नेपालगन्ज १२ मंसिर : पार्टीको निलम्बनमा परेका नेकपा एमालेका नेता एवं लुम्बिनी प्रदेशसभा सदस्य दुर्गा चौधरीले आफूलाई व्यक्तिगत इगो संगालेर निलम्बन गरिएको प्रतिक्रिया दिएका छन् ।
यो पनि पढ्नुहोस् लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा एमालेद्वारा निलम्बित
पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई सामाजिक सञ्जालबाट मानहानी गरेको भन्दै एमाले बाँकेले मंगलबार चौधरीलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरेको थियो । तर, चौधरीले सामान्य विषयलाई ठूलो बनाइएको बताए ।
आफूलाई इगोको रूपमा कारबाही गरेजस्तो गरिएको बताउँदै सबै विषय प्रदेश कमिटीमा राख्ने चौधरी बताउँछन् । चौधरी एमालेको लुम्बिनी प्रदेश समितिका पूर्वउपसचिव तथा हालका सल्लाहकार हुन् ।
माओवादी पृष्ठभूमिबाट एमालेमा आएका चौधरी बाँके क्षेत्र नम्बर–१ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी लुम्बिनी प्रदेशका पूर्व वनमन्त्री समेत हुन् । चौधरीलाई कारबाही गरिएपछि एमाले बाँकेको विवाद सतहमा आएको छ ।
चौधरीले सामाजिक सञ्जालमार्फत पनि निलम्बनबारे प्रतिक्रिया दिएका छन् ।
‘सुनिर समूहको चुरिफुरी हेर्न लायक छ । संविधान र कानूनभन्दा माथि रहेको राजा फाल्न ज्यानको आहुती दिन हिँडेको मान्छे हुँ । पदको भिक्षा माग्दैन र जनतासित गद्दारी गर्दैन । समय आयपछि इँटाको जवाफ पत्थरले दिनेछु र राज्यमा आवाज नपुग्ने समुदायको आवाज सदैव बोलिरहने छु’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।