नियमित रगत दाताले नै रक्तदान गर्न छाडे
नेपालगन्ज १८ मंसिर : तीन प्रदेशको स्वास्थ्य हबका रूपमा परिचित बाँकेमा पछिल्लो समय रगत अभाव खड्एिको छ । रगत अभाव खड्किएपछि रक्त सञ्चार केन्द्रलाई माग बमोजिम रगत उपलब्ध गराउन हम्मे–हम्मे भएको छ । रक्तदानको भरमा रहेको ब्लड बैङ्कमा माग अनुसार रगत नहुँदा उपचाररत बिरामी छटपटाई रहेकाछन् ।
नियमति रक्तदान नहुनु र माग बमोजिमको रगत व्यवस्थापन नहुँदा बिरामीका आफन्तले नै रगतको व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको प्रादेशिक रक्तसञ्चार केन्द्रले जनाएको छ ।
दशैंतिहार जस्ता ठूला चाडबाट सकिएर चिसो मौसम शुरु भएसँगै बाँकेमा रगत अभाव खड्किएको छ । अन्य समयको तुलनामा जाडोको मौसममा कम रक्तदान हुने हुँदा पनि रगत अभाव बढेको हो ।
एकातिर नियमित रगत संकलनको कार्य प्रभावित बनेको छ भने अर्कोतर्फ रगतको माग पनि बढ्दै गएकोछ । जसका कारण रगत पु¥याउनै समस्या हुँदा बिरामी र उनका आफन्तले सास्ती भोग्नुपरेकोछ ।
‘रेडक्रसले नेपालगन्ज, कोहलपुर र खजुराबाट रगत्त उपलब्ध गराइरहेकोछ । यी तीनवटै केन्द्रबाट दिनहुँ ६०–७० पिन्ट रगत खपत भइरहेकोछ । एउटै विरामीले ४ पिन्ट सम्म रगत खपत गरिरहेको केन्द्रको आँकडा छ । यस्तोमा माग अनुसारको रगत उपलब्ध नहुँदा विरामी र उनका आफन्तले सास्ती भोग्नुपरेकोछ’ नेपाल रेडक्रस सोसाइटीको प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले बताए ।
उनले अगाडी भने–‘खासगरी चाड पर्वका बेला, अत्यधिक गर्मी र चिसोका बेला रक्तदानमा हुने कमीले माग र आपूर्तिको सन्तुलन बिग्रने गरेकोछ । जसका कारण रगतको माग पूरा गर्न हामीलाई हम्मे–हम्मे परेको हो ।’
नियमित रक्तदाताहरुले रगत दान गरेमा अभावको समस्या नहुने रेग्मी बताउँछन् । ‘संस्थागत रक्तदान पनि नगन्यरुपमा भएकोछ । नियमित रक्तदान गर्नेहरुले पनि दिइरहनुभएको छैन । जसका कारण ब्लड बैंकमा आएर रगत माग्नेहरुलाई उपलब्ध गराउन हम्मेहम्मे भएकोछ’ प्रमुख रेग्मीले बताए ।
‘रक्तदान गर्न जनतामा जागरुक्ता बढ्नुपर्छ, स्थानीय तहमा समेत नियमित रगत संकलन हुनुपर्छ । तब मात्रै माग बमोजिम रगत पुर्ती हुनसक्छ’ रेग्मीले अगाडी थपे ‘रगतको माग धेरै भयो । दिनानुदिन माग बढिरहेकोछ । साविकको मध्य र सुदूरपश्चिम क्षेत्रकै स्वास्थ्यको हब नेपालगन्जमा अस्पतालहरु धेरै सञ्चालनमा आइसकेकाछन् । ती अस्पतालबाट माग आउँछ ।’
कुनै ठुलो घटना भइहालेमा आवश्यक रगत आपूर्तिका लागि रक्तसञ्चार केन्द्रमा अहिले रगतको पर्याप्त स्टक नरहेकाले चिन्ता बढेको केन्द्रका प्रमुख रेग्मीले बताए । उनले भने, ‘रगत माग हुँदा स्टक अभावले बिरामीका आफन्तलाई नै ल्याऊ भन्नुपरेको बाध्यता छ, आवश्यकता बमोजिम रक्तदानका कार्यक्रम नहुँदा बिरामीका आफन्तले नै सट्टा रगतको व्यवस्था गरिरहेकाछन् । ’
बिरामीका आफन्तले आफैँ रगत खोज्न जानुपर्ने हुँदा कतिपय अवस्थामा रगत पाउन धेरै समय लाग्ने गरेकाले बिरामीको अवस्था झन् गम्भीर हुने गरेको चिकित्सकहरूको भनाईछ । बढ्दो रगतको माग र पूर्तीलाई मितब्ययी बनाउन स्थानीय सरकारले समेत रगत दानका कार्यक्रमहरुलाई बढावा दिनुपर्ने रेग्मीको जोड छ ।
थालेसिमिया, सिकलसेल, डायलासिस गराइरहेका बिरामीलाई समेत नियमित रूपमा रगत उपलब्ध गराउनुपर्ने भएकाले पनि नियमित रगतको माग अत्यधिक रहेको रक्तसञ्चार केन्द्रले जनाएको छ ।
रक्तसञ्चार केन्द्रमा रगतको उपलब्धता नहुँदा सामाजिक सञ्जालमा समेत रक्तदानका लागि पटक–पटक आह्वान गर्ने गरिएको छ । बाँकेमा कम्तीमा एक हजार पिन्ट रगत स्टकमा हुने हो भने समस्या नहुने नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।
नेपालगन्जस्थित ब्लड बैङ्कमा हाल तीन हजार पिन्ट बढी रगत स्टक गर्ने सक्ने क्षमता विस्तार गरिएपनि त्यस अनुसार रक्तदान नहुँदा पूर्तिमा समस्या हुने गरेको हो ।