वर्षाले धानबालीमा क्षति


सेतोखरी सेतोखरी   ३ घण्टा अगाडि
वर्षाले धानबालीमा क्षति

शुक्रबार विहान परेको पानीले भिजेको धान उठाउँदै किसान । तस्विर: विजय मल्ल/ सेतोखरी

नेपालगन्ज ९ कार्तिक : बाँकेमा शुक्रबार विहान परेको वर्षाले भित्राउने बेलाको धानबालीमा क्षति पुर्‍याएको  छ । चाडबाडको चटारोसंगै धान काटेर भित्राउने योजनामा रहेका बाँकेका किसानको धानबालीमा शुक्रबार विहान परेको वर्षाले क्षति पुर्‍याएपछि चिन्तित बनेका हुन् ।

काटेर भित्राउने बेलाको बाली शुक्रबार विहान परेको वर्षाले क्षति गराएपछि वर्षदिनको मेहनत खेर गएको कोहलपुरकी गिता चौधरीले बताइन् । ‘पानीले भिजेर धान खेतमा चुर्लुम्म डुबेकोछ, अझैं पानी आयो भने वर्षभरि खाने अन्न नष्ट हुन्छ’, उनले भनिन् । 

करिब १२ कट्ठा जमिनमा लगाएको धान भिजेको बताउँदै चौधरीले अहिले छिनमा घाम लाग्ने र छिनमा बदली हुँदा फेरी पानी परेर सुकाउन राखेको धान नष्ट हुनेमा चिन्ता ब्यक्त गरिन् । शुक्रबार परेको पानीले गाउँका करिब ९ परिवारको धानबालीमा वर्षाले क्षति पु¥याएको उनले जानकारी दिइन् । 

यस्तै बैजनाथ गाउँपालिकाका किसान देपेन्द्र घर्तीले आफ्नो सबै धानबालीमा वर्षाले क्षति पुगेको बताए । काटेर राखेको ८ कट्ठामा लगाएको बाली पानीले भिजाएको बताए । ‘मौसम सफा भए बाली भित्राउन सकिन्थ्यो कि ? घाम नलागे सबै धान जमिनमै नष्ट हुन्छ । वर्षभरि खाने अन्न नष्ट भए के खाने ?’, उनले प्रश्न गरे । 

Kanti Aarogya Hospital Nepalgunj

Dhan_pani_noksan_khajura-1729845534.jpg
बैजनाथको पेडारी घर भएका लक्ष्मण थारुले शुक्रबार परेको पानीले काटेर माड्न तयार रहेको धानबालीमा क्षती पुगेको बताए । ‘१५ कठ्ठा जमिनमा लगाइएको धान पुरै पानीले भिजेको छ । अहिले खेतको पानी फलिरहेको छु’ आफ्नो खेतमा रहेका उनले भने–‘यसपटक नसोँचेको भयो । लगानी पनि डुब्ने भयो धान पनि नपाइने भयो ।’

यता खजुरा गाउँपालिकाको इ गाउँमा समेत शुक्रबार परेको पानीले काटेर भित्र्याउने तयारी गरेको धानबालीमा क्षति पुगेकोछ । ‘हिजोसम्म मौसम सफा थियो, वर्षभरीको खेती पाकिसकेकाले काटेर भित्र्याउने तयारी गरेका थियौं ।’ किसान धनसरा मल्लले अगाडी भनिन्–‘वर्षभरीको खेती सक्काएर मुखमै आएको तिहारको तयारी गर्ने सोँच बनाएको, विहान परेको पानीले सबै धानबाली डुब्यो ।’

‘दुई वर्षअघि पनि यसरी नै काटेको धानबाली नष्ट भएको थियो । फेरी आज परेको पानीले १० कठ्ठा जमिनमा लगाएको धानमा क्षति पुग्यो’ निराश र चिन्तित हुँदै मल्लले अगाडी थपिन्–‘मेरो मात्र होइन यहाँ वरिपरि १२–१५ दिदीबहिनीको यसरी नै धानबाली नष्ट भएकोछ ।’

यतिबेला बाँकेको मौसम बदली भइ आकाशमा बादल लागेको छ भने घाम देखिएको छैन । अब पनि पानी परेमा पहिलेनै भिजेको धानबाली पुरै नष्ट भएर काम नलाग्ने हुने मल्ल बताउँछिन् । 

कोहलपुर नगरपालिका कृषि विकाश शाखाकी कल्पना नेपालीले शुक्रबार परेको पानीले किशानको धानबाली लगायत अन्य बालीमा क्षती पुगेको बताईन् । उनले भनिन्–‘पानीको मात्रा त्यती ठूलो नपरेपनि काटेर भित्र्याउन ठिक्क राखेको धानबाली भिजेकोछ । मौसम सफा भएर घाम लाग्यो भने भिजेको धानलाई जोगाउन सकिन्छ ।’

जल तथा मौसम विज्ञान विभागका अनुसार गत २४ घण्टामा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लाहरुमा वर्षा भएको छ । तर, यो वर्षा स्थानीय वायुको प्रभावले भएको मौसमविद गोविन्द झाले बताए । मौसमविद झाका अनुसार आगामी २४ घण्टामा पनि कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।