नेपालगन्ज २० कार्तिक : सोमबार साँझ परेको बेमौसमी वर्षाले बाँकेमा काटेर खेतमै सुकाएको धानबालीमा क्षति पु¥याएको छ । वर्षाले भित्र्याउन ठिक्क परेको धानको बाला रुझाएको छभने काट्न ठिक्क परेको धान खेतमा नै झारिदिएको छ ।
वर्ष दिनसम्म खाने धानबाली वर्षाले भिजाएर क्षति पुर्याएको नेपालगञ्ज–१७ परसपुरका किसान रामसुरत बर्माले बताए । दुई बिघा खेतमा लगाएको मसिनो जातको धान काटेर स्याहार्ने बेला गए रातिको वर्षाले भिजाएर ठूलो क्षति भएको उनको भनाइ छ ।
केही दिनदेखि मौसम पूर्ण रूपमा नखुलेका बेला डराइडराई धान काटेका किसानलाई वर्षाले निराश पारेको छ । नेपालगञ्ज–१७ थुकैलागाउँकी किसान मायावती यादवले वर्षभरि खाने धान क्षणभरमै भिजेर नष्ट भएको बताए ।
उनले भने, ‘धान काटेको तीन दिन भयो, दिपावली मनाएर घर लैजाने भनेको पानीले रुझायो, अब धान र पराल काम नलाग्ने भयो ।’
बेमौसमी वर्षाले धान स्याहार्न नपाएका यहाँका किसानलाई चिन्तित बनाएको छ । कृषि ज्ञान केन्द्र बाँकेका कार्यालय प्रमुख वरिष्ठ कृषि अर्थविज्ञ विनोद घिमिरेले बेमौसमी वर्षाले काटेको धानमा ठूलो क्षति पु¥याएको बताए ।
‘अचानक परेको पानीले अन्य बालीमा असर नपुगे पनि काटेको धानलाई क्षति पु¥याएको छ, के कति क्षति भयो भन्ने तथ्याङ्क संकलनमा लागेका छौँ’, उनले भने, ‘बाँकेमा छिटो पाक्ने धान किसानले स्याहारिसकेका छन्, ढिलो पाक्ने धान भित्र्याउने बेला क्षति पुगेको छ ।’
उनले छिटो पाक्ने धान रोपेका बाँकेका अधिकांश किसानले धान स्याहारेर गहुँ, तोरीखेतीका लागि खेत तयारी गरिरहेको जानकारी दिए । करिब ६० प्रतिशत बढी किसानले धानबाली भित्र्याइसकेको अनुमान रहेको प्रमुख घिमिरेले बताए । बाँकेमा यो वर्ष धान उत्पादन बढ्ने अनुमान गरिएकामा बेमौसमी वर्षाले धानबालीमा क्षति पु¥याएको छ ।