कुन बैंकमा पाइन्छ सबैभन्दा सस्तो ऋण ?


सेतोखरी सेतोखरी   ३ घण्टा अगाडि
कुन बैंकमा पाइन्छ सबैभन्दा सस्तो ऋण ?

नेपालगन्ज ९ कार्तिक : पछिल्लो एक वर्षको अवधिमा कर्जाको ब्याजदर करिब साढे ३ प्रतिशतसम्मले घटेको छ । 

पछिल्लो दुई वर्षयता अर्थतन्त्रमा देखिएको शिथिलतासँगै कर्जामा माग समेत घटेको छ । नेपालमा वार्षिक औसत करिब २० प्रतिशतले कर्जा विस्तार हुने गरेकोमा पछिल्लो दुई वर्षको कर्जा विस्तार करिब ६ प्रतिशत मात्रै छ ।

निक्षेप वृद्धिको तुलनामा कर्जा विस्तार न्यून हुँदा ब्याजदर लगातार घटेको छ । बैंकहरूले निक्षेपको ब्याजदर घटाएसँगै आधार ब्याजदर निरन्तर घटेको छ । २०७९ पुष मसान्तमा वाणिज्य बैंकहरूको औसत आधार दर १०.९१ प्रतिशत पुगेकोमा २०८१ भदौ मसान्तमा ७.४९ प्रतिशतमा झरेको राष्ट्र बैंकको तथ्यांक छ ।

पछिल्लो २० महिनामा वाणिज्य बैंकहरूको औसत आधार दर नै ३.४१ प्रतिशत बिन्दुले झरेको छ । असोजमा वाणिज्य उनीहरूको औसत आधार दर ७.३५ प्रतिशतमा झरेको छ । आधार दर झरेसँगै कर्जाको भारित औसत ब्याजदर पनि घट्दै गएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यो पनि पढ्नुहोस् कात्तिक महिनाका लागि पनि घट्यो ब्याजदर

बैंकहरूले प्रकाशित गरेको असोजको आधार दर हेर्दा सबैभन्दा सस्तो कर्जा संयुक्त लगानीका स्ट्याण्डर्ड चार्टर्ड र एभरेस्ट तथा सरकारी लगानीका राष्ट्रिय वाणिज्य र नेपाल बैंकमा छ ।

यस्तै कर्जाको ब्याजदर उच्च पर्ने बैंकमा भने एनआईसी एसिया र हिमालयन बैंक छन् । असोजको आधार दर स्ट्याण्डर्ड चार्टर्डको ६ प्रतिशतभन्दा तल झरेको छ । २०८० असोजमा ८.४७ प्रतिशत रहेको बैंकको आधार दर २०८१ असोजमा ५.७१ प्रतिशतमा झरेको हो ।

यस्तै राष्ट्रिय वाणिज्य बैंकको आधार दर २०८० असोजमा ८.७० प्रतिशत रहेकोमा २०८१ असोजमा ६.१५ प्रतिशतमा झरेको छ । नेपाल बैंकको आधार दर ९.६५ प्रतिशतबाट ६.७२, एभरेस्ट ९.४१ बाट ६.८०, नबिल ९.५८ बाट ७.०२ प्रतिशतमा झरेको छ ।

कृषि विकास बैंकको आधार दर ७.०७ प्रतिशत र नेपाल इन्भेस्टमेन्ट मेगाको ७.०८ प्रतिशत छ । यी बैंकका आधार दर २०८० असोजमा क्रमशः १०.४५ प्रतिशत र ९.९९ प्रतिशत थियो ।

यता, कर्जा लिन ग्राहकलाई सबैभन्दा महँगो ब्याजदर एनआईसी एसिया र हिमालयनमा पर्ने देखिएको छ । एनआईसीको आधार ८.३७ प्रतिशत र हिमालयनको ८.३५ प्रतिशत छ । २०८० असोज मसान्तमा यी दुईको आधार दर क्रमशः १०.९६ र १०.८६ प्रतिशत थियो ।

२० मध्ये १८ वाणिज्य बैंकको आधार दर भने ८ प्रतिशतभन्दा तल झरेको छ । ८ प्रतिशतभन्दा तल आधार दर झरेको बैंकमा २ प्रतिशत प्रिमियम थप भए कर्जाको ब्याजदर एकल अंकमा नै रहने देखिन्छ । बैंकहरूले केही कर्जा प्रडक्ट बाहेक अधिकांशमा ०.५ देखि २ प्रतिशत प्रिमियममा कर्जा दिने अफर सार्वजनिक गरिरहेका छन् ।

वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले आधार दरमा अधिकतम ५ प्रतिशतसम्म मात्रै प्रिमियम जोडेर कर्जाको ब्याजदर तय गर्ने निर्णय गरेको थियो । अहिले अधिक तरलता भएको अवस्थामा बैंकहरूले उक्त दरमा प्रिमियम लिने अवस्था नभएको र कुनै पनि कर्जामा ५ प्रतिशत प्रिमियम जोडेर कर्जा लगानी नगरेको बैंकर बताउँछन् ।