बाँके राष्ट्रिय निकुञ्जमा मंसिर १५ गते सेनाको साईकल यात्रा


सेतोखरी सेतोखरी   सोमबार, मंसिर ३, २०८१
बाँके राष्ट्रिय निकुञ्जमा मंसिर १५ गते सेनाको साईकल यात्रा

नेपालगन्ज ३ मंसिर : नेपाली सेनाले ‘टुर दि बाँके नेशनल पार्क’ साइकल यात्रा गर्नेभएकोछ ।

नेपालगन्जको राँझास्थित श्री नम्बर ४ बाहिनी अड्डा इमामनगर ब्यारेकको प्रमुख आयोजनामा नेपाली सेनाले बाँके राष्ट्रिय निकुञ्जको पर्यटन प्रवर्धन गर्नका लागि ‘टुर दि बाँके नेशनल पार्क’ साइकल यात्रा गर्न लागेको हो ।

श्री नम्बर ४ बाहिनी अड्डा इमामनगर ब्यारेकका प्रमुख सेनानी दीपक गुरुङले बाँके राष्ट्रिय निकुञ्जलाई साइकल यात्रामार्फत व्यापक प्रचारप्रसार गरी देश विदेशसम्म त्यहाँको पर्यापर्यटनलाई उजागर गर्ने र प्रवर्धन गर्ने उद्देश्यले नेपाली सेनाले ‘टुर दि बाँके नेशनल पार्क’ कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।

‘बाँके राष्ट्रिय निकुञ्ज हाम्रै जिल्लाभित्र छ, कता–कता ओझेलमा परेकोजस्तो अनुभव हुने गरेको छ, यही निकुञ्ज भएर हजारौँ पर्यटकहरू बर्दिया राष्ट्रिय निकुञ्जसम्म पुग्छन्, निकुञ्जसँग जोडिएकै कोहलपुरमा सुविधा सम्पन्न होटलहरु छन्, नेपालगन्जमा छन्, निकुञ्जको नजिक राँझामा विमानस्थलसमेत अवस्थित छ’ प्रमुख सेनानी गुरुङले भने ।

Kanti Aarogya Hospital Nepalgunj

प्रचुर मात्रामा सम्भावना बोकेको बाँके निकुञ्जलाई पर्यटन प्रवर्धन गरी संसारभरी पुगाउने र आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने उद्देश्यसाथ यही मङ्सिर १५ गते शनिबार बिहान ‘टुर दि बाँके नेशनल पार्क’ कार्यक्रमको आयोजना गरिदैँछ ।

‘निकुञ्जको पर्यटनलाई प्रवर्धन गर्न र प्रमोसन गर्न निकुञ्जको भित्री कोर एरियामा १६ किलोमिटर साइकल यात्रामार्फत ‘टुर दि बाँके नेशनल पार्क’ हुनेछ’ गुरुङले भने, ‘ढिकेरीस्थित बच्चापुरको हात्तीसारबाट साइकल यात्रा सुरु गरेर निकुञ्ज भित्रको कोर एरिया हुँदै १६ किलोमिटर दूरी पार गरेर रणबम गण हे. क्वा. ओभरी पुगेर समाप्त हुनेछ ।’

बाँके राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको सहआयोजक रणबम गणका गणपति प्रमुख सेनानी प्रविन थापाले बाँके राष्ट्रिय निकुञ्जको सहकार्यमा ‘टुर दि बाँके नेशनल पार्क’ कार्यक्रम आयोजना गरिएको बताए । उनले हरेक वर्ष बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्वारासम्म साइकल यात्रा हुने गरेको भन्दै यस वर्ष बाँकेमै गर्न लागिएको जानकारी दिए ।

‘बाँके, बर्दिया, दाङ, सुर्खेत तथा बुटवलका करिब एकसय साइक्लिष्टको सहभागिता हुनेछ, ५० जना जति बाँके साइकल संघमार्फत् र नेपाली सेना लगायतबाट सहभागिता रहने छ’ थापाले भने । 

यस्तै बाँके साइकल सङ्घका अध्यक्ष गगन थापाले नेपाली सेनाको आयोजनामा साइकल सङ्घको समन्वयमा साइकल यात्रा हुन लागेको बताए । उनले ‘टुर दि बाँके नेशनल पार्क’ मा साइकल संघमार्फत् ५० जना साइक्लिष्टको सहभागिता रहने पक्का भइसकेको बताए ।

साइकल यात्रामार्फत बाँके निकुञ्जलाई चिनाउन ‘टुर दि बाँके नेशनल पार्क’ महत्त्वपूर्ण हुने बताए ।

‘टुर दि बाँके नेशनल पार्क’ कार्यक्रमले निकुञ्जको संरक्षण, वन्यजन्तु, चराचुरुङ्गी, ताल तलैया जलाशय, जडीबुटी, वनजङ्गल, बोट बिरुवालगायतको संरक्षण र प्रवर्धनमा टेवा पुराउने अपेक्षा गरिएको ४ बाहिनी अड्डाले जनाएको छ ।