नेपालगन्ज २ मंसिर : बाँकेको नेपालगन्जमा पहिलोपटक सुविधासम्पन्न किरियापुत्री घर निर्माण गरिदैँछ । मृत्यु पर्यन्त धार्मिक संस्कार र सम्मान प्रदान गर्न दिवंगत आत्माको मोक्ष प्राप्तिका लागि ढाई तले उक्त सुविधा सम्पन्न किरियापुत्री घर अन्तिम चरणमा पुगेको हो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–४, क्षेत्रीय विद्युत कार्यालयदेखि उत्तरतर्फ रहेको शिवपार्वती टोलमा उक्त भवन निर्माण भइरहेकोछ । आगामी मङ्सिर मसान्तसम्म भवनको सम्पूर्ण कार्य सम्पन्न गरि सञ्चालनमा ल्याउने गरि कार्य तिव्र रुपमा अघि बढाइएकोछ ।
करीब ७५ लाखमा निर्माण भइरहेको उक्त किरियापुत्री घरमा अट्याच ट्वाइलेट, बाथरुम, विजुलीबत्ती, खानेपानी, श्रद्धाञ्जली ब्यक्त गर्न आउनेहरुका लागि हलसहित अन्तिम संस्कारको ११, १२ र १३ औं दिनको कार्य गर्नका लागि छुट्टै ट्रष्टको सुविधा रहनेछ ।
उक्त किरियापुत्री घर निर्माणका लागि हालसम्म ५३ लाख खर्च भइसकेकोछ । यतिबेला सो भवनमा टायल विछ्याउने, झ्यालढोका लगाउने, रङरोगन गर्ने कार्य चलिरहेको नेपालगन्ज किरियापुत्री घर निर्माण समितिका संयोजक सेमराज शाक्यले जानकारी दिए ।
एकैपटक दुई परिवारले आफन्तको किरिया गर्नसक्ने गरि बनाइएको सो भवनमा प्रत्येक परिवारलाई चारवटा कोठा प्रदान गरिनेछ । जसमा एक–एक कोठा महिला र पुरुषका लागि, एउटा कुरुवाका लागि र अर्को श्रद्धाञ्जली ब्यक्त गर्न आउनेका लागि रहनेछ ।
नेपालगन्ज किरियापुत्री घर निर्माण समितिका संयोजक शाक्यका अनुसार उक्त स्थानमा रहेको शिवपार्वती मन्दिर व्यवस्थापन समितिले उपलब्ध गराएको दुई कठ्ठा जग्गामा २०८० फागुन १७ गते नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले भवनको शिलान्यास गरेका थिए ।
नेपालगन्जमै पहिलोपटक सुविधासम्पन्न किरियापुत्री घर निर्माण भएपछि यहाँ कोठा भाडामा बस्नेहरु तथा आफन्त उपचारका लागि नेपालगन्ज आएकाहरुलाई यसले ठूलो राहत हुने समितिका संयोजक शाक्य बताउँछन् ।
‘कोठा भाडमा बसेकाहरु, उपचारका लागि आएकाहरुले आफन्त गुमाएपछि उनीहरुको दाहसंस्कार गरेपश्चात १३ औं दिनसम्म गरिने कार्यमा सास्ती खेप्नु परेकोछ’ शाक्यले अगाडी थपे–‘परिवारको सदस्य गुमाउनु परेको पीडा र किरिया बस्ने ठाउँको अभाव, घरबेटी र होटलले किरिया बस्न नदिएको पीडा र दुःख अब झेल्नु पर्दैन । घाटमा अन्तिमसंस्कार गरेर सोझै यही आएर किरिया कर्म गर्न सकिनेछ ।’
सहयोग बढेमा थप संरचना बनाउने सोँच बनाएको समितिले उक्त भवनमा एसी सुविधा समेत जडान गरिनेछ । समितिले किरियापुत्री घर सञ्चालनमा आएपछि यसको सुरक्षा, मर्मतसंभार, सरसफाई, विजुली लगायतको खर्च व्यवस्थापन गर्न केही शुल्क लिने बताएकोछ । यद्यपी उक्त शुल्क भने अझैं तोकिएको छैन ।
यसरी सम्भव भयो नेपालगन्ज किरियापुत्री घर
कोभिड–१९ को महामारीले नेपालगन्ज त्राहिमाम बनेको थियो । कोभिड हटस्पट बनेको नेपालगन्जमा दिनहुँ ५–६ जनाको मृत्यु हुन्थ्यो । स्वास्थ्य पोर्टकोलका कारण कोभिड–१९ महामारीबाट ज्यान गुमाएका शवको व्यवस्थापन राज्यले नै गरिरहेको थियो । आफन्तले दागबत्ती दिनु त परको कुरा अन्तिम पटक आफ्नो प्रिय मान्छेको अनुहार समेत हेर्न पाउँदैन थिए ।
कोभिड–१९ महामारीले आफ्ना प्रिजन गुमाउनुको पीडा त थियो नै उनीहरुको अन्तिम संस्कार समेत गर्न नपाएका आफन्तीलाई धार्मिक सँस्कार अन्र्तगत १३ दिनसम्मको किरिया गर्न झनै सकस बन्यो ।
