गर्न थालेकोले सरकारको आयु धेरै नरहेको अध्यक्ष प्रचण्डले दावी गरे ।

एक अर्को प्रसंगमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सहकारी काण्डको छानविनका लागि निर्माण गरिएको संसदीय समितिले दिएको प्रतिवेदन बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेलाई पक्राउ गरेर अनुसन्धान गरिनु स्वभाविक भएको बताए । उनले प्रतिवेदनले दोषि ठहर गरेका अन्य व्यक्तिहरुलाई किन पक्राउ गरिएन भनि प्रति प्रश्न गरे ।

उनले सरकारको बिरोध गर्नेलाई पक्राउ गर्नु र सत्ताको समर्थन गर्नेलाई खुला छाड्नु अन्यायपूर्ण कार्य भएको जनाउँदै लामिछानेको बारेमा अदालतले निर्णय गर्ने र लामिछाने स्वयंले अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाएकोले यसलाई सहज रुपमा लिनुपर्ने बताए ।

यसअघि कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाही, माओवादी केन्द्र कर्णाली प्रदेशका इन्चार्ज काली बहादुर मल्ल, पूर्व उपसभामुख पूर्णा कुमारी सुवेदी, माओवादी केन्द्र स्थायी समिति सदस्य तथा पूर्व मन्त्री महेश्वर गहतराज अथक, केन्द्रिय सदस्य नरेन्द्र न्यौपाने, लुम्बिनी प्रदेशका पूर्व मन्त्री नमुना केसी, माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे, नविन शर्मा, रतन शाही लगायतका नेताहरुले नेपालगन्ज विमानस्थलमा पूर्व प्रधानमन्त्री प्रचण्डको स्वागत गर्नु भएको थियो ।

बेलुकी ८ बजे ज्ञापनपत्र बुझाइदै

संघीय संसद्का विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने समय सरेको छ । सोमबार जुम्ला पुगेका प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौँ फर्कन समय लाग्ने भएकाले समय सारिएको हो । 

दिउँसो साढे ४ बजे प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने समयतालिका तय भएको थियो । तर, उनी फर्कन समय लाग्ने भएपछि बेलुकी ८ बजेका लागि सारिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

गएको शुक्रबार बसेको प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), प्रतिपक्ष दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी लगायतका दलको बैठकले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो ।

बैठकले ज्ञापनपत्रको मस्यौदा तयार गर्न माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र रास्वपा नेता शिशिर खनाललाई जिम्मा दिएको थियो ।
बाढीपहिरो पीडितलाई राहत तथा उद्धारमा भएको ढिलाइबारे प्रश्न गर्दै विपक्षी दलहरुले ज्ञापन पत्र बुझाउन लागेका हुन् ।

ज्ञापनपत्रमा मुख्यरुपमा बाढीपहिरो प्रभावितलाई तत्काल राहत उपलब्ध गराएर अल्पकालीन र दीर्घकालीन योजनासहित पुनःस्थापना र पुनर्निर्माणमा लाग्नुपर्नेसहितका माग समेटिएको एक नेताले जानकारी दिए । 

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउने विपक्षी दलहरूको तयारी छ ।