बाँकेमा व्यावसायिक तरकारी प्रर्वद्धन गर्दै केन्द्र, छानिए दुई पालिका


विजय मल्ल विजय मल्ल   शुक्रबार, कात्तिक २३, २०८१
बाँकेमा व्यावसायिक तरकारी प्रर्वद्धन गर्दै केन्द्र, छानिए दुई पालिका

File Photo

नेपालगन्ज २३ कार्तिक : व्यावसायिक तरकारी प्रवद्र्धनका लागि बाँकेका दुई पालिकालाई छनोट गरिएकोछ । कृषि ज्ञान केन्द्र बाँकेले जिल्लाको दुईवटा पालिकामा व्यावसायिक तरकारी प्रवर्धन कार्यक्रम सञ्चालन गर्ने भएपछि उक्त पालिकामा व्यावसायिक तरकारी प्रवद्र्धन कार्याक्रम लागु हुने भएको हो । 

केन्द्रले नेपालगन्जसंग सीमा जोडिएको जानकी गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा व्यावसायिक तरकारी प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दैछ । 

कृषि ज्ञान केन्द्र बाँकेका कार्यालय प्रमुख वरिष्ठ कृषि विज्ञ विनोद घिमिरेका अनुसार चालु आर्थिक वर्ष ०८१–०८२ मा जानकी र राप्तीसोनारी गाउँपालिकामा कृषि विकास कार्यक्रम अन्तर्गत व्यावसायिक तरकारी प्रवद्र्धन कार्यक्रम शुरु गर्न लागिएको हो । 

केन्द्रका प्रमुख घिमिरेका अनुसार यसका लागि कृषि विकास कार्यक्रममा सहभागी हुन इच्छुक किसानलाई प्रस्ताव पेश गर्न सूचना जारी गरिसकिएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

कार्यक्रममा सहभागी हुन योग्य किसानहरुले व्यावसायिक योजनाका आधारमा प्रस्तावहरु पेश गर्नुपर्ने र स्वीकृत भइसकेपछि कार्यक्रम सञ्चालन हुनेछ ।

‘किसानहरुले योजनासहित प्रस्तावसहितको आवेदन पेश गरिरहनुभएको छ, यही कार्तिक २९ गतेसम्म समयअवधि रहेको छ, समय सीमासम्म कति आवेदन आउँछन् त्यसपछि हामी छनोट प्रक्रियामा जान्छौँ ।’

केन्द्रका प्रमुख घिमिरिले भने,‘सबै आवेदन प्राप्त भएपछि कागजी प्रक्रिया, फिल्ड भिजिट तथा कार्यविधि र मापदण्डका आधारमा किसान छनोट गर्छौँ, कार्यक्रम स्वीकृत गर्छोँ र कार्यक्रम सञ्चालन गर्छौँ ।’

कार्यक्रम अनुसार उत्पादन सामग्रीहरु, सिँचाइका लागि आवश्यक सामग्रीहरु, यन्त्र-उपकरणहरु, प्राथमिक प्रशोधन, बजारीकरण सामग्रीहरु, पूर्वाधार सुधार वा निर्माण गर्ने क्रियाकलापमा अनुदान सहयोग हुनेछ ।

कार्यक्रममा कृषक, फर्म, कृषक समूह, सहकारीहरु सहभागी हुन सक्ने र सामूहिक रुपमा कम्तीमा एक हेक्टर र एकल रुपमा कम्तीमा १० कट्ठा जमीनमा खेती गर्नुपर्ने मापदण्ड कार्यालयले तोकेको छ ।

किसानहरुले यन्त्र उपकरण÷अन्य सामग्री हकमा अधिकतम ५० प्रतिशत, निजी पूर्वाधारको हकमा अधिकतम ५० प्रतिशत, बीउबिजन÷बेर्नामा ५० प्रतिशत र सामुदायिक पूर्वाधार निर्माणको हकमा अधिकतम ७५ प्रतिशत तथा प्रति हेक्टर जमीनमा अधिकतम एक लाख रुपैयाँसम्म अनुदान प्राप्त गर्ने कार्यालयले जनाएको छ ।

कृषि ज्ञान केन्द्र बाँकेले चालु आर्थिक वर्ष ०८१–०८२ मा सञ्चालन हुने कृषि विकास कार्यक्रम अन्तर्गत जानकी र राप्तीसोनारी गाउँपालिकामा व्यावसायिक तरकारी प्रवद्र्धन कार्यक्रमका साथै बैजनाथ गाउँपालिकामा च्याउ प्रवद्र्धन तथा कोहलपुर नगरपालिका, डुडुवा, बैजनाथ, खजुरा, जानकी र राप्तीसोनारी गाउँपालिकामा कृषि यान्त्रीकीकरण कार्यक्रम सञ्चालन गर्दैछ ।

यसबाहेक वर्षे÷हिउँदे फलफूल बिरुवा वितरण र बीउ आलुको ढुवानी, बोरा तथा शीत भण्डार शुल्कमा सहयोग कार्यक्रम जिल्ला भरका किसानसँग सञ्चालन गर्ने योजना रहेको केन्द्रका प्रमुख घिमिरेले बताए ।