नेपालगन्ज ३ मंसिर : पूर्वसभामुख दमननाथ ढुङ्गानाको पशुपतिनाथस्थित आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले दिवङ्गत ढुङ्गानाको सम्मानमा सलामी अर्पण गरेको थियो । ढुङ्गानाको पार्थिव शरीरमा उनका छोराहरूले दागबत्ती दिएका थिए ।
यो पनि पढ्नुहोस् पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने
पूर्वसभामुख ढुङ्गानाका सम्मानमा १७ तोपको सलामीसमेत दिइएको थियो । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आईतबार दिउँसो निधन भएको थियो ।
पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्न सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, उपसभामुख इन्दिरा राना, पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री, मन्त्री गण, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, सांसद तथा विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्ति तथा सर्वसाधारण आर्यघाट पुगेका थिए ।
अस्पतालमा निधन हुनासाथ ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शव गृहमा राखिएकामा सोमबार बिहान ज्ञानेश्वरस्थित सानो गौचरणमा ल्याइ उनीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । प्रधानमन्त्री, सभामुख, नेपाली काँग्रेसका सभापतिसहित विभिन्न राजनीतिक दलका नेता सानो गौचरन पुगेर उहाँप्रति श्रद्धाञ्जली प्रकट गरेका थिए ।
नेपाल सरकारले सोमबार उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । उनको योगदानको सम्मान गर्दै सरकारले आज सोमबार सार्वजनिक बिदासमेत दिएको छ ।
नेपालमा बहुदलीय व्यवस्था, लोकतन्त्र, शान्ति र मानवअधिकारका पक्षमा जीवनपर्यन्त वकालत गरिरहनुभएका ढुङ्गानाले मुलुकमा विगतको माओवादी सशस्त्र द्वन्द्व अन्त्य गरी शान्ति बहाली गर्नसमेत महत्वपूर्ण भूमिका निर्वाह गरे । राजनीतिक क्षेत्रमा देखिएको विकृति र विसङ्गतिबारे स्पष्ट र खरो रुपमा प्रतिक्रिया दिँदै आएका उनी संविधान तथा कानूनका ज्ञाता हुन् ।
विसं २०४८ मा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनी प्रतिनिधिसभाको सभामुख बनका थिए । नेपालको संसदीय व्यवस्था र प्रजातान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न उहाँले ठूलो योगदान छ । विसं २०४७ को संविधान निर्माणका लागि गठित आयोगको सदस्यसमेत रहेका ढुङ्गाना मुलुकमा अहिले देखिएको राजनीतिक अस्थिरताको अन्त्य गर्दै सङ्घीयतालाई सबल बनाउन वर्तमान संविधान संशोधनका लागि कानूनका ज्ञाता र राजनीतिक व्यक्तित्वसँग छलफल चलाउँदै आएका थिए ।
स्वर्गीय ढुङ्गानाका श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् । उनका छोरा डा. निमेष ढुंगाना बेलायतको म्यानचेस्टर युनिभर्सिटीमा अध्यापन गर्छन् । उनका अर्का छोरा निशेष र छोरी नीतिक नेपालमै छन् ।
२०४८ सालमा काठमाडौंबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि ढुंगाना गिरिजाप्रसाद कोइरालाको जोडबलमा सभामुख बनेका हुन् । वरिष्ठ अधिवक्ता ढुंगाना २०४८ सालदेखि २०५१ सालसम्म सभामुख बनेका थिए । उनी सरकार–माओवादी शान्तिवार्ताका सहजकर्तासमेत थिए ।