विश्व पोलियो दिवसः नेपाल पनि पोलियोको जोखिममा


सेतोखरी सेतोखरी   ३ घण्टा अगाडि
विश्व पोलियो दिवसः नेपाल पनि पोलियोको जोखिममा

नेपालगन्ज ८ कार्तिक : आज नेपालसहित विश्वभर पोलियो दिवस मनाइँदै छ । यस वर्ष दिवसको नारा ‘पोलियो अन्त्य गरौँ’ भन्ने रहेको छ ।

दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले भिडियो सन्देश जारी गर्दै पोलियो रोग उन्मुलन गर्ने विश्वव्यापी महान अभियानमा संलग्न हुन सबैमा अनुरोध गरेका छन् ।

उनले सन्देशमा पोलियो उन्मूलन गर्ने महान अभियानमा संलग्न हुनु भनेको आफ्ना बालबालिकालाई एक वर्ष उमेरभित्र एकएक महिनाको फरकमा तीन पटक पोलियो थोपा खुवाउनु रहेको उल्लेख गरेका छन् ।

मन्त्री पौडेलले सुईबाट दिइने पोलियो खोप पनि १४ हप्ताको उमेरमा र नौ महिनाको उमेरमा एकएक पटक लगाउनुपर्ने बताए । ‘अझै केही देशमा पोलियोका नयाँ बिरामी देखापरिरहेका छन् । विश्वका कतिपय देशमा वातावरणमा पनि पोलियोका भाइरस देखिएको हुँदा पोलियोका जोखिम कायम रहेको छ’, उनले भनेका छन्, ‘हाम्रो देशको सन्दर्भमा पनि वातावरणमा पोलियो भाइरस भए-नभएकोबारे गरिने निगरानीलाई थप प्रभावकारी बनाइएको छ ।’

Kanti Aarogya Hospital Nepalgunj

संसारबाट पोलियो रोग उन्मुलन नभएसम्म हामी पनि पोलियो जस्तो घातक रोगको जोखिममा रहिरहने परिस्थिति रहेको मन्त्री पौडेलेको भनाइ रहेको छ । उनले नेपालमा पनि पोलियोको जोखिम अझै कम नभएकाले सबै अभिभावकलाई आफ्ना बालबालिकालाई तोकिएको उमेरमा नै पोलियो खोप लगाउन आग्रह गरेका छन् ।

मन्त्री पौडेलले पोलियो खोपसँगै सरकारले प्रदान गर्ने सबै खोप लगाउन समेत अनुरोध गरेका छन् । पोलियो रोग पोलियो भाइरसबाट हुने सङ्क्रामक रोग हो। पोलियो लागेपछि ज्वरो आउने, पखाला लाग्ने, जीउ दुख्ने, थकाइ महसुस गर्ने र रोग गम्भीर हुन थाल्यो भने पक्षघात हुने तथा मृत्युसम्म हुने गर्दछ ।

पोलियो रोग दुषित खाना र पानीको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ। नेपालमा पाँच वर्ष मुनिका बालबालिकालाई मुखबाट र सुइबाट दुई तरिकाले पोलियोविरुद्धको खोप प्रदान गरिँदै आइएको छ ।

मुखबाट खुवाइने खोप (ओरल पोलियो भ्याक्सिन) तीन पटक जन्मेको छ हप्ता, १० हप्ता र १४ हप्ताको उमेरमा तथा सुईबाट दिइने खोप (इनएक्टिभेटेड पोलियो भ्याक्सिन) दुई पटक १४ हप्ता र ९ महिनाको उमेरमा दिने गरिन्छ ।

बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले पोलियो रोग जुनसुकै उमेरका मानिसमा पनि लाग्ने तर बढीजसो पाँच वर्षमुनिका बालबालिका बढी जोखिम हुने गरेको बताए ।

पोलियोबाट बच्नका लागि पोलियोविरुद्धको खोप नै लगाउनु रहेको उनको भनाइ छ । पोलियोबाट बच्नका लागि साथै व्यक्तिगत सरसफाइ, शुद्धीकरण गरिएको पानी र स्वच्छ खानामा पनि विशेष ध्यान दिनुपर्दछ । गत जेठमा टुकुचा खोला र वागमती नदीको सङ्गमस्थल टेकुमा पोलियो जिवाणु भेटिएपछि काठमाडौँ उपत्यकाका तीन जिल्लामा पाँच वर्षमुनिका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइएको थियो । -रासस