नेपालगन्ज २० मंसिर: नेपालगन्ज उपमहानगरपालिकाले तीन जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई विदाई गरेको छ । २१औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा नगरमा कार्यरत तीन जना स्वयंसेविकालाई सम्मानसहित विदाई गरिएको हो ।
६० वर्ष उमेर पुगेका वडा नम्बर–१० की बिना थापा मगर, वडा नम्बर –१४ की सुरसती बृजबासी र वडा नम्बर–९ की मिना कुमारी विश्वकर्मा चौधरीलाई विदाई गरिएको हो ।
नगर प्रमुख प्रशान्त विष्टले उनीहरुलाई दोसल्ला ओढाई सम्मानपत्रसहित विदाई गरेका हुन् । विदाई भएका उनीहरुले नेपालगन्ज उपमहानगरपालिकाबाट ५० हजार रुपैयाँ पाउँछन् ।
६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकाले विदाई भएसंगै संघीय सरकारको तर्फबाट ५० हजार, नेपालगन्ज उपमहानगरपालिकाको तर्फबाट ५० हजार र प्रदेश सरकारबाट २० हजार गरी १ लाख २० हजार रुपैयाँ पाउँछन् ।
सामुदायिक स्वास्थ्य स्वयंसेविका संघ नेपालगन्जकी अध्यक्ष मनकुमारी सिलवालको अध्यक्षता एवम् नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरमा कार्यरत सबै स्वयंसेविकालाई पनि सम्मान गरिएको थियो । नेपालगन्ज उपमहानगरपालिकामा १९२ जना स्वयंसेविका कार्यरत छन् । बाँके जिल्लामा ७८५ जना स्वयंसेविका छन् ।
दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधा बढाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विष्टले समुदायस्तरमा स्वास्थ्य सूचक प्रबर्द्धनमा महिला स्वास्थ्य स्वयंसेविकाले अहम् भूमिका खेलेको बताए ।
उनले स्वयंसेविकाको बीमाका लागि पनि नेपालगन्ज उपमहानगरपालिकाले योगदान गर्ने प्रतिबद्धता जनाए । उनले स्वास्थ्य स्वयंसेविकाको योगदानको मुक्तकण्ठले प्रशंसा गरे ।
स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले मातृ मृत्युदर रोक्न महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण भूमिका रहेको बताए । उनले अहिलेसम्मको भूमिकाको सराहना गर्दै अझ गहन ढंगले सेवाभावका साथ मानव सेवामा जुट्न आग्रह गरे ।