नेपालगन्ज ३० कार्तिक : बाँकेमा कार्तिक पूर्णीमाका अवसरमा लाग्दै आएको मेला आजबाट शुरु भएको । जिल्लाका विभिन्न स्थानमा लाग्ने मेला आजबाट शुरु भएका हुन् । कतिपय स्थानमा हिजोदेखि मेला सुरु भएकोछ । यस्ता मेला कहिँ तीन दिन त कहिँ पाँच दिनसम्म लाग्नेगर्छ ।
बाँके जिल्लामा कार्तिक पूर्णीमाका अवसरमा गुरुवागाँउ, जोगागाउँ र होलियामा मेला लाग्नेगर्दछ भने चिसापानी र टिकुलीपुरमा हिजो नै मेला लागेको छ । यस्ता मेलाले स्थानीय कलाकार, व्यापार, सँस्कृतिको जगेर्ना गर्नुका साथै सामाजिक सद्भावलाई समेत बलियो बनाउने स्थानीयको भनाईछ ।
यसैबीच, कार्तिक पूर्णीमाका अवसरमा आज बाँकेको राप्ती नदिमा मेला लागेकोछ । बाँकेको डुडुवा गाँउपालिका–५ कम्दी स्थित सिधनीया घाटमा लाग्ने उक्त मेलालाई ‘नहान’ मेलाको नामबाट समेत चिनिन्छ ।
विशेषगरि कार्तिक पूर्णीमाका दिन विहानै सूर्यदयसगैं राप्ती नदिमा स्नान र पूजाआज गर्नेको भीड लाग्छ ।
राप्ती नदिमा लाग्ने स्नान मेलाका लागि नेपालगन्ज, कोहलपुर, खजुरा, राप्तीनदी आसपास लगायत दाङ्ग, बर्दिया तथा भारतको रुपैडिहा, नानपारा तथा बहराईचबाट समेत श्रद्धालुहरु आउने गर्छन् ।
कार्तिक पूर्णीमाका अवसरमा जिल्लाका विभिन्न जलासयमा श्रद्धालुहरुको भीड समेत लाग्नेगर्छ । धार्मिक तथा साँस्कृतिक मान्यताअनुसार आज कार्तिक पूर्णीमाका दिन सूर्योदयसगैं नदीमा स्नान गरि पुजाअर्चना गरेमा पाप मेटिने मान्यता रहेकोछ ।
तील, जौं, कुश, चामल र पुष्प लिएर गंगाको पुजाअर्धना गरि गंगा स्नान गर्दा वर्षभरीको पाप मेटिने विश्वासका साथ स्नान गरिन्छ ।
कार्तिक पूर्णीमाका अवसरमा व्रत(उपवास) वस्ने गर्दछन् । राप्ती नदीमा नुहाउनका लागि भक्तजनहरुको हिजो बिहीवार बेलुकीदेखिनै नदी घाटमा घुईंचो लागेको थियो ।
आज शुक्रबार विहान ३ बजेदेखिनै स्नान गरी दान दिने र पूजाआजा गर्नेको ठूलो भीड लागेकोछ । कतिपयले स्नान गरी नदी छेउमा गौदानसमेत गर्ने गर्दछन् । गौदान गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।