नेपालगन्ज १० मंसिर : नेपाल प्रहरीका ८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् । आईतबार बेलुका बसेको बढुवा समितिको बैठकले जनपदतर्फ रिक्त ८ डीआईजीमा बढुवाका लागि सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव एआईजी टेकप्रसाद राईले जानकारी दिए ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको ब्याचका तीन जना र राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि नेपाल प्रहरीमा ल्याइएको टोलीबाट ५ जना डीआईजीमा बढुवा भएका हुन् ।
यसपटक डीआईजी बढुवा भने वरिष्ठताक्रम अनुसार भएको छ । आईजीपी कुँवरको ब्याचका ध्रुवबहादुर राउत, भोलाबहादुर रावल र गणेश चन्दलाई क्रमशः पहिलो दोस्रो र तेस्रो नम्बरमा बढुवाका लागि सिफारिस गरिएको छ ।
यस्तै राष्ट्रिय अनुसन्धान विभागबाट आएको टोलीबाट सिद्धि विक्रम शाह, सुशिल सिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालय कुमार श्रेष्ठ र डम्बरबहादुर बिक डीआईजीमा सिफारिस भएका छन् ।
उनीहरु २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएका हुन् । डीआईजीका लागि लविइङ गरिरहेका २०५४ सालका प्रहरी निरीक्षकहरु भने यस पटक छुटेका छन् । यो ब्याचका तीन जना भने यसअघि नै डीआईजीमा बढुवा भइसकेका छन् । डीआईजीहरु दानबहादुर कार्की, मनोजकुमार केसी र राजन अधिकारी २०५४ को ब्याचका हुन् ।
उनीहरु पनि यो टोलीसँगै एसएसपीमा बढुवा भएका थिए । तर, डीआईजीमा अगाडी लागेका हुन् । अघिल्लो पटक राष्ट्रिय अनुसन्धान विभागबाट आएको टोलीलाई छुटाए पनि यसपटक उनीहरुलाई प्राथमिकता दिएर बढुवा गरिएको छ ।