किसानसँग धमाधम धान किन्दै खाद्य, ८ दिनमै साढे चार हजार क्विन्टल धान खरिद

धान बेच्न किसानलाई स्थानीय तहको सिफारिस अनिवार्य


सेतोखरी सेतोखरी   बिहीबार, कात्तिक २९, २०८१
किसानसँग धमाधम धान किन्दै खाद्य, ८ दिनमै साढे चार हजार क्विन्टल धान खरिद

File Photo

नेपालगन्ज २९ कार्तिक : बाँकेका किसानहरुसँग खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले यतिबेला किसानहरूसँग धमाधम धान खरिद गरिरहेको छ । गत २० गते मङ्गलबारबाट किसानका धान खरिद गरिरहेको नेपालगन्ज कार्यालयले ८ दिन अर्था कार्तिक २८ गते बुधबारसम्म साढे चार हजार क्विन्टलभन्दा बढी धान खरिद गरिसकेको छ ।

गत वर्षभन्दा १५ दिन अगावैबाट धान खरिद गर्न लागेको नेपालगन्ज कार्यालयले यस वर्ष बाँकेका किसानबाट ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ । बुधबारसम्म चार हजार ६४७ दशमलव १४ क्विन्टल धान खरिद गरिसकेको जनाएको छ ।

यो पनि पढ्नुहोस्  न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्दै खाद्य

‘हामीले यस वर्ष लक्ष्य लिएको ४० हजार क्विन्टल धान खरिद गर्ने हो, २० गतेबाट शुरु गरिएको धान खरिद बुधबारसम्ममा चार हजार ६४७ दशमलव १४ क्विन्टल धान खरिद गरिसकेका छौँ ।’ कार्यालयका सूचना अधिकारी बरिष्ठ सहायक शिवराज घिमिरेले अगाडी भने –‘कम्पनीको गोदाम नजिक चार वटा काँटा(तौल) लगाएर किसानले ल्याएका धान धमाधम खरिद गरिरहेका छौँ ।’

Kanti Aarogya Hospital Nepalgunj

३० हजार क्विन्टल मोटा धान र १० हजार क्विन्टल मध्यम गरी यस वर्ष ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको नेपालगन्ज कार्यालयले बुधबारसम्म ५५२.६१ क्विन्टल मोटा र ४०९४.५३ क्विन्टल गरी ४६४७.१४ क्विन्टल धान खरिद गरेको हो ।

धान बेच्न किसानलाई स्थानीय तहको सिफारिस अनिवार्य

धान खरिद गर्नुअघि किसानहरूले स्थानीय तहको सिफारिस दर्ता गर्नुपर्ने र त्यसपछि कार्यालयबाट समय तोकिएको दिनमा किसान आएर धान बिक्री गर्ने गरेको सूचना अधिकारी घिमिरेले बताए । 

‘पहिला–पहिला किसानहरू १५ दिनसम्म यहाँ आएर लाइन लागेर बस्नुपर्ने बाध्यता थियो, अहिले धान ल्याउन पूर्व नै स्थानीय तहको सिफारिस ल्याएर दर्ता गर्ने र हामीले दिएको समयमा उहाँहरू आएर धान बिक्री गर्ने व्यवस्था मिलाएका छौँ ।’ उनले भने ।

‘बुधबारसम्म धान बिक्री गर्नका लागि ३४५ जना किसानले स्थानीय तहको सिफारिस दर्ता गरिसकेकाछन्, अहिलेसम्म सबैभन्दा धेरै राप्तीसोनारी गाउँपालिकाका किसानहरू आउनुभएको छ, त्यसपछि जानकी, नेपालगन्ज, बैजनाथ र डुडुवाबाट पनि किसान आउनुभएको छ ।’ सूचना अधिकारी घिमिरेले थपे, –‘स्थानीय तहको सिफारिसका आधारमा एक किसानसँग ८० क्विन्टलसम्म धान खरिद गर्ने गरेका छौँ ।’

धान तौल गर्नका लागि चार वटा काँटा(तौल)मा ४० जनाभन्दा बढी मजदूर परिचालन गरिएको उनले बताए । उनका अनुसार मजदूरलाई जिल्लास्थित प्राथमिक खरिद समितिले निर्धारण गरेको प्रति ब्यक्ति प्रति क्विन्टल तौल गरेबापत ४० रुपैयाँ रकम प्रदान गरिँदै आइएको छ । 

गत वर्ष न्यून धान खरिद हुँदा यस वर्ष लक्ष्य घटाइयो

गत वर्ष ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको नेपालगन्ज कार्यालयले यस वर्ष भने मात्रा घटाएर ४० हजार क्विन्टल मात्र खरिद गर्ने लक्ष्य लिएको छ ।

‘गत वर्ष हामीले ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएका थियौँ, लक्ष्य भन्दा निकै कम जम्मा आठ हजार क्विन्टल मात्र खरिद गर्न सक्यौँ ।’ मुख्य शाखा प्रमुख रामशरण लामिछानेले भने,‘गत वर्ष सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यभन्दा बजारमा किसानहरूले बढी मूल्य पाए र बजारका गल्ला व्यापारी र मिलहरूमा लगेर बिक्री गरे, हामीले न्यून मात्रामा खरिद गर्न सक्यौँ ।’

गत वर्षभन्दा यस वर्ष सरकारले न्यूनतम समर्थन मूल्य पनि बढाएको र धान खरिद पनि १५ दिन अगाडिबाटै सुरु गरिएको हुँदा लक्ष्य पुरा गर्न सकिने अपेक्षा गरिएको उनले बताए ।

‘गत वर्षभन्दा यस वर्ष सरकारले पनि न्यूनतम समर्थन मूल्यमा वृद्धि गरेको छ, गत वर्षभन्दा यस वर्ष धान खरिद पनि १५ दिन अगाडिबाट सुरु गरेका छौँ, त्यस कारण यो वर्ष लक्ष्यमा पुग्न सकिन्छ भन्ने अपेक्षा गरेका छौँ ।’ लामिछानेले भने, ‘गत वर्ष मङ्सिर ६ गतेबाट धान खरिद शुरु गरेका थियौँ, यस वर्ष भने १५ दिन अगावै कार्तिक २० गतेदेखि नै सुरु गरेका छौँ ।’

यस वर्ष पनि बेमौसमी वर्षाका कारण बाँकेका अधिकांश किसानको धानबालीमा क्षती पुगेकोछ । पाकेर भित्र्याउन तयारी अवस्थामा रहेको धानबालीमा बेमौसमी वर्षाले क्षती पु¥याएको हो । दशैं र तिहारका समयमा बाँकेका अधिकांश किसानको धानबाली पाकेर भित्र्याउन तयारी अवस्थामा थियो तर, सोही समयमा भएको बेमौसमी वर्षाले उनीहरुको धानबालीमा क्षती पुगेको थियो ।