विधिविज्ञान प्रयोगशालामा जनशक्ति अभाव


सेतोखरी सेतोखरी   मंगलबार, कात्तिक १३, २०८१
विधिविज्ञान प्रयोगशालामा जनशक्ति अभाव

नेपालगन्ज १३ कार्तिक : नेपाल प्रहरी प्रदेश कार्यालय विधिविज्ञान एकाइ (प्रयोगशाला) नेपालगन्जले स्थापनकालदेखि अहिलेसम्म दुई हजार दुई सय ६७ घटनाका छ हजार सात सय ८२ नमुना परीक्षण गरेको छ ।

सीमित जनशक्ति र प्रविधिको प्रयोग गरेर पनि ती नमुना परीक्षण भएको हो ।  उक्त परीक्षणमध्ये आर्थिक वर्ष २०७८–७९ मा पाँच सय दुई घटनाका एक हजार पाँच सय ५२ नमुना, आव ०७९–०८० मा सात सय ९९ घटनाका दुई हजार चार सय ४० नमुना, आव ०८०–०८१ मा सात सय ४७ घटनाका दुई हजार एक ८६ नमुना र आव ०८१–०८२ मा दुई  सय १९ घटनाका छ सय चार नमुना परीक्षण भएको नेपाल प्रहरी प्रदेश कार्यालय, विधि विज्ञान एकाइ, नेपालगन्जले जनाएको छ । 

विसं २०७८ मङ्सिरदेखि सो प्रयोगशालामा फौजदारी अपराधसँग सम्बन्धित शङ्कास्पद खाना, पेय पदार्थ, बान्ता, ¥याल, ‘स्टोम्याच वास’ आदिबाट विषादी परीक्षण र रगतबाट मादक पदार्थ तथा लागुपदार्थको परीक्षण हुने गरेको नेपाल प्रहरी प्रदेश कार्यालय विधिविज्ञान एकाइ, नेपालगन्जका प्रमुख यमलाल बस्नेतले जानकारी दिए ।

उनले त्यसबाहेक भिसेरा नमुनाबाट विषादी तथा अन्य रासायनिक परीक्षण, जैविक नमुनाको परीक्षणसमेत हुने उल्लेख गर्दै अन्य अप्राकृतिक मृत्युसँग सम्बन्धित सम्पूर्ण भौतिक सबुद परीक्षण हुने बताए । ‘पर्याप्त जनशक्ति र प्रविधि नहुँदा केही घटना फर्छ्योट हुन बाँकी छन्’, प्रहरी निरीक्षक बस्नेतले भने । 

Kanti Aarogya Hospital Nepalgunj

उनले जटिल घटनामा अदालतमा द्विविधा रहँदा अदालतलाई बकपत्रमार्फत स्पष्ट गरिने उल्लेख गर्दै लुम्बिनीबाहेक कर्णाली र सुदूरपश्चिमका घटना पनि परीक्षण गर्नुपर्ने भएकाले कामको चाप बढेको तर, जनशक्ति पर्याप्त नभएको बताए । प्रविधिमा सहज पहुँच र तालिम पर्याप्त भए काम गर्न सहज हुन्छ प्रमुख बस्नेतको भनाइ छ । 

प्रदेशअनुसार लुम्बिनीमा एक हजार एक सय १२ घटनाका तीन हजार ८८ नमुना, कर्णालीमा चार सय ८७ घटनाका एक हजार तीन सय ५० नमुना र सुदूरपश्चिममा छ सय ६८ घटनाका दुई हजार तीन सय ४४ सहित कुल छ हजार सात सय ८२ नमुनाको परीक्षण सम्पन्न भएको छ । 

भविष्यमा विधिविज्ञानका विभिन्न विधाका शाखा सञ्चालन गर्ने योजना रहेको र तत्काल लागुऔषधसँग सम्बन्धित नमुनाको परीक्षणसमेत सुरु गर्ने प्रयोगशालाले जनाएको छ । काठमाडौँ बाहिर पश्चिम नेपालमा प्रहरीले यस प्रयोगशालामार्फत परीक्षण सुरु गरेपछि अपराध अनुसन्धान तथा फौजदारी न्याय प्रणालीमा सघाउ पुग्दै आएको छ । -रासस