सुर्खेत फोर्स गाडी दुर्घटनाः प्रहरीको लापरबाही भएको भन्दै मृतकका आफन्त आन्दोलित


सेतोखरी सेतोखरी   शनिबार, कात्तिक २४, २०८१
सुर्खेत फोर्स गाडी दुर्घटनाः प्रहरीको लापरबाही भएको भन्दै मृतकका आफन्त आन्दोलित

नेपालगन्ज २४ कार्तिक : सुर्खेत–दैलेख सडक खण्ड अन्तर्गत शुक्रवार भएको फोर्स गाडी दुर्घटनामा परी मृत्यु भएकाका आफन्त आन्दोलित भएका छन् । प्रहरीको लापरबाहीका कारण गाडी दुर्घटना भएको भन्दै सुर्खेतमा आन्दोलन सुरु भएको छ । 

शुक्रबार दैलेखमा दुर्घटना भएको गाडी १५ सिटे भएको र सो गाडीमा ३४ जना यात्रु राख्दा दुर्घटना भएको भन्दै पीडित पक्षले आन्दोलन सुरु गरेका हुन् ।

यो पनि पढ्नुहोस् सुर्खेत बस दुर्घटना : ४ जनाको मृत्यु, ३० घाइते

उनीहरुले दैलेखका प्रहरी चेक पोष्टका कर्मचारीहरुलाई कारबाही गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, घाइतेहरुको शीघ्र स्वास्थ्य उपचारको व्यवस्था गरिनुपर्ने लगायतका माग राखेका छन् ।   

Kanti Aarogya Hospital Nepalgunj

शुक्रबार दिउँसो सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्लामा भएको फोर्स गाडी दुर्घटनामा चार जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका थिए । सो ठाउँ दैलेख–सुर्खेत सिमाना नजिक पर्दछ । दैलेखबाट सुर्खेत आउँदै गरेको ०२००ख०९९८ नम्बरको फोर्स गाडी दुर्घटना भएको थियो ।

उनै मृतकका आफन्त शनिवार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आन्दोलित भएका हुन् । एरीचौकबाट मंगलगढी चौकसम्म विभिन्न मागहरू राखेर प्रदर्शन गरेका छन् । 

दुर्घटनामा परी दैलेखको भैरवी गाउँपालिका–५ का गाडी चालक ३८ वर्षीय सुरेश केसी, भैरवी गाउँपालिका–२ का ३६ वर्षीय कर्णबहादुर विष्ट, भैरवी गाउँपालिका–२ का १६ वर्षीय दीपिका महतारा र २१ वर्षीय संगीता विष्टको मृत्यु भएको थियो । 

दुर्घटनामा ३० जना घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । ३० जनामा १६ जना महिला र १४ जना घाइते भएका थिए । घाइतेहरू सबैको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । क्षमताभन्दा बढी यात्रु राखेर चलाउँदा गाडीले नियन्त्रण गुमाएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।