झण्डै तीन करोडमा ५२ परिवारको घर बनाउँदै राप्तीसोनारी


सेतोखरी सेतोखरी   ६ घण्टा अगाडि
झण्डै तीन करोडमा ५२ परिवारको घर बनाउँदै राप्तीसोनारी

नेपालगन्ज ७ मंसिर : आर्थिक स्थिति कमजोर भएका नागरिकका लागि बाँकेको राप्तीसोनारी गाउँपालिकाले घर बनाइदिन सुरु गरेकोछ । आर्थिक विपन्न परिवारका लागि गाउँपालिकाले घर बनाउने भएपछि लक्षित समुदायका परिवारले नयाँ घर पाउने भएका छन् । 

राप्तीसोनारी गाउँपालिकाले विशेष अनुदान अन्तर्गत गाउँपालिकामा विपन्न आवास कार्यक्रममार्फत् उक्त भवन निर्माण सुरु गरेको हो । 

आर्थिकरूपले विपन्न समुदायका नागरिकलाई नयाँ घर बनाइदिएर आगामी जेठ मसान्तभित्र हस्तान्तरण गर्ने गाउँपालिकाको तयारी छ । सो तयारी अनुरुप आज शुक्रबार राप्तीसोनारी गाउँपालिका–८ धरमोतीकी गंगा विकका लागि भवना शिलान्यास गरिएकोछ ।

गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेल र उपाध्यक्ष मनिषा सिंह थारुले गंगाका लागि भवन शिलान्यास गरे । गंगाको घरको शिलान्यस गर्दै गाउँपालिकाका अध्यक्ष पौडेलले पालिकामा विपन्न आवास कार्यक्रम शुरु भएको बताए । 

Kanti Aarogya Hospital Nepalgunj

राप्तीसोनारी गाउँपालिका वडा नम्बर–८ धरमोतीकी गंगा विकलाई नयाँ घर पाउने भएपछि खुसीको सीमा छैन । उनको परिवार अहिले धरमोतीमा कोठा भाडामा लिएर बस्दै आएको छ । गाउँपालिकाले बनाइदिन लागेको दुई कोठे घरमा बस्न पाउने भएपछि गंगाको मुहारमा छुट्ैट खुसी झल्किन्थ्यो । गाउँपालिकाले दुई कोठे पक्की घर बनाइदिने भएपछि उनले वर्षौदेखि भाडामा लिएर बस्नु पर्ने बाध्यताको अन्त्य हुनेछ । ‘सम्पतीको नाममा १२ धुर जग्गा छ । सासु आमा क्यान्सर पीडित हुनुहुन्छ । श्रीमानको मजदूरीले साँझविहानको जोहो टरेको छ’ उनले अगाडी  थपिन्–‘भाडामा बस्दा कोठा विजुलीवत्ती गरेर महिनाको दुई हजार खर्च हुन्छ । आफ्नै घर हुने भएपछि त्यो दुई हजार पनि बचत हुने भयो । आफ्नै घरमा बस्ने सपना पनि पूरा हुने भयो ।’ 

गंगा जस्तै घर नभएर अरुको घरमा बस्नु पर्ने बाध्यता भएका विपन्न समुदायलाई प्राथमिकतामा राखेर पालिकाले घर बनाइदिन थालेको गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले बताए । 

उनले संबिधानप्रदत आवास पाउनुपर्ने नागरिकको हकलाई पालिकाले कार्यान्वयनमा ल्याएको बताए । चालु आर्थिक वर्षमा गंगाको जस्तै पालिकामा ५२ वटा घर गाउँपालिकाले बनाइदिन थालेको अध्यक्ष पौडेलले सुनाए । उनले भने–‘यो वर्ष हामीले ५२ वटा घर बनाउँदैछौं । यो हाम्रो आफ्नै कार्यक्रम हो तर, केन्द्र सरकारको सहयोग छ ।’ विपन्न र आयस्तर कमजोर भएका परिवारको पहिचान गरेर विपन्न आवास कार्यक्रम कार्यान्वयनमा ल्याइएको उनले बताए । 

नयाँ घर पाउनेहरुमा आदिवासी, दलित तथा पिछडिएका समुदायका परिवारहरु रहेको गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले जानकारी दिइन् ।  उनले चालू आर्थिक वर्षमा ९ वटै वडामा ५२ वटा घर बनाउन लागिएको बताउँदै घरहरु गुणस्तरीय र भरपर्दो बनाउन ठेकेदारलाई निर्देशन समेत दिइन् । 

गाउँपालिकाका असिस्टेन्ट प्राविधिक दुर्गा केसीका अनुसार विशेष अनुदान अन्र्तगत २ करोड ८० लाखको लागतमा ५२ वटा घरहरु निर्माण गरिन लागेको बताए । 

एउटा घरको लागत ५ लाख ३७ हजार ५५५ रुपैयाँ रहेको बताउँदै उनले सो योजनामा बराण्डासहित दुई वटा पक्की कोठा र जस्ता पाताको छानो सहित शौचालय निर्माण गरिने बताए । शौचालय निर्माणका लागि सेफ्टी ट्यांकी भने घरधनी स्वयमले बनाउनुपर्ने उनले बताए । 

आगामी जेठ मसान्तभित्र सम्पन्न गर्ने गरी भवरभवानी निर्माण सेवा र सौगात कन्ट्रक्सन ठाकुरबाबा बर्दियाले उक्त घर निर्माणको ठेक्का पाएका छन् । भवरभवानीले २१ वटा र सौगातले ३१ वटा घर बनाउनेछन् ।सौगातले वडा नं.३, ४, ५, ६ र ७ मा ३१ वटा र भवरभवानीले वडा नं.१, २, ८ र ९ मा २१ वटा घर बनाउने सम्झौता छ । 

भवरभवानी निर्माण सेवाका सञ्चालक सुरेन्द्र पौडेलले सम्झौता अवधिमै घरहरु निर्माण गरेर हस्तान्तरण गरिने प्रतिवद्धता जनाए । उनले भने–‘गाउँपालिकासँग भएको सम्झौताअनुसार निर्माण सकेर जेठ मसान्तभित्र सबै घर हस्तान्तरण गछौं । गुणस्तरीयतामा कुनै सम्झौता हुदैन् ।’