कोहलपुर २६ कार्तिक : बाँकेको कोहलपुरमा शवदाहस्थल निर्माणका लागि सम्बद्ध सरोकारवालाहरुले सहयोगको प्रतिवद्धता जनाएका छन् ।
कोहलपुर नगरपालिकाका कार्यबाहक नगरप्रमुख वीरेन्द्र कुमार शाहको अध्यक्षतामा सोमबार कोहलपुरमा भएको अन्तरक्रिया कार्यक्रममा सम्बद्ध सरोकारवालाहरुले सामाजिक उत्तरदायित्व अन्तगर्त सहयोग गर्न तयार रहेको बताएका हुन् ।
यो पनि पढ्नुहोस् विवादमा कोहलपुरको शवदाह गृह : स्थानीय नै पक्ष र विपक्षमा उभिए
केएल दुगडका प्रबन्ध निर्देशक वरिष्ठ उद्योगी प्रदीप छाछेडले सामाजिक तथा मानवीय सेवाका निमित्त गरिने काममा आफ्नो तर्फबाट हुन सक्ने सहयोगका लागि तयार रहेको बताए । उनले सामाजिक कार्यमा केएल दुगडले सहयोग गर्दै आएको समेत स्मरण गराए ।
कोहलपुर मेडिकल कलेजका जनसम्पर्क अधिकृत रामकृष्ण हमालले पनि कोहलपुरमा शवदाहस्थल आवश्यक रहेकाले सहयोगको प्रतिबद्धता जनाए । उनले त्यसका निमित्त वोर्ड समितिमा कुरा राखेर मेडिकल कलेजबाट हुन सक्ने सहयोग गरिने विश्वास दिलाए ।
शवदाहस्थल व्यववस्थापन समितिका संयोजक समेत रहेका कार्यबाहक नगर प्रमुख शाहले सबैको सहयोग र समन्वयबाट शबदाहस्थल निर्माणको काम प्रारम्भ भएकाले आफ्नो सामाजिक उत्तरदायित्वबाट सहयोग गर्न आग्रह गरे ।
उनले कोहलपुर नगरपालिकाका नागरिकहरुका लागि सरल, सहज तथा कम खर्चिलोमा शवदहन गर्नका लागि कोहलपुर नगरपालिका वडा नम्बर–११ स्थित डुडुवा खोला र रोहिणी खोलाको संगमस्थलमा शवदाहस्थल निर्माणको काम सुरु गरिएको जानकारी दिए ।
यो पनि पढ्नुहोस् डुडुवापछि कोहलपुरले बनाउँदै अत्याधुनिक शवदाह गृह
वातावरण प्रभावलाई समेत मूल्यांकन गरेर कोहलपुरमा अत्याधुनिक शवदाहस्थल बनाउन लागिएकाले सबैको सहयोग आवश्यक रहेको शाहले बताए । उनले शवदाहस्थलबाट कुनैपनि वातावरणीय तथा स्वास्थ्यसँग सम्वन्धीत असर नपर्ने गरी विज्ञहरुको सुझावकै आधारमा कोहलपुर शवदाहस्थल निर्माण सुरु गरिएको उनको भनाइ छ ।
यस्तै शवदाहस्थल निर्माण समितिका संयोजक चक्र अधिकारीले शवदाहस्थल निर्माणका लागि अहिलेसम्म ७० लाख रुपैयाँ सहयोग प्राप्त भएको जानकारी दिए । उनले एभरेष्ट बैंकले ५० लाख र ग्लोवस बैंकबाट २० लाख रुपैयाँ प्राप्त भएको र अन्य सामाजिक संघसंस्थाबाट पनि सहयोगको प्रतिबद्धता आइरहेको बताए ।
करिब एक करोड १७ लाखको लागत स्टिमेटमा निर्माणको काम भइरहेको छ । अहिले भौतिक संरचना निर्माणको काम भइरहेको पनि अधिकारीले बताए ।
कार्यक्रममा कोहलपुर नगरपालिका वडा नम्बर–५ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठ, वडा नम्बर– ९ का वडा अध्यक्ष ओपेन्द्रनाथ योगी, निमित्त प्रशासकीय अधिकृत युवराज अधिकारी, नगर प्रहरी प्रमुख वीरबहादुर थापा, बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिहरु, उद्योगीहरु लगायतको सहभागिता रहेको थियो ।