नेपालगन्ज १७ मंसिरः नेपालगन्ज उपमहानगरपालिकाका महिला जनप्रतिनिधिलाई सशक्तिकरण गर्न कानून सिकाइँदैछ । महिला कार्यकारिणी सदस्य तथा वडा सदस्यहरुलाई आवश्यक कानून बारे सचेत गराउन दुई दिने तालिमको आयोजना गरिएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले नयाँ कानून प्रणाली, यौनिकता, महिलाको कानुनी अधिकार, संविधान र सीआइडीएको प्रावधानहरू अर्थात् महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य गर्ने महासन्धि, १९७९ र संयुक्त राष्ट्र संघको प्रस्ताव नं १३२५ र १८२० बाट सुरु हुने जानकारी दिनेछ ।
प्रमुख महिला विकास अधिकृत मञ्जु पाण्डेका अनुसार नेपालगन्ज उपमहानगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा महिला प्रतिनिधिहरुलाई सचेत गराई उनीहरुलाई सक्षम बनाउन तथा क्षमता विकास गर्न तालिमको आयोजना गरिएको हो ।
यौन हिंसा विरुद्धको १६ दिने अभियान ‘हामी सबैको प्रतिबद्धता ः लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ मनाइँदैछ ।
कार्यक्रममा तालिमा नेपालगन्ज उपमहानगरपालिकाका महिला कार्यकारीणी सदस्य, सबै महिला वडा सदस्य, विभिन्न सम्बन्धित शाखामा कार्यरत कर्मचारी, केही सरोकारवाला संघसंस्थाका प्रतिनिधिलगायत ५० जनाको सहभागिता रहेको थियो ।
तालिममा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, नेपालगन्ज उपमहानगरपालिकाका निवर्तमान उपप्रमुख उमाथापा मगर चन्द, वरिष्ठ अधिवक्ता लोकबहादुर शाह, अधिवक्ता वसन्त गौतम र सुनिता शर्मा तथा महिला विकास अधिकृत पाण्डेले सहजीकरण गरेका छन् ।