नेपालगन्ज ९ मंसिर : अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादव नियुक्त भएकी छन् । आईतबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई अस्ट्रेलियाको राजदूत नियुक्त गरेका हुन् ।
संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई अस्ट्रेलियाका लागि आवसीय राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ । यादव गत १६ असोजमा बसेको संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएकी थिइन् ।
यो पनि पढ्नुहोस् नेविसंघको कोषाध्यक्ष हुँदै पार्टी राजनीतिमा प्रवेश गरेकी चित्रलेखा अस्ट्रेलियाको राजदूतमा सिफारिस
मन्त्रिपरिषद् बैठकले गत साउन १६ मा १८ देशका लागि राजदूत सिफारिस गर्दा समावेशी नभएपछि सरकार आलोचित बनेको थियो । राजदूत सिफारिस गर्दा समावेशीता लागु गर्न नसकिएको प्रति संसदीय समितिमा उपस्थित भएर परराष्ट्र मन्त्री आरजु राणाले माफीसमेत मागेकी थिइन् ।
सरकारले राजदूत सिफारिस गर्दा दलित, मधेशी, मुस्लिम समुदायबाट परेका थिएनन् । मधेशी मूलबाट राजदूत नगराएको प्रति उठेको चासो सम्बोधन हुने गरी सरकारले यादवको नाम सिफारिस ग¥यो । सत्ता गठबन्धनमा भागबण्डा हुँदा अस्ट्रेलियाको राजदूत नेपाली काँग्रेसको भागमा परेको थियो । यसअघि अस्ट्रेलियाको राजदूतमा कान्ता रिजालको नाम सिफारिस भएको थियो । तर, अन्तिममा रिजालको नाम फिर्ता भएको थियो ।
काँग्रेस पार्टी सभापति शेर बहादुर देउवानिकट मानिएकी नेतृ यादव यसअघि शिक्षामन्त्री भइसकेकी छिन् । उनी पार्टीको कोषाध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेकी छिन् । २०७९ को निर्वाचनमा भने उनी जसपा, नेपालका राजकिशोर यादवसँग पराजित भएकी थिईन् ।
सिराहामा जन्मिएकी उनी सुशील कोइराला प्रधानमन्त्री भएको बेला शिक्षामन्त्री भएकी थिइन । मधेस प्रदेशको भुगोलको महिला तर्फबाट केन्द्रिय सदस्यमा निर्वाचित भएकी उनले गीता यादवलाई पराजित गरेकी थिइन ।
संसदीय दलको प्रमुख सचेतक भइसकेकी उनलाई परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवाले राजदूतका लागि नाम सिफारिस गरेकी थिइन ।
लोकतान्त्रिक आन्दोलन र काँग्रेसको संगठन निर्माणमा लामो अनुभव संगालेकी उनले ०६२–०६३ को जनआन्दोलनका क्रममा विघटति प्रतिनिधिसभाको सडकमा अधिवेशन चल्दा तत्कालिन उपसभामुख उनले सडकमै अधिवेशन चलाएकी थिइन् ।
तत्कालिन सभामुख तारानाथ रानाभाटले सो आन्दोलनलाई समर्थन नगरेकाले सडक संसदको सभामुख यादव भएकी थिइन् । जनआन्दोलनपछि संसद पुनःस्थापित भयो । तर, सभामुख भने यादव हुन पाइनन् ।
काँग्रेसको उच्च तहमा बसेर राजनीति गरेकी यादवलाई राजदूत बनाएर पठाएपछि उनको सक्रिय राजनीतिक करिअर अब के हुन्छ भन्ने जिज्ञासा उठेको छ । यादवको आफैंले भने राजदूतको भूमिका निभाइसकेपछि पनि आफू सक्रिय राजनीतिमै रहने दाबी छ ।
सिरहाबाट २०३६ सालदेखि काँग्रेसको राजनीतिमा संलग्न ५९ वर्षीया यादव सभापति शेरबहादुर देउवा पक्षीय हुन् । नेविसंघको त्रिभुवन विश्वविद्यायलयको कोषाध्यक्ष हुँदै उनी पार्टी राजनीतिमा प्रवेश गरेकी थिइन् । काँग्रेसकोे १४ औं महाधिवेशनमा मधेशबाट महिलातर्फको केन्द्रिय सदस्यमा निर्वाचित भएकी थिइन् ।