छोरा बेपत्ता भएपछि कुमाल परिवार पीडामा


सेतोखरी सेतोखरी   आइतबार, मंसिर २३, २०८१
छोरा बेपत्ता भएपछि कुमाल परिवार पीडामा

नेपालगन्ज २३ मंसिर : बर्दियाको बासगढी नगरपालिका–९, कुनैठीका १५ वर्षीय बालक अमित कुमाल गत १५ दिनदेखि बेपत्ता छन् । घरबाट रिसाएर निस्किएका कुमाल अहिलेसम्म नफर्किएपछि खोजी कार्य चारैतिर गरिए पनि अझै फेला नपरेकोले कुमालको परिवारका सदस्य ठुलो पीडा भोगिरहेका छन् ।

कुमालकी आमा सकिला कुमालले सन्तान हराउँदा आमालाई जत्तिको पीडा अरूलाई हुन नसक्ने बताइन् । १५ वर्षीय छोरो अमित १५ दिनअघि बेपत्ता भएपछि आमा सकिला घरीघरी भक्कानिन्छिन् । छोरा हराएदेखि उनको आँखा ओभाएको छैन । 

खाना खानेबेला छोराको यादले थालीमा पस्केको खाना नखाएर छाडिदिन्छिन् । यो जाडोमा कहाँ सुत्छ होला ? के खान्छ होला भन्दै उनी कुराकानी गर्दागर्दै भक्कानिन्छिन् ।

सकिलाका अनुसार गत मङ्सिर ७ गते अमित घरमै थिए । एक्कासी रिसाउँदै उनी गाउँतिर लागे । गाउँमा नाचगान चलिरहेको थियो । छोरा गाउँमा होला भन्ने विश्वासले सकिला ढुक्क थिइन्, तर अमित अबेर रातसम्म घरमा आएनन् । छोरा घर नफर्किएपछि उनको मनमा चिसो पस्यो । हतारहतार खोजीका लागि नाचगान भइरहेको ठाउँमा गइन् ।

Kanti Aarogya Hospital Nepalgunj

छोराका बारेमा सोधीखोजी गरिन् तर त्यहाँ छोरा नगएको जानकारी पाइयो । त्यस दिनदेखि उनले आफ्नो तागतले भ्याएसम्म छोराको खोजी गरिरहेकी छन् । प्रहरीलाई पनि जानकारी गराएकी छन् । प्रहरीले अमित कसैसँग लागेर भारत गएको आशङ्का गरेको छ । उनले छोरा अमितलाई खोजी गरिदिन सबैसँग आग्रह गर्दै छोरालाई पनि घर फर्किन अनुनय गरेकी छन् ।