दिवंगत आत्माको मोक्ष प्राप्तिका लागि नेपालगन्जमा कोठा भाडामा र होटलमा बसेकाहरुलाई ठूलै सास्ती ब्यहोनुप¥यो । एकातिर अनुहार नै हेर्नन नपाइ आफ्ना मान्छे गुमाउनुको पीडा अर्कोतिर मृत्यु पर्यन्त धार्मिक संस्कार अनुसार गर्नुपर्ने १३ औं दिनसम्मको कर्म घरबेटी र होटल मालिकले नदिदाँ उनीहरुमा थप पीडामाथि पीडा थपिदियो ।
यस्तो जटिल र गम्भीर परिस्थितीको सामना गरिरहेका उनीहरुको पीडाबाट नेपालगन्जमा सुविधासम्पन्न किरियापुत्री घरको आवश्यकता खड्कियो । नेपालगन्ज किरियापुत्री घर निर्माण समितिका संयोजक शाक्यले विगत स्मरण गर्दै भने–‘कोभिडले धेरै पाठ सिकाएर गयो । त्यो मध्ये एक हो किरिया घर ।’
‘हामीले पनि किरिया गर्न उपयुक्त थलो खोजिरहेका थियौं । हाम्रा केही साथीर्सकलमा यस विषयमा विमर्श पनि भइरहेको थियो ।’ उनले अगाडी थपे–‘यहीबीच नेपालगन्ज गगनगञ्ज माइत भएकी काठमाण्डौं निवासी माधवी शाहबाट मोक्ष प्राप्तिका लागि सुविधासम्पन्न किरियापुत्री घर निर्माणका लागि पहल गर्नुभयो । तपाईहरु अघि बढ्नुस्, आर्थिक स्रोत जुटाउनुस् भन्दै उहाँले दश लाख प्रदान गर्नुभयो ।’
‘आफूहरुले पनि चाहेको तर, आर्थिक स्रोत कसरी जुटाउने भन्नेमा दुविधा भइरहेका बेला माधवी शाहले हौसला दिदैँ उपलब्ध गराउनुभएको दश लाखले आज यो सपना पुरा हुँदैछ’ शाक्यले भने–‘भवन निर्माणका लागि सबै ठाउँ खोज्यौं, हे¥यौं मनकारी जग्गादाता भेटिनुभएन । शिवपार्वती मन्दिर व्यवस्थापन समितिलाई हाम्रो परोपकारी कामको बारेमा जानकारी गराएपछि समितिबाट दुई कठ्ठा जग्गा उपलब्ध भयो ।’
दुई कठ्ठा जग्गा र दश लाख प्राप्त भएपछि भवन निर्माणका लागि सेमराज शाक्यको संयोजकत्वमा ७ सदस्यीय समिति गठन भयो । जसको सहसंयोजक रविन्द्र कर्ण, सचिवमा बसन्त लामिछाने, कोषाध्यक्षमा अनिता शाह तथा सदस्यहरुमा मधुसुदन शर्मा रिजाल, कृष्ण श्रेष्ठ र चित्रबहादुर डाँगी रहेकाछन् ।
‘यो पुण्य कार्यका लागि उद्योगी, व्यवसायी, सामाजिक संघसंस्था, समाजसेवी, नागरिकसमाज तथा सर्वसाधरणसँग आवश्यक सहयोग प्राप्त गर्दै स्रोत जुटाइरहेकाछौं’ संयोजक शाक्यले भने–‘हालसम्म माधवी शाहले दश लाख, नेपालगन्ज उपमहानगरपालिकाले ६ लाख, हिरामणी भण्डारी र कोषाध्यक्ष अनिता शाहबाट ५–५ लाख सहयोग प्राप्त भएकोछ ।’
उनका अनुसार भवन निर्माणका चरणमा हालसम्म ठूलो धनराशी उनीहरुबाट नै प्राप्त भएको छ । यद्यपी थुप्रै मनकारी ब्यक्ति, संघसंस्थाबाट सहयोग प्राप्त भइरहेको उनले बताए ।
यतिबेला भवन निर्माणका लागि करिब २० लाख अपुग रकम संकलनका लागि समितिका संयोजक स्वयम बस्ती–बस्ती, टोल–टोल घरदैलो गर्दै सहयोग जुटाइरहेकाछन् ।
काठमाण्डौमा हरेक वडामा यस्तो किरियापुत्री घर भएको बताउँदै समितिका संयोजक शाक्य भन्छन्–‘हामीले यो भवन बनाउदै गर्दा यसको महत्व बुझेर नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१ को कार्यालयले किरियापुत्री घर बनाउन जग्गा दिने प्रतिबद्धता दिएकोछ । यसको महत्व धेरै छ । यस्तो किरियापुत्री घर प्रत्येक वडामा हुनुपर्छ, यसको निर्माण राज्यले नै गर्नुपर्छ ।’
निर्माणाधिन किरियापुत्री घरका लागि सहयोग गर्न आग्रह गर्दै समितिका संयोजक शाक्यले भने–‘यो धर्म, पुण्यको काम हो । यसमा सबै जोडिनुपर्छ । आफूले भ्याएसम्म सहयोग गर्नुपर्छ । सबैले थोरै–थोरै सहयोग गरेमा यसले छिटै पूर्णता पाउँछ ।’