‘अध्यादेश अनुपयुक्त, रविलाई पक्राउ गर्नु अनुचित’ : राप्रपा अध्यक्ष लिङ्देन


सेतोखरी सेतोखरी   मंगलबार, कात्तिक ६, २०८१
‘अध्यादेश अनुपयुक्त, रविलाई पक्राउ गर्नु अनुचित’ : राप्रपा अध्यक्ष लिङ्देन

नेपालगन्ज ६ कार्तिक : राष्ट्रिय प्रजातान्त्रिक पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले ल्याउन थालेको भनिएको अध्यादेश अनुपयुक्त भएको प्रतिक्रिया दिएका छन् ।

कर्णाली प्रदेशका विभिन्न जिल्लामा हुन थालेको कार्यक्रममा सहभागी हुन जाने क्रममा नेपालगन्ज विमानस्थलमा मङ्गलबार विबहान पत्रकारसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउँदा सबै दलहरुसँग छलफल गर्नुपर्नेमा त्यसो नगरी सरकारले बहुदलीय प्रजातन्त्र नै समाप्त पार्ने दुश्प्रयास गरेर अध्यादेश ल्याउन थालेको बताए ।

उनले भने,‘मैले प्रधानमन्त्रीलाई भेटेर नै अध्यादेश उपयुक्त नहुने सल्लाह दिएको छु । सरकारले जबरजस्ती ल्याएमा त्यो आफ्नो खाल्डो आफै खनेको ठहरिनेछ ।’

अध्यक्ष लिङ्देनले अर्को प्रशङ्गमा बोल्दै एमालेले पार्टी कार्यालय बनाउन व्यवसायीसँग अर्बको सम्पति लिनुलाई नैतिक भ्रष्टाचारको संज्ञा दिए । उनले अगाडी थपे, ‘व्यवसायीले प्रधानमन्त्रीको पार्टीलाई अर्बाैंको जग्गा उपहार दिनु नैतिक रुपमा भ्रष्टाचार हो । यो गलत हो । ती व्यवसायीले खुशीले त्यो उपहार दिएका होइनन् ।’

Kanti Aarogya Hospital Nepalgunj

लिङ्देनले प्रधानमन्त्री ओलीलाई व्यक्तिगत रुपमा भेटेर व्यवसायीसँग जग्गा लिनुलाई आम जनताले राम्रो रुपमा नहेरेको सम्झाएको पनि बताए ।

यस्तै पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले रवि लामिछाने पक्राउ पर्नुलाई अनुचित नभएको प्रतिक्रिया दिए । अभियोग लागेपछि सफाई दिनु पर्ने बताएका लिङ्देनले यस्ता अभियोग लागेका काँग्रेस र एमालेका नेतालाई पनि पक्राउ गर्नुपर्ने जोड दिए ।

लिङ्देनले अहिलेको व्यवस्थाले अवस्था परिवर्तन नहुने भएकाले अवस्था सुधार्न व्यवस्था परिवर्तन गर्न आवश्यक रहेकाले राप्रपाले आन्दोलनको तयारी गरेको उल्लेख गरे । उनले नेपालमा ‘राजादेखि माओवादी’सम्म अटाउने व्यवस्था आवश्यक रहेको बताए ।

उनले प्रदेश संरचना खारेजी, जनप्रतिनिधिको संख्या कटौती हुन आवश्यक रहेको प्रष्टाए । राप्रपाका नेताका छोराछोरीलाई राप्रपा नै बनाउने अभियान पनि थालेको अध्यक्ष लिङ्देनको भनाई थियो ।

राप्रपाका केन्द्रिय अध्यक्षलगायतको टीम आउँदा बाँकेका ठूला संख्याका नेता तथा कार्यकर्ता स्वागत गर्न पुगेका थिएनन् । महामन्त्री डा. धवलशमशेर राणाको गृह जिल्ला बाँके भएको र राणालाई हालसालै संगठन विभागबाट हटाइएकोमा यहाँका नेता तथा कार्यकर्ता आक्रोशित रहेका छन् । यस प्रश्नमा अध्यक्ष लिङ्देनले एक व्यक्ति, एक पदको अवधारणा अनुसार र स्वास्थ्य अवस्थाले पनि साथ नदिएकाले राणाको जिम्मेवारीमा हेरफेर गरेको प्रतिक्रिया दिएका छन् ।

कर्णाली यात्रामा पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतका नेता आएका थिए ।