पुजालाई गृहनगर कोहलपुरमा स्वागतसंगै सम्मान


सेतोखरी सेतोखरी   मंगलबार, कात्तिक २०, २०८१
पुजालाई गृहनगर कोहलपुरमा स्वागतसंगै सम्मान

नेपालगन्ज २० कार्तिक : नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी डिफेन्डर पुजा रानालाई गृह नगर कोहलपुरमा भब्य स्वागत गरिएको छ । कोहलपुर नगरपालिका वडा नम्बर–१२ निवासी रानालाई कोहलपुर नगरपालिकाले स्वागत तथा सम्मान गरेको हो । 

रानालाइ कोहलपुर नगरपालिकाले आज मंगलबार एक कार्यक्रमको आयोजना गरि नगद ५१ हजार सहित सम्मान गरेको छ । 

सम्मान कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले कोहलपुरले आगामी दिनहरुमा पुजा जस्ता धेरै खेलाडीहरु उत्पादन गर्ने वातावरण निर्माण गरिरहेको बताए । उनले बिद्यालय तहबाटै खेलाडी उत्पादन गर्न आफुहरु लागी परेको जानकारी दिए । 

कोहलपुरमा खेलाडी उत्पादनका हिसाबले उर्वर भूमि रहेको हुँदा बिगतमा पनि कोहलपुरमा राष्ट्रिय खेलाडीहरु रहेको र भोलीका दिनमा पनि राष्ट्रिय टिममा पर्नसक्ने क्षमतावान खेलडी उत्पादनमा लागि रहेको उनले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

उनले नगरपालिका स्तरमा स्कुल, वडा र गोल्ड कप जस्ता प्रतियोगिताहरू नियमित आयोजना गर्दै खेलाडीको विकास र आत्मबल बढाउन प्रयत्नशील रहेको उल्लेख गरे ।

बिगतमा महिला क्रिकेटको राष्ट्रिय टिममा बाँकेको बर्चस्व नै थियो । कार्यक्रममा बोल्दै उपप्रमुख संगिता सुबेदीले खेल क्षेत्रको बिकास लागी आफुहरु गुरु योजना निर्माण गरेर अघि बढ्ने बताईन् ।

उपप्रमुख सुवेदीले पुजा रानालाई सम्मान गर्न पाउँदा कोहलपुर नगरपालिका गर्वित भएको बताइन् । उनले स्थानीय स्तरमा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको र खेलकुदको क्षेत्रलाई प्राथमिकतामा राखेको प्रष्ट्याइन् ।

कार्यक्रममा १५ वटै वडाका अध्यक्ष कार्यपालिका सदस्य लगायतको सहभागीता रहेको थियो ।  साफ महिला फुटबल प्रतियोगिताको फाइनल खेलमा बंगलादेशसँग पराजित हुँदै नेपाल उपविजेता भएको थियो । सम्मान ग्रहण गदै खेलाडी रानाले सम्मानबाट थप हौसल्ला मिलेको बताईन् ।