बाँसगढीका हरिबहादुरको हत्या आरोपमा लक्ष्मण चन्द पक्राउ


सेतोखरी सेतोखरी   बिहीबार, कात्तिक २९, २०८१
बाँसगढीका हरिबहादुरको हत्या आरोपमा लक्ष्मण चन्द पक्राउ

नेपालगन्ज २९ कार्तिक : जिल्ला प्रहरी कार्यालय बर्दियाले हत्या आरोपमा एक जनालाई नियन्त्रणमा लिएको छ । बाँसगढी नगरपालिका वडा नम्बर–२ का स्थानीयबासी ३७ वर्षीय लक्ष्मण चन्दलाई हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

गत असोज २८ गते बाँसगढी नगरपालिका–२ स्थित काटकुवा खोलामा सोही ठाउँका ४८ वर्षीय हरिबहादुर बुढामगरको शव पानीमा घोप्टो अवस्थामा फेला परेको थियो ।

शवको पोष्टमार्टम पश्चात प्रहरी अनुसन्धानमा जुटेको थियो । अनुसन्धानको क्रममा खुल्न आएका शंकित व्यक्ति र मृतकका छोरा मनोज बिएमले चन्दको नाममा किटानी जाहेरी दिएको थिए । अनुसन्धानका क्रममा खुलेका सबुत प्रमाण र किटानी जाहेरीका आधारमा प्रहरीले जिल्ला अदालतबाट चन्दको नाममा पक्राउ अनुमति सोमबार प्राप्त गर्दै चन्दलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गत शनिबार नेपाल प्रहरी लुम्बिनी प्रदेश कार्यालय पोलिग्राफ शाखा भैरहवाबाट प्रहरी अधिकृतसहितको टोली उक्त घटनाको अनुसन्धानमा खटेको थियो । 

Kanti Aarogya Hospital Nepalgunj

जिल्ला अदालतबाट ५ दिनको म्याद लिई इलाका प्रहरी कार्यालय मोतिपुरबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी निरीक्षक कृष्ण डाँगीले जानकारी दिए । प्रहरीका अनुसार हरिबहादुरको हत्या हुनुको कारण अझैं खुल्न सकेको छैन । यद्यपी घटनाको अनुसन्धान प्रहरीले गरिरहेकोछ ।