भर्ना एउटा अस्पतालमा बिल अर्कै अस्पतालको, सिडिओ र राजश्व प्रमुख मुक दर्शक
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका छेउमा रहेको संजीवनी कलेज अफ मेडिकल साइन्स अस्पताल अवैध रुपमा संचालन भइरहेको छ । यो अस्पताल कम्पनी रजिष्टारको कार्यालय बाहेक कहीं पनि दर्ता छैन । कुनै पनि अस्पताल संचालनका लागि सरकारी मापदण्ड पुरा गरेर तोकिएको निकायबाट संचालनका अनुमति लिनु पर्छ ।
आफ्नै अगाडी अस्पताल अवैध रुपमा संचालन भइरहेको देख्दा पनि बाँके प्रशासन, प्रहरी, आन्तरिक राजश्व कार्यालय र नेपालगन्ज उपमहानगरपालिका मुक दर्शक भएर बसेका छन् ।
जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य जस्तो संवेदनशिल कुरामा अवैध अस्पताल संचालन भइरहदा पनि कार्वाहीका दायारामा ल्याउनुको साटो चुपचाप बस्नु यी सरोकारवाला निकायको गम्भिर लापरवाही हो ।
लुम्बिनी प्रदेश कार्यालयबाट अस्पताल संचालनको अनुमती लिनु पर्ने कानुनी प्रावधान भए पनि संजीवनी कलेज अफ केडिकल साइन्स अस्पताल विना अुनमति संचालनमा छ । यस अस्पतालको मुख्य संचालक खुम अर्याल हुन् भने प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा.सुरेश कुमार कनोडियाका कान्छा छोरा डा. नितेस कुमार कनोडिया रहेका छन् ।
संजीवनी कलेज अफ केडिकल साइन्स अस्पताल अनुमति नै नलिइ अवैध रुपमा संचालकमा रहेको थाहा पाउँदा पनि बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल टुलुटुलु हेरेर बसिरहेका छन् ।
अस्पताल संचालक डा.सुरेश कुमार कनोडिया र सिडिओ रिजाल साथी साथी हुन् । दैनिक विहान उनिहरु कफी सपमा सँगै कफी पिउने र सुख दुःखका कुरा गर्ने गर्छन् । त्यै भएर अवैध अस्पताल माथि सिडिओ रिजालले कुनै एक्शन नलिएको सबैको आरोप छ ।
आफ्नो उपमहानगरपालिका भित्र हरेक जिम्मेवारी बोकेका मेयर प्रशान्त विष्ट पनि छेउमै अवैध अस्पताल संचालन भइरहेको देख्दा पनि कानमा तेल हालेर बसिरहेका छन् ।
नेपालगन्जका एक स्थानिय कुमोद खड्काले आफ्नै अगाडी अवैध अस्पताल संचालन हुन दिनु सिडिओको निरिहता भएको टिप्पणी गरे । ‘कनोडिया र सिडिओ रातै दिन चप्किएका हुन्छन् । कनोडियाको अस्पताल, कनोडियाको छोरो सिइओ अनि कसरी हुन्छ कार्वाही ? उनले सेतोखरीसँग भने ‘कसैले विना दर्ता कुनै व्यवसाय संचालन गरोस त सिडिओले कर्मचारी पठाएर कठालो समातेर ल्याउँछन् । सानालाई ऐन ठुलालाई चैन भनेको यहि हो ।’
अझ रोचक कुरा त के छ भने संजीवनी कलेज अफ केडिकल साइन्स अस्पतालमा विरामी भर्ना भएपछि उपचार खर्चको विल काट्दा अस्पतालले अर्कै अस्पतालको बिल दिने गरेको छ ।
नेपालगन्जकै एक अस्पतालका संचालकसँग सेतोखरीले के यसो गर्न पाइन्छ र ? भनि प्रश्न गर्दा ती संचालकले भने ‘यो त बिरामी माथि र राज्य माथिको ठगी र अपराध हो । कुनै विरामीको मृत्यु भए मुद्दा कुन माथि चलाउने ? साइन बोर्ड लगाएको अस्पताल माथि की जुन अस्पतालको नामबाट बिल काटेको छ त्यो माथि ? प्रशासनले यो कुरा बेलैमा सोच्नु पर्दैन ?’
यस अस्पतालमा संजीवनी कलेज अफ केडिकल साइन्सको चारैतिर साइनबोर्ड लगाइएको छ तर विरामीलाई लर्ड बुद्ध एजुकेशनल एकेडेमी नेपालगन्ज मेडिकल कलेजको विल दिने गरेको छ । (विलको फोटो माथि तस्विरमा हेर्नुहोस्) यस्तो हुँदा पनि आन्तरिक राजश्व कार्यालय, सिडिओ तै चुप मै चुप भएर बसेका छन् ।
नेपालगन्ज उद्योग बाणिज्य संघका एक पूर्व अध्यक्षले भने ‘यो ठगीको पराकाष्ठा हो र प्रशासनको मिलोमतो हो । सानो व्यापारिले बोर्ड झुण्ड्याएन भने जरिवाना ठोक्ने राजश्व कार्यालयले खुलेआम अस्पताल एउटा नामको बिल अर्कै नामको काट्दा के हेरेर बसेको छ । ?
बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले अनुमति बिना कानुन विपरित संजीवनी कलेज अफ केडिकल साइन्स अस्पताल संचालन भएको बताए । ‘एउटा अस्पतालको बोर्ड राखेर अर्कै अस्पतालको विल काट्न मिल्दै मिल्दैन । प्रजिअ रिजालले सतोखरीसँग टेलिफोनमा कुरा गर्दै भने ‘कानुनी रुपमा त केही मिल्दैन नैतिक रुपमा पनि वहाँहरुले सोच्ने कुरा हो ।
प्रजिअ रिजालले यस बिषयलाई आफुले गम्भिर रुपमा लिएको बताए । कसैको उजुरी परेको भए कार्वाही गर्न सजिलो हुने प्रतिक्रिया दिंदै कुन कानुनमा टेकेर कार्वाही अघि बढाउने भनेर आफु अनुसन्धानमै रहेको बताए ।
लर्ड बुद्ध एजुकेशनल एकेडेमी नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरु महिना दिनदेखि विभिन्न माग राख्दै आन्दोलनमा छन् । यी कर्मचारीलाई निकाल्न, सेवा सुविधा कटौत ीगर्न अस्पताल व्यवस्थापनले यस्तो गरेको बुझिएको छ ।
अस्पतालका विभिन्न संचालकसँग कुरा गर्न खोज्दा उनीहरुले फोन रिसिभ गरेनन् ।