बाँकेमा एचआइभी संक्रमितको अवस्था : भेरी अस्पतालबाट ५८८ जनाले लिइरहेका छन् नियमित औषधि


सेतोखरी सेतोखरी   आइतबार, कात्तिक २५, २०८१
बाँकेमा एचआइभी संक्रमितको अवस्था : भेरी अस्पतालबाट ५८८ जनाले लिइरहेका छन् नियमित औषधि

नेपालगन्ज २५ कार्तिक : बाँकेमा एचआइभी संक्रमित ५८८ जनाले नियमित रुपमा औषधी सेवन गरिरहेको पाइएकोछ । 

नेपालगन्जको भेरी अस्पतालमा रहेको एआरटी युनिटबाट ५८८ जना एचआइभी संक्रमितले नियमित रुपमा औषधि सेवन गरिरहेका हुन् । ती मध्ये २९१ पुरुष, २५८ महिला, १५ जना बालक, १४ जना बालिका र १० जना अन्य रहेका छन् । 

यो संख्यामा मध्ये नेपालगन्ज उपमहानगरपालिकाका सबैभन्दा बढी ११४ जना छन् भने सबैभन्दा कम जानकीमा १९ जना रहेको भेरी अस्पतालका एआरटी काउन्सेलर इन्द्र सैनीले जानकारी दिए । 

नेपालगन्ज पछि सबैभन्दा बढि कोहलपुरमा रहेकाछन् । कोहलपुरमा ८३ जना, खजुरा ५४ जना, बैजनाथ ४२ जना, नरैनापुर ४१ जना, डुडुवा ३७ जना र राप्तीसोनारीका ३५ जना रहेका छन् । 

Kanti Aarogya Hospital Nepalgunj

एचआइभी संक्रमित मध्ये नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर– ४ मा सबैभन्दा बढी छन् । एआरटी युनिटका अनुसार हालसम्म १७ सय जनालाई एआरटी सेवा दिइएको छ ।

सन् २००४ मा स्थापना भएको एआरटी युनिटले हालसम्म १९ सय जनाको रोग पहिचान गरेको छ भने २ लाख जनाको एचआइभी परीक्षण गरिएको छ । 

यता भेरी अस्पतालका एचआइभी फोकल पर्सन समेत रहेका कन्सल्टेन्ट फिजिसियन डाक्टर संकेत कुमार रिसालले एआरटी सेवा प्रभावकारी देखिएको बताउँछन् । 

डाक्टर रिसालका अनुसार एआरटी सेवा लिइरहेका एचआइभी संक्रमित आमाबुवाबाट जन्मेका सन्तानमा ‘पोजिटिभ’ देखिएको छैन । उनले एचआइभी एड्सलाई पनि अन्य रोग सरह नै मानेर चेकजाँच गराउन सचेतना बढाउन आवश्यक रहेकोमा जोड दिन्छन् ।

नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले नेपालगन्ज उपमहानगरपालिकाले एचआइभी संक्रमित बालबालिकालाई मासिक ५ हजार रुपैयाँ अनुदान उपलब्ध गराइरहेको बताए।