कोहलपुर नगर अस्पतालमा स्वास्थ्य वीमा शुरु, रेफरलका लागि अस्पताल धाउने बाध्यताको अन्त्य


सेतोखरी सेतोखरी   ५ घण्टा अगाडि
कोहलपुर नगर अस्पतालमा स्वास्थ्य वीमा शुरु, रेफरलका लागि अस्पताल धाउने बाध्यताको अन्त्य

नेपालगन्ज ८ मंसिर : कोहलपुर नगर अस्पतालले स्वास्थ्य वीमा कार्यक्रम शुरु गरेको छ ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गत साउन २५ गते कोहलपुर नगर अस्पतालमा वीमा कार्यक्रम उद्घाटन गरेका थिए । भदौ १ गतेबाट सेवा दिने तयारी गरिएपनि प्राविधिक कठिनाईका कारण ढिलो गरी सेवा सुरु भएको हो ।

कोहलपुर नगरपालिकाको लागि बहुप्रतिक्षित कार्यक्रम, वीमितहरुको गुनासोलाई ध्यानमा राख्दै, बनकटवा लगायत अन्य अस्पतालमा रेफरलका लागि जानु पर्ने बाध्यताको अब अन्त्य हुने विश्वास गरिएको छ ।

सेवा सुरु भएको पहिलो दिन बिहीबार पाँच जनाले सेवा लिएको कोहलपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले बताए । कोहलपुर नगरपालिकाले लामो समयदेखि गरिरहेको प्रयासले सार्थकता पाएको भन्दै कार्यबाहक नगरप्रमुख संगिता सुवेदीले खुसी व्यक्त गरिन् ।

उनले स्वास्थ्य सेवा उपयोगको क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रिम व्यवस्थापन गर्दै वित्तीय संरक्षण प्रदान गर्ने अवधारणा अन्तर्गत सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम स्वास्थ्य वीमा कार्यक्रम रहेको उनको भनाइ छ ।

Kanti Aarogya Hospital Nepalgunj

स्वास्थ्य वीमा बोर्डको नमुना स्थानीय तह घोषणा कार्यविधि–२०७८ ले निर्देशित गरेका सम्पूर्ण मापदण्ड पूरा गर्दै कोहलपुर नगरपालिकाले नगर अस्पतालबाट वीमा कार्यक्रम शुरु गरेको हो ।

यसअघि स्वास्थ्य वीमा कार्यक्रममा आवद्ध नगरभित्रका नागरिकलाई बैजनाथ गाउँपालिका पुग्नुपर्ने बाध्यता थियो । वीमा कार्यक्रम शुरु भएपछि अब कोहलपुरसंगै पायक पर्ने अन्य पालिकाका नागरिकलाई समेत सहज हुने भएकोछ ।