आदीबासी जनजातीले लगाउने महोत्सवमा बाँकेका राजनीतिक दलको एक्यबद्धता


सेतोखरी सेतोखरी   ४ घण्टा अगाडि
आदीबासी जनजातीले लगाउने महोत्सवमा बाँकेका राजनीतिक दलको एक्यबद्धता

नेपालगन्ज ७ कार्तिक : नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् बाँकेले आयोजना गर्न लागेको महोत्सवमा बाँकेका राजनीतिक दलहरुको एक्यबद्धता रहनेछ ।

आगामी कार्तिक २९ गतेदेखि सञ्चालन हुने महोत्सवका लागि महासंघले बाँकेका राजनीतिक दलहरुसँग गरेको छलफलमा उनीहरुले एक्यबद्धता जनाउदै भब्यरुपमा सफल बनाउने प्रतिबद्धता ब्यक्त गरेका हुन् । 

यो पनि पढ्नुहोस् कार्तिक २९ गतेदेखि वाटरपार्कमा महोत्सव गरिदैँ

महोत्सवको तयारी बारे नेपाली काँग्रेस बाँकेका उपसभापति गोपाल अधिकारले महोत्सव लगाउनु समान्य कुरा नभएको हुनाले यसमा गम्भीर भएर लाग्न आवश्यक रहेको बताए ।

Kanti Aarogya Hospital Nepalgunj

महोत्सव सफल बनाउन अझैँ समय छ यसको लागि हाम्रो पार्टी र मेरो व्यक्तिगत साथ सहयोग र समर्थन रहिरहने काँग्रेस बाँकेका उपसभापति अधिकारीले बताए । बाँकेमा फरक–फरक समुदायको बसोबास छ यसमा बढि ध्यान दिन र त्यही क्षेत्रमा फोकस गर्न उनले सुझाव दिए ।

महोत्सवलाई व्यापकता बनाउन ग्रामीणका बस्ती–बस्तीमा प्रचारप्रसार व्यापक बनाउन अपरिहार्य रहेको कुरामा उनले जोड दिए । महोत्सव सबैले लगाउन पाउनु पर्छ उनले भने,‘सबै तहतप्काबाट अनुमति लिईसकेपछि पछाडी हट्ने कुरा हुदैन, यसमा सबैले साथ दिन आवश्यक हुन्छ ।’

यस्तै नेकपा एमालेका लुम्बिनी प्रदेश संयोजक भाष्कर काफ्लेले सबैखाले प्रक्रिया पूरा गरेर सञ्चालन हुन लागेको महोत्सवलाई सबैले साथ दिन अपरिहार्य रहेको बताए । मेला एक खालको झमेला हो यसलाई आयोजकले जिम्मेवारीका साथ पुर्णता र सबैको मन जिताउन सक्ने खालको महोत्सव सञ्चालन गर्नुपर्ने उनको सुझाव छ ।

महोत्सव सञ्चालन बारे प्रचारप्रसारको कमि देखिएको छ यसलाई सफल पार्न बाँकेबासी मात्र नभई बाँके आसपासका जिल्लाका नागरिकहरुमाझ महोत्सव बारे चर्चा र प्रचारप्रसार हुन आवश्यक रहेको उनले बताए ।

हरेक साल उही कलाकार, उस्तै सांकृतिक र उही खालका खेल तथा व्यापार हुने भएको हुनाले यस बर्षको महोत्सव अन्य भन्दा पृथक खालको महोत्सब लगाउन नेकपा एमालेका लुम्बिनी प्रदेश संयोजक काफ्लेले सुझाव दिए ।

यसपटकको मेला जनजातिका परिकार, भेषभुषा परम्परागत संस्कृतिको प्रदर्शन हुने भएको हुनाले अन्य मेला भन्दा फरक देखिने नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् बाँकेका अध्यक्ष डम्बरबहादुर थापामगरले बताए ।

सबै समुदायको कला, संस्कृति, भेषभुषा र परिकारहरुको स्वाद लिन सकिने भएको हुनाले अहिलेसम्म कै फरक खालको महोत्सव संचालन गर्ने सोच भएको महोत्सव मुल समितिका संयोजक थापामगरले बताए ।

