नेपालगन्ज ६ मंसिर : सार्वजनिक स्थानमा फोहोर फालेपछि आशिर्वाद पेन्ट्स प्रालिलाई कारबाही गरिएकोछ । नेपालगन्ज उपमहानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फालेको भन्दै आशिर्वाद पेन्ट्स प्रालिलाई कारबाही गर्दै जरिवाना गराएको हो ।
आशिर्वाद पेन्ट्स प्रालिलाई नेपालगन्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम १० हजार रुपैयाँ जरिवाना गरेकोछ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१७ परसपुर र ढोडेँगाउँ बीचमा रहेको दोदरा नालामा सार्वजनिक स्थान दुर्गन्धित हुने गरी फोहोर फाल्ने ग.१ ख. ६४३ नम्बरको भ्यानलाई नियन्त्रणमा लिई अस्थायी ट्राफिक प्रहरी पोष्ट गनापुरले कारबाहीका लागि नेपालगन्ज उपमहानगरपालिकामा पठाएको थियो ।
अभिनब बर्माले सामाजिक सञ्जाल ‘फेसबुक’ मा सामग्री पोष्ट गरेर जानकारी गराए पश्चात नगर प्रहरीको पहलमा ट्राफिक प्रहरीले गाडी समातेको हो ।
नगर प्रमुख प्रशान्त विष्टले नेपालगन्ज उपमहानगरपालिकाले जथाभावी फोहोमैला फाल्ने विरुद्ध शून्य सहनशीलताको नीति लिएको बताउँदै लुकीछिपी फोहोर फालेको देखेमा जानकारी गराउन आग्रह गरे । विष्टले नगर सफा राख्नु सबै नगरबासीको साझा दायित्व भएको भन्दै फोहोरमैलाको उचित व्यवस्थापनका लागि सबै गम्भीर बन्नुपर्ने बताए ।