जानकीमा बाँदर आतङ्क, अन्नबाली जोगाउन समस्या


सेतोखरी सेतोखरी   २ घण्टा अगाडि
जानकीमा बाँदर आतङ्क, अन्नबाली जोगाउन समस्या

File Photo

नेपालगन्ज ७ कार्तिक : बाँकेको जानकी गाउँपालिकाका बासिन्दाले बाँदरको आतङ्कका कारण अन्नबाली जोगाउन समस्या परेको गुनासो गरेका छन् ।

जानकी–५, गुरुवागाउँका रामकुमार यादवले भने,‘न घर जोगाउन सकियो, न त अन्नबाली नै । यसबारे स्थानीय सरकार पूरै जानकार भए पनि रोकथाम र व्यवस्थापनमा पटक्कै चासो नदेखाउँदा गरिखान नसकिने अवस्थाको सिर्जना भएको छ ।’ 

गुरुवागाउँमा हरेक दिनजसो दुई सयको हाराहारीमा रहेका बाँदरले सताउने गरेका छन् ।  गाउँलेका अनुसार त्यसको सबैभन्दा बढी मारमा गरिबका झुपडी परेका छन् ।

यादवले गाउँको पछिल्लो अवस्थाबारे सुनाउँदै भने, ‘घरको छानामा चढेर खपडा होस् वा घर, टिन सबै बिगारिदिन्छन्, पक्की घर भएकाले त्यस्तो समस्या झेल्नु नपरे पनि झ्यालढोका खुला भएको मौका पारेर भित्र छिरेपछि बाँदरले खाद्यान्नदेखि लत्ताकपडासमेत नास पार्छन् ।’

Kanti Aarogya Hospital Nepalgunj

यतिबेला धान काट्नको चटारोमा किसान छन् । किसान खेतमा गएका बेला घरमा रडाको मच्चाउने बाँदरले खेतमा मान्छे नदेखे धानमा बुर्कुसी मार्छन् । गुरुवागाउँका अगुवा किसान यादवले छिमेकका अरू गाउँमा पनि समस्या रहेको सुनाए । उनले भने, ‘धान फुलेकै बेला नोक्सान पारेका थिए, अहिले पाकेको धानमा हुलका हुल बाँदर पसेर नोक्सान पारिरहेका छन् ।’ 

जानकीका किसानका अनुसार बाँदर आतङ्कले तरकारी खेती र फलफूल खेती लगाउनै नसकिने अवस्था भइसकेको छ । उनले भने,‘चौकीदार राखेर तरकारी फलफूल खेती गर्दा लगानी उठाउन समस्या हुन्छ । त्योभन्दा तरकारी लगाउनै छाडिएको छ ।’ 

गाउँलेले त्यसो भनिरहँदा गाउँमा बाँदर लखेट्न हरेक जसो घरमा लट्ठी बोकेका युवा र छानामा बाँदर दौडादौड गरिरहेको देखिन्थ्यो । किसानका यी समस्याबारे स्थानीय सरकारका प्रतिनिधि पनि बेखबर छैनन् । जानकी–५ का वडाध्यक्ष टीकानाथ यादव आफैँ बाँदर आतङ्कको सिकार भएको बताउछन् । 

आफैँ पीडित हुँदा पनि केही गर्न नसकिएको स्वीकार गर्दै वडाध्यक्ष यादवले भने,‘निकै समस्या छ, समाधान दिन सकिएको छैन । गाउँलेलाई घरखेतमै बाँदरले सताएर आपत् बनाएको छ ।’