नेपालगन्ज प्लाष्टिकका रंगिबिरंगी मालाले झकिझकाउ


सेतोखरी सेतोखरी   २ घण्टा अगाडि
नेपालगन्ज प्लाष्टिकका रंगिबिरंगी मालाले झकिझकाउ

नेपालगन्ज बागेश्वरी मन्दिर नजिक पसलमा राखिएको प्लाष्टिकजन्य फूलगुच्छा र मालाहरु । तस्विर: विजय मल्ल /सेतोखरी

नेपालगन्ज ११ कार्तिक : नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारले छपक्कै छोपेसँगै यतिबेला नेपालगन्ज बजारमा सर्वसाधरणको चहलपहल बाक्लिएको छ । 

नेपालगन्जको सदरलाईन, एकलैनी, त्रिवेणीमोड, बागेश्वरी टोल, घरबारीटोल, न्यूरोड, त्रिभुवन चोक लगायतका क्षेत्रमा तिहारको भाइमसला, टीका, माला, फलफूल लगायतका विभिन्न सरसामान किन्नेहरुको भीड देख्नसकिन्छ ।

तिहार पर्वको लागि चाहिने समानहरु किनमेलसँगै पर्वलाई लक्षित गरी फूल माला, टीका बिभिन्न परिकारहरुले सजिएका पसलहरुले पनि थप रौनकता थपिदिएको छ । तर, पछिल्लो समय यता तिहार पर्व पनि आधुनिकता बन्न थालेको छ ।

तिहार पर्वमा दियो, पाला मात्र हैन् अहिले फूलका मालाको सट्टा बजारमा रहेका प्लाष्टिकबाट बनेका फूलगुच्छा र मालाहरु प्रयोग गर्ने क्रम बढ्न थालेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

विशेषगरि नेपालगन्जस्थित बागेश्वरी मन्दिर छेउमा रहेका पसलहरु, सदरलाईन, एकलैनी, पुरानो सिनेमा हल रोड, घरबारीटोल, न्यूरोड र धम्बोझी लगायतका स्थानमा यतिबेला रंगिबिरंगी मालाले झकिझकाउ बनेका छन् । तर, ती माला फुलबाट बनेका भने होईनन् । रेशम, प्लाष्टिक र रगिंन कपडाबाट बनाइएका प्लाष्टिकका मालाले झकिझकाउ पारिएको छ ।

यसरी बिक्रीका लागि राखिएका प्लाष्टिकका फुल गुच्छाहरु स्वदेशी उत्पादन भने होईनन् । बजारमा उपलब्ध सबै माला भारतबाट आयात गरिएका माला भएको स्थानीय व्यापारि बताउँछन् । यसवर्ष बजारमा भारतबाट आयातित प्लाष्टिकका मालाहरुको दबदबा रहेको व्यापारी स्वयमले स्वीकारेकाछन् । 

ग्राहकहरुको पनि कृतिम मालाप्रति नै आकर्षित हुने गरेका छन् । फुल फुल्ने समयमै चाडपर्व भएपनि बजारमा पाइने यस्ता कृतिम मालाले फुललाई विस्थापन गरिरहेकोछ । 

नेपालगन्जमा तिहारकै अवसरमा ८० देखि एक लाख बढीको माला मात्रै बिक्री गर्ने गरेको स्थानीय ब्यापारी राहुल कश्यपले बताए । कश्यपले अघिल्ला वर्षमा पनि फुलका मालाभन्दा भारतीय कृतिम मालाले बजारमा आफ्नो प्रभुत्व जमाएको बताए । प्लाष्टिकका फुल गुच्छा खुलेयाम विक्री हुँदा आफ्नो ब्यापार ब्यवसाय त्यती राम्रो नभएको उनले सुनाए ।

स्वेदशमै फुल खेती नहुनेभएपछि फुलमा पनि भारतमै भर पर्नुपर्ने नेपालीको विवसता छ । चाडबाड होस् वा अन्य कुनै कार्यमा प्रयोग हुने फुलका लागि भारतीय उत्पादनमा भरपर्ने बाध्यताले हरेक वर्ष दशैंतिहार जस्ता चाडबाडमा फुल र फुलबाट निर्मित मालाहरु भारतबाटै आउने गरेको छ । 

गाउँघरमा प्रशस्त मात्रामा फूलहरु नपाउनु सँगै फूलहरुको खेती समेत नगर्नुले अहिले बजारमा रहेका प्लाष्टिकका मालाहरु प्रयोग बढेको व्यावसायीहरुको तर्क रहेको छ । 

हिन्दू परम्परा अनुसार हरेक कार्यमा फुलको अनिबार्य नै हुन्छ । अझ फुल विनाको तिहार कल्पना गर्न सकिदैन । तिहारको अस्तित्व कृतिमतामा होईन प्राकृतिकतामा छ । मखमली, गोदावरी, सयपत्री र सहजारी लगायतका फुलहरु फुल्ने मौसममै तिहार पर्नु त्यसको प्रमाण हो । तर, आधुनिकता र सहजताका नामा पछिल्लो समय तिहार लगायतका विभिन्न चाडपर्वमा कृतिमताको प्रभाव बढ्दै गएकोछ । यसले नेपाली मौलिकता पन ह्रास हुनेमा सम्बद्ध सरोकारवालाले चिन्ता ब्यक्त गर्दै आएकाछन् । 

नेपालगन्जका बजारमा रंगिविरंगी सजिएका प्लाष्टिकका माला स्वदेशी उत्पादन नभएर आयातित हुदाँ वर्षेनी कृतिम मालामा लाखौं रुपैयाँ भारत जाने गरेको भन्दै स्वदेशी उत्पादनमा बढावा दिने खालको काम गर्न नेपालगन्ज उद्योग बाणिज्य संघ पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ बताँउछन् । जिल्लामा फुलको उत्पादन कम हुने भएकोले फुलका माला प्लाष्टिकका भन्दा महंगो पनि हुने गरेको छ ।