बाँके राष्ट्रिय निकुञ्ज पर्यटकलाई घुम्न सहज


सेतोखरी सेतोखरी   ४ घण्टा अगाडि
बाँके राष्ट्रिय निकुञ्ज पर्यटकलाई घुम्न सहज

नेपालगन्ज ६ मंसिर : बाँके राष्ट्रिय निकुञ्ज ऐतिहासिक नगरी नेपालगन्ज शहरबाट सबैभन्दा नजिकमा पर्छ । स्थल र हवाई यातायातका दृष्टिकोणले सुगम मानिने भएकाले निकुञ्जमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सहज हुने पर्यटनकर्मी बताउँछन् । गर्मीयामको समयमा निकुञ्जभित्र वन्यजन्तुलाई पिउने पानीको अभाव हुन नदिन निकुञ्जले कृत्रिम पोखरीहरु निर्माण गरेको छ ।

स्थापनाको १३ वर्षसम्म निकुञ्ज क्षेत्रमा संरक्षणसँगै पुर्वाधार निर्माणको काम भएको र गतवर्षदेखी पर्यटन प्रवद्र्धनको कामलाई केन्द्रमा राखिएको कार्यालयले जनाएको छ । दुर्लभ वन्यजन्तु पाटेबाघ संरक्षण गर्ने उद्देश्यले २०६७ असार २८ गते स्थापना भएको यो मुलुककै कान्छो राष्ट्रिय निकुञ्ज हो । यसको क्षेत्रफल ५ सय ५० वर्ग किलोमिटर रहेको छ ।

स्वदेशी तथा विदेशी पर्यटकका लागि बाँके राष्ट्रिय निकुञ्जले यसवर्ष पनि जंगल सफारी खुला राखेकोछ । तिहार सकिएपछि निकुञ्जभित्र रहेको वनपथ (बाटो) वरिपरीको झाडी सफा गरेर पर्यटकलाई औपचारिक रुपमा प्रवेश गराउने योजना रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिए । ‘निकुञ्जभित्र सफारी त खुला नै छ, पर्यटकलाई जंगलभित्र प्रवेश गराउनुअघि वनपथ वरिपरीको झाडी सफा गर्ने योजना छ,’ उनले भने । 

घुम्न आउने पर्यटकका लागि निकुञ्ज मुख्यालय ओभरी र कोहलपुरस्थित सेक्टर कार्यालयबाट टिकट काट्ने ब्यवस्था मिलाइनेछ । प्रमुख संरक्षण अधिकृत कँडेलका अनुसार निकुञ्ज क्षेत्रमा पर्यटकले दुर्लभ पाटेबाघ सहित आहारा प्रजातीका वन्यजन्तु अवलोकन गर्न सक्नेछन् । निकुञ्जभित्र अन्य वन्यजन्तुको संख्या पनि ह्वात्तै बढेको कर्मचारी बताउँछन् । 

Kanti Aarogya Hospital Nepalgunj

निकुञ्जभित्र वन्यजन्तुलाई अवलोकन गर्नका लागि ठाउँ–ठाउँमा मचान, घाँसे मैदान, कृत्रिम पोखरी, वनपथ जस्ता पुर्वाधार निर्माण गरिएको छ । पर्यटनलाई केन्द्र विन्दुमा राखेर काम भइरहेको कार्यालयले जनाएको छ । ‘निकुञ्जमा पर्यटकहरु घुम्न आउनु भयो भने हामीले कुनैपनि कुराको कमी हुन दिनेछैनौं,’ कँडेलले थपे ।

नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता अनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले स्थापना गरेको थियो । बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग कि.मि. क्षेत्र समेटेर नेपालको दशौं राष्ट्रिय निकुञ्जको रूपमा बाँके राष्ट्रिय निकुञ्जको स्थापना भएको थियो ।

निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, उत्तर चुरे पर्वत र दक्षिण पूर्व–पश्चिम राजमार्ग रहेको छ । निकुञ्जमा पाटेबाघ र हात्तीको महत्वपूर्ण वासस्थानको रूपमा रहेको छ । जैविक विविधताको दृष्टिले ८ वटा इकोसिष्टम, १ सय २४ वनस्पति प्रजाति, ३२ प्रजातिका स्तनधारी, ३ सय भन्दा बढी प्रकारका चराका प्रजाति, ५८ प्रजातिका माछा, २२ सरीसृप तथा ६ प्रकारका उभयचर पाइन्छन् ।

पछिल्लो समयमा पाटेबाघको संख्या २५ भन्दा बढी रहेको बताइन्छ । यस्तै ११ प्रजातिका दुर्लभ तथा संकटापन्न स्तनधारी र ५० प्रजातिका अन्तर्राष्ट्रिय स्तरमै दुर्लभ चरा रेकर्ड गरिएका छन् । बाँके, दाङ र सल्यान जिल्लाको ३४३ वर्ग कि.मि.लाई निकुञ्जको मध्यवर्ती क्षेत्रका रुपमा छुट्याइएको छ ।