सडकमा फोहोर फाल्ने अंकित मेडिकललाई ५ हजार रुपैयाँ जरिवाना


सेतोखरी सेतोखरी   मंगलबार, मंसिर ११, २०८१
सडकमा फोहोर फाल्ने अंकित मेडिकललाई ५ हजार रुपैयाँ जरिवाना

नेपालगन्ज ११ मंसिर : नेपालगन्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई कारबाही गर्न थालेको छ ।  सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई निरुत्साहित गर्ने उद्देश्यले कारबाही गर्न थालिएको हो । आज विहान मात्रै सडकमै स्वास्थ्यजन्य फोहोर फालेपछि मेडिकललाई जरिवाना गराइएको छ । 

भेरी अस्पताल अगाडी रहेको अंकित मेडिकल हल तथा अंकित अल्ट्रासाउण्डलाई सडकमा फोहोर फालपछि ५ हजार रुपैयाँ जरिवाना गरिएको नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीले बताए ।

यो पनि पढ्नुहोस् सार्वजनिक स्थानमा फोहोर फाल्ने आशिर्वाद पेन्ट्सलाई १० हजार जरिवाना

स्वास्थ्य महाशाखा र नगर प्रहरीको टोलीले निरीक्षणका क्रममा सडकमै स्वास्थ्यजन्य फोहोर फालेको पाएपछि ‘नेपालगन्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५’ बमोजिम जरिवाना तिराएर कारबाही गरेको बोगटीले बताए । 

Kanti Aarogya Hospital Nepalgunj

स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, फार्मेसी अधिकृत डा. अस्मित आचार्य तथा नगर प्रहरी प्रमुख बोगटी र नगर प्रहरी सहायक निरीक्षक पवन कनोजियासहितको टोली विहान अनुगमनमा गएको थियो ।

यसअघि पनि एक साता अघि मात्रै नेपालगन्ज उपमहानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फालेपछि नेपालगन्जस्थित आशिर्बाद पेन्ट्स प्रालिलाई १० हजार रुपैयाँ जरिवाना गरेको थियो । 

नगरलाई सफा, स्वच्छ र सुन्दर बनाउन सचेतना प्रबद्र्धन गर्दै आएको नेपालगन्ज उपमहानगरपालिकाले पछिल्लो समय कारबाही समेत गर्न थालेको छ । नगर प्रमुख प्रशान्त विष्टले जथाभाबी फोहोर फाल्नेलाई कडा कारबाही गरिने उल्लेख गदै फोहोरविरुद्ध शून्य सहनशिलताको नीति अबलम्बन गरिएको बताए ।