स्थानीय तह उपनिर्वाचन : बर्दियासहित लुम्बिनीमा पाँच पदका लागि मतदान

दुई दिन भित्रै उपनिर्वाचनको परिणाम सार्वजनिक गर्ने आयोगको तयारी


सेतोखरी सेतोखरी   आइतबार, मंसिर १६, २०८१
स्थानीय तह उपनिर्वाचन : बर्दियासहित लुम्बिनीमा पाँच पदका लागि मतदान

नेपालगन्ज १६ मंसिर : स्थानीय तह उपनिर्वाचन अन्र्तगत आज बर्दियासहित लुम्बिनी प्रदेशमा पाँच पदका लागि मतदान भइरहेकोछ । बिहान ७ बजेबाट शुरु भएको मतदान शान्तिपूर्ण चलिरहेकोछ । लुम्बिनीमा उपनिर्वाचन अन्र्तगत ६ पदमा मनोनयन दर्ता गरिएको थियो । जसमध्ये एक स्थानमा निर्विरोध निर्वाचित भएपछि पाँच वटा पदका लागि निर्वाचन भएको हो ।

उपनिर्वाचनका लागि एक उपाध्यक्षसहित पाँच वडाध्यक्ष पदका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका थिए । जसमध्ये एक वडा अध्यक्ष निर्विरोध निर्वाचित भइसकेका छन् ।

बर्दियाको ठाकुरबाबा नगरपालिका– ४ को वडाध्यक्ष पदका लागि ६ दलका उम्मेदवार चुनावी मैदानमा छन् । काँग्रेसबाट अमिन थारू, माओवादी केन्द्रबाट शेरबहादुर थारू, नागरिक उन्मुक्ति पार्टीबाट प्रीतिलाल थारू, राप्रपाबाट रत्नबहादुर शाही, रास्वपाबाट बासुदेव शर्मा र नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी) बाट विष्णुप्रसाद देवकोटा चुनावी प्रतिस्पर्धामा छन् ।

यो पनि पढ्नुहोस्  स्थानीय तह उपनिर्वाचन : ठाकुरबाबा–४ को अध्यक्षका लागि ६ दलको मनोनयन दर्ता

Kanti Aarogya Hospital Nepalgunj

यो वडामा यसअघि काँग्रेसका सूर्यबहादुर बिष्ट निर्वाचित भएका थिए । उनी जिल्ला पार्टी सभापति भएपछि कार्यवाहक वडाध्यक्ष अमिन थारूलाई दिएका थिए । अमिन थारूले केही समयअघि कार्यवाहक वडाध्यक्ष पदबाट राजीनामा दिएर अहिले फेरि वडाध्यक्ष पदका लागि उम्मेदवार बनेका हुन् ।

उपनिर्वाचन अन्र्तगत रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदका लागि सात जना प्रतिस्पर्धामा छन् । काँग्रेसको चुनाह चिन्हबाट एमालेकी केशकुमारी तुलाचन, माओवादी केन्द्रबाट नरपुरा बुढा, नेकपा (एकीकृत मार्कसवादी लेनिनवादी)बाट सुनिता बुढा मगर, स्वतन्त्र रूपमा कोपिला पुन बुढा, भिमकुमारी पुन, मोहनभक्त बुढा र श्रीदेवी सुना (बिक) चुनावी प्रतिस्पर्धामा छन् । काँग्रेसको रुख चिह्नबाट चुनाव लड्ने गरी उम्मेदवार बनेकी तुलाचन एमाले जिल्ला कमिटी उपसचिव हुन् ।

गत स्थानीय तह निर्वाचनमा यहाँ माओवादी केन्द्रकी भुपेन्द्रा बुढा निर्वाचित भएकी थिइन् । उनको भदौ २८ गते सवारी दुर्घटनामा मृत्यु भएको थियो ।

रुकुम(पूर्व)को पुथाउत्तरगंगा गाउँपालिका– २ को उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । यहाँ वडा अध्यक्ष चयनकालागि मतदान हुनेछैन । वडा अध्यक्ष पदमा जगत घर्ती (काजु) निर्विरोध निर्वाचित भएका हुन् । काँग्रेस र एमालेको तर्फबाट उम्मेदवारी दिएकाले उम्मेदवारी फिर्ता लिएपछि घर्ती निर्विरोध भएको घोषणा गरिएको थियो ।

