नेपालगन्ज १२ मंसिर : बाँकेको नरैनापुर गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरीको सरुवा रोक्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको छ ।
गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजुकुमार गुप्तासँग फोनमा कुरा गरेर प्रमुख प्रशासकीय अधिकृत चौधरीको सरुवा रोक्न अनुरोध गरेका हुन् ।
नरैनापुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत चौधरीलाई सरुवा गर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णय कानून विपरीत भएर त्रुटिपूर्ण भएको भन्दै गाउँपालिकाका अध्यक्ष शाहले उक्त निर्णय बदर गरिदिन मन्त्री गुप्ता र सचिव भरतमणी सुवेदीसँग अनुरोध गरेको बताए ।
नरैनापुरका अध्यक्ष शाहले भने, ‘निजामती सेवा ऐन, २०४९ को दफा १८ को उपदफा ३ मा ‘निजामती कर्मचारीको सरुवा गर्दा सम्बन्धित अख्तियारवालाले सामान्यतः वर्षमा एक पटक कम्तीमा दुई वर्षको लागि सरुवा गर्नु पर्दछ’, भन्ने व्यवस्था रहेको छ।
मन्त्रालयले २०८१ मङ्सिर ९ मा चौधरीलाई सरुवा गर्दै उनको ठाउँमा प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीलाई खटाएको छ । चौधरीको सरुवा कानून विपरीत भएको अध्यक्ष शाहले बताउँदै आएका छन् । अध्यक्ष शाहले स्थानीय नागरिक र कर्मचारी नै आन्दोलनमा होमिएकोले ओलीलाई हाजिर गराउन नसक्ने जानकारी गराए ।