विवादमा कोहलपुरको शवदाह गृह : स्थानीय नै पक्ष र विपक्षमा उभिए


सेतोखरी सेतोखरी   २ घण्टा अगाडि
विवादमा कोहलपुरको शवदाह गृह : स्थानीय नै पक्ष र विपक्षमा उभिए

कोहलपुर १२ कार्तिक : बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर–११ डुडुवा नाला नजिक रहेको क्रिकेट मैदानसंगै निर्माण गर्ने भनिएको आधुनिक शवदाह गृहलाई लिएर स्थानीय बासिन्दा पक्ष र विपक्षमा विभाजित भएका छन् । 

सो विषयलाई लिएर कोहलपुर नगरपालिका– ११ एकता नगरका स्थानीयले विरोध जनाएका छन्, भने लामो समयदेखी सोही स्थानमा शवदाह गर्दै आएका खास गरी कोहलपुरका थारू समुदायले भने सोही स्थानमा शवदाह निर्माण गरिनु पर्ने माग गरेका छन् ।  

कोहलपुर नगरपालिका– ११ मा एक करोड २० लाखको लागतमा अत्याधुनिक शवदाह गृह बनाउने तयारी कोहलपुर नगरपालिकाको छ । जसको लागी एभरेष्ट बैंकले ५० लाख, ग्लोबल आईएम ई बैंकले २० लाख र कोहलपुर नगर विकास समितिले ५० लाख लगानी गर्ने योजना छ । जसको लागी कोहलपुरका व्यवसायी चक्र अधिकारीको नेतृत्वमा एक समिति निर्माण गरेर काम सुरु गरिएको छ । 

बस्ती नजिक शवदाह गृह निर्माण गरिन लागेकाले प्रदुषित हुने भन्दै आफूहरू विरोधमा उत्रिएको स्थानीय लक्ष्मी नारायण आचार्यले जानकारी दिए । स्थानीयले उक्त शवदाह गृहको निर्माण कार्य रोक्न माग गर्दै कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्य लाई ज्ञापन पत्र समेत बुझाएका छन् । 

Kanti Aarogya Hospital Nepalgunj

उनीहरूले सो स्थान मानववस्ती देखि ५० मिटरको दूरीमा रहेकाले अन्यत्र सार्न माग गरेकाछन् । 

ज्ञापन पत्र बुझ्दै कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले अत्याधुनिक शवदाह स्थल निर्माण गरिन लागेकाले स्थानीयलाई कुनै असर नपर्ने बताए । उनले विकासको काममा कसैले अवरोध गर्न नहुने भन्दै नगरपालिकाको काममा सहयोग गर्न आग्रह गरे ।

आफूले पोखरा र बुटवलमा रहेको आधुनिक शवदाह गृह समेत अवलोकन गरेको बताउँदै मेयर आचार्यले मानव बस्तीमा कुनै असर नपर्ने दावि गरे । उनले उक्त स्थानमा शव लैजानका लागी मानव बस्ती भन्दा बाहिरबाट डुडुवा नालाका किनारबाट सडक निर्माण गरिने समेत जानकारी दिए । 

उता सो स्थानमा लामो समयदेखी शवदाह गर्दै आएका स्थानीयले भने सोही स्थानमा कोहलपुर नगरपालिकाले निर्माण गर्ने भनेको आधुनिक शवदाह निर्माण गरिनु पर्ने बताएकाछन् । विशेष गरि कोहलपुर क्षेत्रमा रहेका थारू समुदायले पुस्तौँदेखी सोही स्थानमा शव दाह गर्दै आएको भन्दै सोही स्थानमा शवदाह बनाउनु स्वागत योग्य भएको बताएका छन् । 

कसैको दबाबमा शवदाह निर्माणको मागबाट पछि नहट्न भन्दै उनीहरूले पनि ज्ञापन पत्र बुझाएको शवदाह निर्माण समितका एक सदस्य एवं कोहलपुर नगरपालिका वडा नम्बर–१२ का अध्यक्ष बिरेन्द्र शाहले बताए ।