रोल्पाको रून्टीगढी गाउँपालिका– ४ मा वडा अध्यक्षका लागि ६ जना प्रतिस्पर्धामा छन् । नेपाली काँग्रेसबाट भूपमणि पुन मगर, नेकपा एमालेबाट बेगम पुन मगर, नेकपा माओवादी केन्द्रबाट नरेशजंग सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)बाट पहलबहादुर वली, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट हिमबहादुर पुन र मंगोल नेसनल अर्गनाइजेसनबाट पूर्णबहादुर बुढा मगर चुनावी प्रतिस्पर्धामा छन् । यो वडामा यसअघि काँग्रेसका टंकबहादुर पुन निर्वाचित भएका थिए । उनको उपचार क्रममा काठमाडौँमा मृत्यु भएको थियो ।

गुल्मीको मुसिकोट नगरपालिका– १ को वडाध्यक्ष पदका लागि तीन स्वतन्त्रसहित आठ जनाले चुनावी दौडमा छन् । काँग्रेसबाट आनन्द श्रेष्ठ, एमालेबाट दलबहादुर थापा, माओवादी केन्द्रबाट दुर्गाबहादुर बिक, रास्वपाबाट विकास थापा, राप्रपाबाट ईश्वरी खाती क्षेत्री, स्वतन्त्र रूपमा कुलबहादुर थापा, योगेन्द्र खरेल र पोमानन्द खरेलले चुनावी मैदानमा छन् । 

यसअघि यहाँ नेपाली कांग्रेसका मोहन घिमिरे निर्वाचित भएका थिए । उनले आत्महत्या गरेपछि रिक्त स्थानमा पुनः निर्वाचन हुन लागेको हो । कपिलवस्तुको शुद्धोधन गाउँपालिका– १ को वडाध्यक्ष पदका लागि १४ जना मैदानमा छन् ।

काँग्रेसबाट दिनेशकुमार यादव, माओवादी केन्द्रबाट रफि मोहम्मद मुसलमान, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अवधेशकुमार चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट इनताज मोहमद धोबी, जनता समाजवादी पार्टी नेपालबाट रामबहादुर कुर्मी चौधरी, जनमत पार्टीबाट सीताराम पटेल कुर्मी, नागरिक उन्मुक्ति पार्टीबाट सूर्यकुमारी चौधरी थारू, जनता समाजवादी पार्टीबाट रमेशकुमार पाण्डे, नेकपा (एकीकृत समाजवादी) बाट सुब्बा थारू र नेकपा (एकीकृत मार्कसवादी लेनिनवादी) बाट मोहम्मद ताहिर मुसलमान चुनावी मैदानमा छन् ।

यहाँ स्वतन्त्र रूपमा अब्दुल मुयिद, अब्दुल अब्बल फकिर, पुजारी थारू, सर्वजित मल्लाह गरी चार जना चुनवी दौडमा छन् । यसअघि यहाँ काँग्रेसका तिलकराम यादव निर्वाचित भएका थिए । उनको ब्रेनट्युमरका कारण मृत्यु भएको थियो ।

दुई दिन भित्रै उपनिर्वाचनको परिणाम सार्वजनिक गर्ने आयोगको तयारी

निर्वाचन आयोगले उपनिर्वाचनको मत परिणाम दुई दिनभित्र आइसक्ने बताएको छ । आईतबार बिहानदेखि शुरू भएको मतदानको अन्तिम नतिजा सोमबार अबेरसम्ममा आइसक्ने आयोगले जनाएको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर १७ गतेभित्रै मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको बताए । स्थानी राजनीतिक दलका प्रतिनिधिले सहयोग गरे सोमबार अबेरसम्ममा परिणाम सार्वजनिक गर्ने आयोगको भनाइ छ । 

आयोगले एउटा मात्रै केन्द्र रहेको वडामा मतदानलगत्तै मतगणना गर्ने योजना बनाएको छ । वडामा एकभन्दा बढी मतदान केन्द्र भएका स्थानमा भने मतपेटिका एकै ठाउँमा ल्याउनुपर्ने भएकाले मतगणना केही ढिलो हुनसक्ने छ । 

४१ पदका लागि मतदान जारी छ। उपनिर्वाचनले नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ जनालाई निर्वाचित गर्ने छन् । रिक्त ४४ पदमध्ये तीन पदमा भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । निर्वाचनको मतपरिणाम आयोगको वेबसाइटबाट हेर्न सकिने आयोगले जनाएको छ  ।