नेपालगन्ज २६ कार्तिक : बागलुङको जैमिनी नगरपालिका–७, जैदीको व्यार्थलानजिकै आज बिहान ‘पिकअप भ्यान’ दुर्घटना हुँदा मृतक पाँचै जनाको पहिचान खुलेकोछ ।
जैमिनी नगरपालिका–८, छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार जाँदै गरेको ग २ च ९२४७ नम्बरको भ्यान सोमबार बिहान जैमिनी–७ जैदीको व्यार्थला नजिकै हर्देवा भन्ने स्थानमा दुर्घटना हुँदा चालकसहित पाँचजनाको मृत्यु भएको थियो ।
यो पनि पढ्नुहोस् बागलुङमा पिकअप भ्यान दुर्घटना : चालकसहित ५ जनाको मृत्यु, एक जना गम्भीर घाईते
मृत्यु हुनेहरुमा जैमिनी नपा–८ केवई बस्ने जिप चालक ३८ वर्षीय महेन्द्र पुन, सोही ठाउँ बस्नेहरु २० वर्षीय रश्मी श्रीष, ५० वर्षीय नन्दकली पुन, १७ वर्षीय निरज श्रीष र ७५ वर्षीय कुल प्रसाद श्रीष रहेका छन् । दुर्घटनामा जैमिनी नपा ८ केवई बस्ने ४५ वर्षीय गंगाबहादुर श्रीष घाइते भएका छन् ।
भ्यान सडकदेखि एकसय मिटरभन्दा तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले जानकारी दिए ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक सुमन निउरेका अनुसार ६ जना सवार भ्यानमा एक जनाको गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ । उनलाई थप उपचारका लागि धौलागिरि अस्पताल, बागलुङ लगिएको छ ।