गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक


सेतोखरी सेतोखरी   १९ घण्टा अगाडि
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक

नेपालगन्ज ३० कार्तिक : नेपालगन्ज उपमहानगरपालिका–२२ पुरैनीका साइला किङगरिया घरमा पालेको भेडा लिएर शुक्रबार गुरुवागाउँ मेला पुगे । 

बाँकेको जानकी गाउँपालिका–५ बेलहरीमा प्रत्येक वर्ष लाग्ने मेलामा नियमित भेडा जुधाउँदै आएका साइला यो वर्ष आफ्नो भेडाले लडाइँ जित्नेमा आशावादी देखिन्छन् ।

‘लडाइँ जितेपछि सयको पाँच सयका दरले तुरुन्तै मूल्य बढिहाल्छ’, गुरुवागाउँ मेलामा भेडासहित भेटिएका साइलाले भने, ‘सानोले आफूभन्दा ठूलालाई हान्न लाग्यो भने रु १० हजार छ भने त्यसको मूल्य  २५–३० हजार भइहाल्छ ।’

जानकी गाउँपालिका–६ कपासीबाट भेडा जुधाउन आएका सर्नाम खाँ यो खेल सौखका लागि हुने गरेको बताउँछन । ‘भेडा लडाउने हाम्रो सौख हो, पाल्ने, लडाउने हारेपछि बुच्चडलाई दिने’, खाँले भने, ‘लडाकु भेडा पाल्न धेरै मेहनत र खर्च लाग्ने भएकाले सबैले गर्न सक्दैनन्, मेलामा लडाउनका लागि मात्रै पाल्ने हो ।’

Kanti Aarogya Hospital Nepalgunj

उनका अनुसार दुई वर्षभन्दा बढी समयसम्म पालेर लडाकु बनाइएका भेडा गुरुवागाउँ मेलामा लडाउन ल्याउने गरिएको छ । एउटा लडाकु भेडाको मूल्य कम्तीमा ३० हजार पर्छ ।

भेडा जुधाउने खेल यहाँका गाउँलेको सोख बनिसकेको छ । मेला सकिएपछि भेडाको जितसँगै भेडा पाल्ने किसानको नाम र गाउँको चर्चा चल्ने भएकाले ऋण गरेर भए पनि भेडालाई दानापानी खुवाएर मेलामा उतार्ने गरेको जानकी–४ का भेडापालक किसान दौलतप्रसाद यादवले बताए ।

मेलामा भेडापालक किसान स्वस्फूर्त रूपमा भेडा जुधाउन आउने गरेको जानकी गाउँपालिका–५ का वडाध्यक्ष एवं गुरुवागाउँ मेलाका संरक्षक टीकाराम यादवकोे भनाइ छ । केही सौखिन किसानले मेलामा जुधाउनैका लागि भेडा पाल्ने गरे पनि व्यावसायिक रूपमा भेडा पाल्ने किसान भने नरहेको उनले बताए ।

जानकी गाउँपालिका–५ स्थित गुरुवागाउँ मेलामा प्रत्येक वर्ष हुने भेडा जुधाइ खेल हेर्न टाढा–टाढाबाट आउने गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका–१९ वसुदेवपुरबाट भेडा जुधाइमा भाग लिन पुगेका शालिकराम यादव प्रत्येक वर्ष आउने गरेको बताउँछन् ।

गुरुवागाउँका ९५ वर्षीय भगौतिप्रसाद अहिरले आफ्नो बाबुबाजेका पालादेखि नै यो मेला र भेडा जुधाउने खेल हुँदै आएको बताउँछन् । ‘पहिला मेलामा अरु मनोरञ्ज गर्ने केही हुँदैन्थ्यो, त्यसैले भेडा जुधाउने खेल धेरै रमाइलो हुन्थ्यो तर, अहिले भेडा लडाउने खेलमा रमाउने मान्छे कम हुँदै गएका छन्’, उनले भने । भेडा जुधाइ शनिबारसम्म चल्नेछ । -रासस