जलवायु परिवर्तनले बिदेसिए किसानः प्रतिवेदन


सेतोखरी सेतोखरी   बिहीबार, मंसिर २०, २०८१
जलवायु परिवर्तनले बिदेसिए किसानः प्रतिवेदन

नेपालगन्ज २० मंसिर : नेपालमा जलवायु परिवर्तनका कारण किसानहरू कृषि छोडेर वैदेशिक रोजगारीमा धकेलिएको एक अध्ययनले देखाएको छ ।

जलवायु परिवर्तनका कारण कृषि उत्पादन घटेको, लागत मूल्य बढेको, बालीमा रोग–किराको संक्रमण बढेको, बेमौसमी वर्षा एवं हावाहुरी तथा असिनाले बालीमा पु¥याउने क्षतिका कारण किसानले आफ्नो पेसा छाड्ने क्रम बढेको अध्ययनले औंल्याएको छ ।

नेपाल, भारत, चीन र बाङ्लादेशमा पहिलो पटक एकसाथ गरिएको उक्त अध्ययनअनुसार किसान श्रमिकका रूपमा बिदेसिँदा जमिन बाँझिँदै गएको र खाद्य सुरक्षामा असन्तुलन सिर्जना भएको छ ।

‘दक्षिण एसियाको विविध सामाजिक, सांस्कृतिक तथा भौगोलिक परिदृश्यमा जलवायु परिवर्तनका लागि घरपरिवारको अनुकूलन क्षमताको मूल्यांकन’ शीर्षकमा गरिएको तीन वर्षे (सन् २०२२ देखि २०२४) अध्ययन प्रतिवेदनले यो क्षेत्रमा तापक्रम र वर्षाको ढाँचामा परिवर्तन भएको, बाढीपहिरो तथा खडेरीजस्ता मौसमी घटनाको आवृत्तिले नेपालमा कृषि उत्पादकत्वमा असर गरिरहेको औंल्याएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

‘बढ्दो खडेरी र मनसुन ढिलाइका कारण बाली लगाउने समय पछाडि सर्दै जाँदा बिउ छर्ने, उम्रिने, फुल्ने र फल लाग्ने प्रक्रियामा असर पारेको छ र उत्पादकत्व घटेको छ,’ बुधबार सार्वजनिक उक्त प्रतिवेदनमा लेखिएको छ ।

यसैगरी भारत र बाङ्लादेशमा बाढी र डुबानका घटना बढेको, नदी कटानका कारण ठुलो संख्यामा घरपरिवार विस्थापित भएको र खेतीयोग्य जमिनको नाश भएको पाइएको छ ।

बाङ्लादेशमा हिउँदमा नदीको गहिराइ कम हुन थालेको र नदीबीचमा बालुवाका टापुहरूको उत्पत्ति हुँदा माछाको वासस्थानमा नकारात्मक असर परेको पाइएको छ । माछाको प्रजाति र उत्पादन दुवै घट्दै गएकाले मत्स्य व्यवसायमा आबद्ध किसानको जीविकोपार्जनमा चुनौती थपिएको अध्ययनले देखाएको छ ।

प्रतिवेदनमा जलवायु परिवर्तनले जीविकोपार्जनमा ल्याएको संकटापन्नताको तुलनात्मक अध्ययन तथा किसानको जलवायु अनुकूलन क्षमतालाई प्रभाव पार्ने तत्वबारे पनि विस्तृत समीक्षा गरिएको छ ।

जलवायु परिवर्तनले केही सकारात्मक प्रभाव पारेकोसमेत अध्ययनले देखाएको छ। नेपालका हिमाली र पहाडी क्षेत्रका उच्च भूभागमा स्याउ र अन्न उत्पादनमा वृद्धि भएको अध्ययनको निष्कर्ष छ । यी क्षेत्रमा खेतीयोग्य भूमि र सिँचाइ सुविधा सीमित हुँदा उत्पादन न्यून रहेको देखिएको छ ।

अध्ययनमा चार देशका कुल ६ सय ३३ घरपरिवार समेटिएको छ। नेपालबारे छुट्टै खण्ड तयार पारिएको अध्ययनको नेतृत्व गरेका त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रिय विभागका प्राध्यापक प्रेमसागर चापागाईं बताउँछन् ।

‘नेपालमा जलवायु परिवर्तनले कृषिमा पारेको प्रभाव, अनुकूलनका चुनौती, समाधान उपाय तथा नीतिगत सबाल’ शीर्षकको उक्त खण्डमा नेपालमा जलवायु परिवर्तनले निम्त्याएको चुनौती भविष्यमा झन् बढ्ने प्रक्षेपण गरिएको छ ।

नेपालको अध्ययनमा रसुवा, नुवाकोट, चितवन र कास्कीका २११ घरधुरी समेटिएका थिए । अध्ययनले गत ३० वर्षमा नेपालमा तापक्रम बढेको, वर्षा केही मात्रामा घटेको, खाद्यचक्रमा प्रभाव पर्दा आन्तरिक तथा बाह्य बसाइँसराइ बढेको देखाएको छ । कृषि तथा पशुपालनको दाँजोमा विप्रेषणको मात्रा बढ्दै गएको पनि अध्ययनले देखाएको छ ।

अध्ययनमा समेटिएका किसानले मौसम तथा कृषिसम्बन्धी सूचनामाथि विश्वास नगरेको देखिएको छ । तराईमा ३४ प्रतिशत, पहाडमा २२ प्रतिशत र हिमालमा ८.५ प्रतिशत घरपरिवारले मात्र मौसमसम्बन्धी प्राप्त सूचनालाई विश्वास गर्ने पाइएको छ ।

भौगोलिक क्षेत्रअनुसार नेपालमा तापक्रम बढ्ने दर फरक फरक रहेको अध्ययनले देखाएको छ । तराईमा औसत वार्षिक ०.००४२ डिग्री सेन्टिग्रेड, पहाडमा ०.९२१ डिग्री सेन्टिग्रेड र हिमालमा ०.०२५४ डिग्री सेन्टिग्रेडका दरले तापक्रम वृद्धि भइरहेको अध्ययनले जनाएको छ ।

यसैगरी वार्षिक वर्षा हिमाली क्षेत्रमा १३.१२ मिलिलिटर , पहाडी क्षेत्रमा ९.३९ मिलिलिटर र तराईमा ५.०२ मिलिलिटरले घटेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

अध्ययनले जलवायु परिवर्तनको प्रभाव गहिरिँदै गएको देखाएको बताउँदै चापागाईंले यो विषयलाई सम्बोधन गर्न आपसी सहकार्य र हातेमालो आवश्यक रहेको बताए । अध्ययन टोलीमा नेपालका तीन, चीनका तीन, भारतका एक र बाङ्लादेशका एक अनुसन्धानकर्ता सहभागी थिए ।