राजनीतिक दलहरुसँगको छलफल कार्यक्रममा नेपाली काँग्रेस बाँकेका उपसभापति गोपाल अधिकारी, नेकपा एमाले लुम्बिनी प्रदेश संयोजक भास्कर काफ्ले, माओवादी केन्द्रका प्रतिनिधि भुपेन्द्र पुनमगर, राप्रपाका भरतध्वज शाही, जनमतका दीपक पासी, जसपा नेपालका कौशल कुमार धावी, राप्रपा नेपालका अमृता चन्द, राप्रपा नेपालका जिल्ला सचिव प्रमोद प्रसाद भट्टराई, नेपाल समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष दिनेश गुरुङ, जसपा नेपालका सचिव सुर्यलाल यादव लगायत आदिवासी जनजाति महासंघका विभिन्न भातृसंगठनका पदाधिकारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

आदिवासी जनजातिका परम्परागत रीतिरिवाज, चालचलन, कला, संस्कृति, भेषभूषा लगायतका सम्बन्धित सबै कुरा पछिल्लो समयमा हराउँदै जान थालेपछि यसलाई संरक्षण, जगेर्ना र प्रवर्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यका साथ नेपालगन्जमा महोत्सव आयोजना गर्न लागिएको सचिव राजन रानामगरले बताए ।

‘विश्वभरी फैलिएका हामी जनजाति हामी आदिवासी, जोगाइ राखौं भेषभूषा, भाषा, संस्कृति’ भन्ने मूल नाराका साथ यही कार्तिक २९ गतेदेखि मङ्सिर १८ गतेसम्म नेपालगन्जमा ‘प्रथम कृषि, पर्यटन प्रवर्धन, व्यापारिक संरक्षण तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१’ सञ्चालन गर्न लागिएको सचिव रानामगरले बताए ।

कला तथा संस्कृति संरक्षणसहित संस्थाको भवन निर्माण सहयोगार्थ सञ्चालन गर्न लागिएको महोत्सवमा जाति, जनजाति, कला, संस्कृति संरक्षणका साथै राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुले मनोरञ्जन प्रदान गरिने उनले बताए । 

औद्योगिक तथा व्यापारिकसहित महोत्सवमा २५० स्टल रहनेछन् । महोत्सवभर आदिवासी जनजातिका कला, संस्कृतिसम्बन्धी पौराणिक कला जातीय भेषभूषाको प्रदर्शन गरिने, कृषि पर्यटन हस्तकलासहितका स्टलहरु राखिने, लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय स्टलहरु प्रदर्शनी गरिने तथा जातिय खाना प्रदर्शनी गरिने पनि सचिव रानामगरले जानकारी दिए ।

महोत्सव सफल पार्नका लागि अध्यक्ष डम्बरबहादुर थापा मगरको संयोजकत्वमा मूल आयोजक समिति र सचिव राजन रानामगरको संयोजकत्वमा सचिवालय गठन गरिएको आयोजकले जनाएको छ । 

आयोजकका अनुसार कृष्ण पुनमगरको संयोजकत्वमा सल्लाहकार उपसमिति, भूपेन्द्र पुनमगरको संयोजकत्वमा सुरक्षा उपसमिति, अजय पुनमगर (गोपाल)को संयोजकत्वमा आर्थिक उपसमिति, संगीता चौधरीको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, गनबहादुर गुरुङको संयोजकत्वमा झाँकी ¥याली व्यवस्थापन उपसमिति, सुन्दर गुरुङको संयोजकत्वमा सांस्कृतिक उपसमिति, आइत पुनमगरको संयोजकत्वमा खानेपानी तथा शौचालय उपसमिति, जनक पहराई मगरको संयोजकत्वमा स्वयंसेवक उपसमिति र अशोक थापामगरको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।

महोत्सव अवधिभर तीन लाख दर्शकले मेला अवलोकन गर्ने र पाँच करोड बराबरको आर्थिक कारोबार हुने आयोजकले जनाएको छ । महोत्सबको सह–आयोजकमा नेपाल आदिवासी जनजाति महासंघ नेपालगन्ज उपमहानगर समन्वय परिषद, नेपाल आदिवासी जनजाति महासंघ कोहलपुर नगर समन्वय परिषद, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बाँके शाखा, नेपाल आदिवासी जनजाति युवा महासंघ बाँके, नेपाल मगर संघ बाँके, तामाङ घेदुङ बाँके, तमु ह्युल छोज घि बाँके, नेवा पुच बाँके, बौद्ध धर्म संघ गुम्बा बाँके, नेवा दयादवु बाँके रहेका छन् भने महोत्सव २० दिन सञ्चालन हुने छ ।