आज सार्वजनिक बिदा दिने सरकारको निर्णय
नेपालगन्ज ३ मंसिर : पूर्व सभामुख स्व. दमननाथ ढुङ्गानाको अन्तिम बिदाइ राष्ट्रिय सम्मानका साथ गरिने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्व सभामुख ढुङ्गाना बिदाइ राष्ट्रिय सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।
साथै बैठकले ढुङ्गानाको शोकमा सोमबार सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ । बैठकले ढुंगानाको निधनमा गहिरो शोक र भावपूर्ण श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । बैठकले स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने पनि निर्णय गरेको गुरुङको भनाई छ ।
ढुङ्गानाको आईतबार दिउँसो ८३ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको थियो । ढुङ्गानाको पार्थिव शरीर सोमबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि सानो गौचरणमा राखिने पारिवारिक स्रोतले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली सानो गौचरणमा हुने ढुङ्गानाको श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुनेछन् ।
कलेजो सम्बन्धि समस्याबाट पीडित ढुंगाना उपचारका लागि अस्पताल भर्ना भएका थिए । नेपालको राजनीतिक आन्दोलन र संसदीय व्यवस्थाको विकासमा उनको योगदान उल्लेखनीय मानिन्छ ।
पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आईतबार दिउँसो ८३ वर्षको उमेरमा उनको निधन भएको हो ।
स्वर्गीय ढुङ्गानाका श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् । उनका छोरा डा. निमेष ढुंगाना बेलायतको म्यानचेस्टर युनिभर्सिटीमा अध्यापन गर्छन् । छोरा फर्कन समय लाग्ने भएकाले अन्त्यष्टि आज गर्न लागिएको हो । उनका अर्का छोरा निशेष र छोरी नीतिक नेपालमै छन् ।
२०४८ सालमा काठमाडौंबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि ढुंगाना गिरिजाप्रसाद कोइरालाको जोडबलमा सभामुख बनेका हुन् । वरिष्ठ अधिवक्ता ढुंगाना २०४८ सालदेखि २०५१ सालसम्म सभामुख बनेका थिए । उनी सरकार–माओवादी शान्तिवार्ताका सहजकर्तासमेत थिए ।