नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्जमा रहेको संजीवनी कलेज अफ मेडिकल साइन्स अस्पताललाई २४ घण्टा भित्र साइनबोर्ड कडा निर्देशन दिएको छ । सेतोखरी डटकममा संजीवनी कलेज अफ मेडिकल साइन्सको ठगी धन्दा र अवैध संजीवनीले रातारात नेपालगन्ज मेडिकल कलेजको बोर्ड राख्यो भन्ने २ वटा समाचार प्रकाशित गरेपछि मेयर प्रशान्त बिष्ट एक्शनमा उत्रिएका छन् ।
सरकारको अनुमती बिना अस्पताल संचालन गरेको र चारैतिर साईनबोर्ड राखेकाले सबै साइनबोर्ड हटाउन नेपालगन्ज उपमहानगरपालिकाले संजीवनीलाई २४ घण्टे अल्टीमेटम दिएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले मंगलबार संजीवनी कलेज अफ मेडिकल साइन्स अस्पताका नाममा पत्र पठाउँदै यस्तो कडा निर्देशन दिएका हुन् ।
मेयर बिष्टद्धारा हस्ताक्षरित पत्रमा भनिएको छ ‘लर्ड बुद्ध एजुकेशनल एकेडेमीद्धारा भाडामा लिइ नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको बाहिर नेपाल सरकार वा स्थानिय तह कतैबाट पनि अनुमति प्राप्त नगरी संजीवनी कलेज अफ मेडिकल साइन्सद्धारा संचालित नेपालगन्ज हस्पिटल भन्ने बोर्ड टाँसिएको र भित्र लर्ड बुद्धको नाममा कारोबार भइरहेको तथ्यप्रति उपमहानगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ ।’
मेयर भइसकेपछि मेयर प्रशान्त बिष्टले यति कडा पत्र पठाएको सम्भवतः यो पहिलो पटक हो । नेपालगन्ज उपमहानगरपालिकाले २४ घण्टे अल्टिमेटमको निर्देशन पालना नगरे कानुन बमोजिक कार्वाही प्रक्रिया अगाडी बढाउने पत्र मार्फत नै जनाएको छ ।
‘यो पत्र प्राप्त भएको २४ घण्टा भित्र उक्त संजीवनी कलेज संचालनको लागि नेपालको संविधान बमोजिमका तीनै तहका सरकार मध्ये कहि कतैबाट अनुमति प्राप्त भएको भए सो प्रस्तुत् गर्न हुन र प्राप्त नभएको भए उक्त बोर्ड हटाइ कानुन बमोजिम अनुमति प्राप्त गरे अनुसार कोरोबार गर्नु गराउनु हुन निर्देशन गरिएको छ ।’ निर्देशन पत्रमा अगाडी भनिएको छ ‘अन्यथा यस उपमहानगरपालिकाले आवश्यक कार्वाही प्रक्रिया अगागी बढाउने व्यहोरा समेत जानकारी गराइन्छ ।’
नेपालगन्ज अनुमती बिना संचालनमा रहेको संजीवनी कलेज अफ मेडिकल साइन्स अस्पतालले छेउमा अर्को अस्पतालको साइनबोर्ड राखेको छ । कार्वाहीमा परिन्छकी भन्ने डरले संजीवनीले रातारात लर्ड बुद्ध एजुकेशनल एकेडेमी नेपालगन्ज मेडिकल कलेजको साइनबोर्ड राखेको हो ।
रोडबाटै देखिने गरी अगाडी बाटोको सामुन्ने रातारात निलो साईनबोर्ड संजीवनीले राखेको छ । तर अनुमति विनै संचालनमा रहेको संजीवनी कलेज अफ मेडिकल साइन्स लेखेको साइनबोर्ड भने फालेको छैन ।
बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले अनुमती बिना नै संचालनमा रहेको अस्पतालको बोर्ड निकालिने बताए ।
‘प्रालिमा दर्ता गरेर मात्र हुँदैन, प्रालिमा दर्ता गरिसकेपछि प्रमाणपत्रमा प्रष्ट लेखेको हुन्छ सम्बन्धित निकायबाट अनुमति लिएर संचालन गर्नु भनेर । प्रजिअ रिजालले सेतोखरीसँग टेलिफोनमा भने ‘संजीवनीले अनुमति नै नलिइ अस्पताल चलाएको छ । माथिको आदेश पर्खिरहेको हो । अस्पताल संचालकहरुले बोर्ड निकालेनन् भने हामीले आफै निकाल्नु पर्छ । कुन कानुनमा टेकेर कार्वाही गर्ने भन्ने तयारीमा छु ।’
संजीवनी अस्पताल कम्पनी रजिष्टारको कार्यालय बाहेक कहीं पनि दर्ता छैन । लुम्बिनी प्रदेश कार्यालयबाट अस्पताल संचालनको अनुमती लिनु पर्ने कानुनी प्रावधान भए पनि संजीवनी कलेज अफ केडिकल साइन्सले अहिलेसम्म अनुमति पाएको छैन ।
प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा.सुरेश कुमार कनोडियाका कान्छा छोरा डा. नितेस कुमार कनोडिया रहेका छन् । अवैध रुपमा संचालित अस्पतालले पहिलेको भन्दा झण्डै दोब्बर उपचारको मुल्य बढाएको छ । यी लगायतका समस्यालाई लिएर उता अस्पतालका सम्पूर्ण कर्मचारी आन्दोलनमा छन् । आन्दोलन र अवैध अस्पताल संचालनको बाधक डा.सुरेश कनोडिया बनेका छन् ।