नेपालगन्ज : बाँकेको कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाललाई भ्रष्ट र सौदाबाजी गरेको आरोप लगाएका छन् ।
मेयर आचार्यले सामाजिक संजाल फेसबुकको आफ्नो वालमा शुक्रबार बिहान पोष्ट गर्दै सिडिओ रिजालमाथि नैतिक रुपमा भ्रष्ट भएको र समाजलाई चौपट पार्न खोजेको गम्भिर आरोप लगाएका छन् ।
सिडिओ रिजाल बिहिवार बेलुका मात्र सरुवाको लिष्टमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जान खोजिरहेका रिजालमाथि मेयर आचार्यले कक्षा १० को एसइइको परिक्षा केन्द्र निर्धारण गर्दा केही संस्थागत विद्यालयसँग सौदावाजी गरेको आरोप लगाएका छन् ।
‘सिडिओ साव तपाईलाई धन्यवाद, सरुवा भइ जाँदा जाँदै कक्षा १० को एसइइ परिक्षाकेन्द्र निर्धारण गर्दा केही संस्थागत विद्यालयसँग राम्रै सौदावाजी गर्नु भएछ ।’ मेयर आचार्यले फेसबुकको आफ्नो वालमा लेखेका छन् ‘राज्यको महत्वपूर्ण निकायको एउटा अधिकार प्राप्त व्यक्ति नैतिक रुपमा भ्रष्ट भयो भने समाज कसरी चौपट हुन्छ भन्ने कुराको उदाहरण पनि दिन सफल हुनु भएकोमा बधाई छ ।’
अझै लामो समय निजामती सेवामा रहे र माथिल्लो भुमिकामा पुग्ने निश्चित रहेकाले त्यसको लागि सिडिओ रिजाललाई शुभकामना दिंदै मेयर आचार्यले अगाडी लेखेका छन् ‘तर केह ीगलत प्रवृतीका पात्रसँगको साँठगाँठ र हिमचिमले कोहलपुरको मर्यादित परिक्षा प्रणालीमा धक्का दिन जुन कोशिस गर्नु भयो इतिहासले धिक्कार्नेछ ।’
सिडिओ रिजालले अधिकारको चरम दुरुपयोग गरि सौदाबाजी गर्दै विभिन्न विद्यालयका परिक्षा केन्द्रहरु हेरफेर गर्ने बहानामा अनुचित चलखेल गरेकोले उक्त चलखेलले शिक्षा क्षेत्रमा मद्दत नभइ निरुत्साहित गर्ने निश्चित रहेको मेयर आचार्यले लेखेका छन् ।
‘तपाई खै कस्तो प्रलोभनमा पर्नु भयो विस्तारै खुल्दै जाला तर सिंगो अभिभावकलाई भ्रममा राख्ने र विद्यार्थीको भविष्य चौपट हुने गरि गरिने यस्ता ध्रुत निर्णयको हामी सामना गर्ने छौं ।’ मेयर आचार्यले लेखेका छन् ।
सिडिओ रिजालको सरुवा नहुँदासम्म चुप लागेर बस्नु र सरुवा भएपछि मात्र बोल्नु मेयर आचार्यको पनि नियतमा खोट भएको विभिन्न व्यक्तिहरुले बताइरहेका छन् ।