के हो एचपीभी खोप ?


सेतोखरी सेतोखरी   सोमबार, मंसिर ३, २०८१
के हो एचपीभी खोप ?

नेपालगन्ज ३ मंसिर : पाठेघरको मुखमा हुने क्यान्सरको बिरामीको सङ्ख्या र मृत्यु हुने सङ्ख्या नेपालमा बर्सेनी बढ्दै गएको छ । महिलामा हुने क्यान्सरमध्ये नेपालमा यो पहिलो स्थानमा र विश्वमा हुने क्यान्सरहरुमा यो चौथो स्थानमा छ ।

नेपालमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु भइरहेको तथ्याङ्क छ । ‘ग्लोबल क्यान्सर अब्जरभेटरी २०२२’ का अनुसार हरेक वर्ष नेपालमा दुई हजार एक सय ६९ जना महिलामा यस्तो क्यान्सर हुने अनुमान गरिएको छ । हरेक वर्ष एक हजार तीन सय १३ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने र औसतमा प्रत्येक दिन चार जना महिलाको यो क्यान्सरबाट मृत्यु हुने अनुमान छ ।

यो पनि पढ्नुहोस्  पाठेघर मुखको क्यान्सरबाट नेपालमा प्रत्येक दिन चार जनाको मृत्यु

पछिल्लो समय पाठेघरको मुखमा हुने क्यान्सरका कारण अकालमा मृत्यु हुनेको सङ्ख्या बढ्दो छ । उक्त जोखिम न्यूनीकरण गर्ने उद्देश्यले करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

आगामी माघ २२ गतेदेखि देशैभर पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको ‘एचपीभी खोप’ निःशुल्क दिइने भएको छ ।

चिकित्सकका अनुसार पाठेघरको मुखमा हुने क्यान्सरबाट बच्न सुरुवाती अवस्थामा उपचार गर्न सकिएमा यसबाट बच्न सकिन्छ । पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउन यस भाइरस विरुद्ध दिइने खोप नै एचपीभी हो । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपीभी नामक भाइरस हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार पाठेघरको मुखमा हुने क्यान्सरमध्ये ९५ प्रतिशतभन्दा बढी क्यान्सर एचपीभीले गराउँछ ।

नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभीको प्रजाति १६ र १८ बाट भएको देखिन्छ । यो रोगबाट बच्न एचपीभी खोप नै प्रमुख उपाय हो । यौनसम्पर्क भइनसकेका नौदेखि १४ वर्ष उमेर समूहका बालबालिकाका लागि विश्व स्वास्थ्य सङ्गठनले एचपीभीको खोप सिफारिस गरेको छ । यो खोप लगाएपछि क्यान्सर नै हुँदैन भन्ने नभए पनि जोखिमलाई धेरै हदसम्म घटाउँछ । क्यान्सर रोक्न नियमित स्क्रिनिङ आवश्यक रहने विशेषज्ञ चिकित्सकहरु बताउँछन् ।

सन् २०३० सम्म क्यान्सर निवारण गर्न विश्व स्वास्थ्य सङ्गठनले अन्तर्राष्ट्रिय रणनीति बनाएको छ । जसमा (९०–७०–९०) को लक्ष्य राखिएको छ । ९० प्रतिशत किशोरीलाई १५ वर्षको उमेरसम्म पूर्णरुपमा एचपीभी खोप लगाइसक्ने, ७० प्रतिशत महिलालाई ३५ वर्षसम्म एक पटक र ४५ वर्षसम्ममा पुनः परीक्षण गरिसक्ने, क्यान्सर पुष्टि भएका ९० प्रतिशत महिलाले उपचार पाउने र निको बनाउने लक्ष्य विश्व स्वास्थ्य सङ्गठनले लिएको छ ।