बजेट सहि ढंगले कार्यान्वयन गर्न मुख्यमन्त्री आचार्यले आग्रह गरे 


सेतोखरी सेतोखरी   ४ घण्टा अगाडि
बजेट सहि ढंगले कार्यान्वयन गर्न मुख्यमन्त्री आचार्यले आग्रह गरे 

नेपालगन्ज ७ कार्तिक : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चालु आर्थिक वर्षमा विनियोजन भएको बजेट सहि ढंगले कार्यान्वयन गर्न सरकोकारवालासँग आग्रह गरेका छन् ।

कोहलपुर नगरपालिकामा बुधबार जनप्रतिनिधि तथा कर्मचारीहरुसंगको छलफल कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले चालु आर्थिक वर्षमा बाँके जिल्लालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन भएको र बजेटको सहि ढंगले कार्यान्वयन गर्न आग्रह गरेका हुन् ।

बाँके जिल्लामा पुँजीगत तर्फ दुई अर्ब ४२ करोड बजेट विनियोजन भएको उल्लेख गर्दै उनले पाँच लाख भन्दा माथिका सबै आयोजनालाई प्रतिस्पर्धाको माध्यमबाट कार्यान्वयन गर्न निर्देशन दिए । 

‘सरकारले विनियोजन गरेको बजेटको सहि ढंगले कार्यान्वयन भएको छ या छैन त्यसलाई अनुगमन गर्नुस्,’ मुख्यमन्त्री आचार्यले भने,–‘बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन जरुरी छ ।’

Kanti Aarogya Hospital Nepalgunj

उनले कोहलपुरमा यातायात सेवा कार्यालय स्थापना तत्काल गरिने जानकारी दिए । ‘कार्यालय भवन र कार्यालय सहयोगी नगरपालिकाले उपलब्ध गराउने सहमती भएको छ । प्रदेश सरकारबाट कर्मचारी नियुक्त गरेर पठाउँछौंं,’ उनले भने, ‘छिटो सेवा सुरु गर्ने योजना अनुसार काम अघि बढेको छ ।’

कोहलपुर नगरपालिकाका कार्यबहाक नगरप्रमुख संगीता सुवेदीले कोहलपुरमा यातायात सेवा कार्यालय स्थापनासंगै समग्र विकासका योजनाहरुको बारेमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराएकी थिइन् ।

‘समग्र कोहलपुरको विकासको बारेमा छलफल भयो । साथै यातायात सेवा कार्यालय स्थापनाको बारेमा पनि ध्यानकर्षण गराएक छौं । यस बारेमा मुख्यमन्त्री ज्यू सकारात्मक हुनुहुन्छ,’ उनले भनिन्, ‘छिट्टै यातायात सेवा कार्यालय स्थपना हुने विश्वास दिलाउनु भएको छ ।’

यसैबीच, बाँकेको खजुरामा रहेको सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अवलोकन गरेका छन् ।

धार्मिक कार्यबाट नागरिकले मुट्ठी दान गरेर निर्माण गरि सरकारलाई हस्तान्तरण गरिएको लुम्बिनी प्रदेशको एकमात्र क्यान्सर अस्पतालको बुधबार मुख्यमन्त्री आचार्यले अवलोकन गरेका हुन् ।

अवलोकनका क्रममा मुख्यमन्त्री आचार्यले बिरामीहरुसँग अस्पतालले दिएको सेवा बारे जिज्ञासा राखेका थिए । सो अवसरमा अस्पताल प्रशासनलाई उनले संघीय सरकार मातहतको अस्पताल भएपनि प्रदेशले नियमले दिने सहयोग उपलब्ध गराउने आश्वासन दिए ।

प्रदेशले गर्न सक्ने योजनाहरु लिएर प्रदेश राजधानी आउन आग्रह गर्दै उनले दरबन्दी र कितावखानामा दर्ता गर्ने विषयमा आफुले संघीय सरकारमा पहल गर्ने बताए । बिना दरबन्दी अस्पताल सञ्चालन भएको प्रति आश्चार्य प्रकट गर्दै आफ्नो तर्फबाट गर्न मिल्ने सहयोग गर्ने प्रतिबद्धता जनाए ।

त्यसअघि अस्पतालका कार्यकारी निर्देशक डाक्टर प्रकाशप्रसाद साहले बिगत ९ वर्ष देखि दरबन्दी बिना काज र दैनिक ज्यालादारी कर्मचारी र चिकित्सकहरुबाट अस्पताल सञ्चालन भइरहेको, अस्पतालको जनशक्तिलाई निजामती किताबखानामा दर्ता नगरिँदा स्वास्थ्यकर्मीहरु टिकाउन असहज बनेको, चिकित्सक तथा नर्सहरुको आवास नहुँदा सेवा प्रभावित बनेको जस्ता समस्याहरु प्रस्तुत गरेका थिए । डाक्टर साहले प्रबिधि, स्रोत, साधन हुँदाहुँदै पनि जनशक्तिको ब्यवस्थापन नहुँदा सञ्चालनमा असहज बनेको जानकारी गराए ।

अवलोकनमा प्रदेशसभाका सदस्य रत्न खत्री, लुम्बिनी प्रदेशका मुख्यसचिव महादेव पन्थ, बर्दिया र बाँकेका सांसदहरुको सहभागीता रहेको थियो ।