संजीवनी र लर्ड बुद्धको किचलो

नेपालगन्ज मेडिकल कलेजको अर्को ठगी धन्दा

इजाजत पत्रमा १ सय बेडको अनुमती, संचालन ३ सय बेड, संयुक्त टोलीद्धारा अनुगमन


सेतोखरी सेतोखरी   शुक्रबार, फागुन १६, २०८१
नेपालगन्ज मेडिकल कलेजको अर्को ठगी धन्दा

नेपालगन्ज : सरकारद्धारा अनुमती नलिइ अवैध रुपमा नेपालगन्जमा साइनबोर्ड राखि संचालन भएको संजीवनी कलेज अफ मेडिकल साइन्स अस्पतालको काण्ड सेलाउन नपाउँदै लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडद्धारा संचालित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको अर्को ठगी धन्दा बाहिर आएको छ ।

लर्ड बुद्ध एजुकेशनल एकेडेमीले बर्षौदेखि सरकारलाई ठगी गर्दै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज संचालन गरिरहेको फेला परेको छ । लर्ड बुद्धले सरकारबाट अनुमती लिएको भन्दा तीन गुणा बढी बेड राखेर नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज संचालन गर्दै आइरहेको छ । 

कम बेडको अनुमती लिएर गोप्य रुपमा बर्षौंदेखि धेरै बेडको अस्पताल संचालन गर्नु कानुनको बर्खिलाप भएको अन्य अस्पताल संचालक बताउछन् । यसबाट लर्ड बुद्धले सरकारलाई बर्षौंदेखि राजश्व लगायत थुप्रै कुराहरु ठगी गर्दै आइरहेको देखिन्छ ।

लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज संचालन गर्न १०० बेडको मात्र अनुमती  पाएको छ । तर गोप्य रुपमा भित्र भित्रै भने ३०० बेड भन्दा बढी बेड संचालन गरेको अनुगमनका क्रममा भेटीएको छ । लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडले बर्षौदेखि अनुमती लिएको भन्दा तीन गुणा बढी बेड राखेर अस्पताल संचालन गरेपनि राजश्व कार्यालय मौन रहेको छ । 

Kanti Aarogya Hospital Nepalgunj

नेपालगन्ज उपमहानगरपालिका, स्वास्थ्य शाखा, जिल्ला प्रशासन कार्यालयको प्रतिनीधि सम्मिलित टोलीले बिहिबार नेपालगन्ज मेडिकल कलेजमा अनुगमन गर्दै प्रत्येक कोठामा रहेका बेड गन्ति गरेका थिए । 
स्वास्थ्या शाखा प्रमुख राम बहादुर मल्लले नेपालगन्ज मेडिकल कलेजले एक सय बेडको अनुमती पाएको र टोली अनुगमन गर्दा २ सय ५० बेड सम्म गन्ति गरेको सेतोखरीसँग बताए । 

‘धेरै गुनासो आएपछि हामी अनुगमनमा गएका हौं, हामीले एक एक बेड काउन्ट गर्यौ । यसरी काउन्ट गर्दा २ सय ५० सम्म गन्यौ अरु गन्न बाँकी नै छन् तर लर्ड बुद्धले एक यस बेडको मात्र अस्पताल संचालन गर्ने भनेर अनुमती लिएको छ ।’ सेतोखरीसँग प्रमुख मल्लले भने । 

सेतोखरीलाई प्राप्त इजाजत पत्र हनुसार, लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा २०७८।५।२३ गते अस्पतालमा बेड संचालनका लागि निवेदन दिएको देखिन्छ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जले १०० बेड संचालन गर्न पाउने र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले ३०० बेड संचालन गर्न पाउने भनि त्यस निवेदनमाथि २०७९।२।२५ गते मन्त्रीस्तरिय निर्णय हुन्छ ।

अनि लर्ड बुद्धले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट २०७९।३।५ गते नेपालगन्जका लागि १०० बेड र कोहलपुरका लागि ३०० बेडको अनुमती पाउँछ । इजाजत पत्र अनुसार १०० बेडकै अनुमती पनि २ बर्ष अगाडी मात्र पाएको देखिन्छ । जब की नेपालगन्ज मेडिकल कलेजले १० औं बर्षदेखि ३०० बेड संचालन गरिरहेको छ । 

कोभिडका बेलासम्म पनि लर्ड बुद्धले १०० बेडको पनि अनुमती नलिएको इजाजत पत्रमा देखिन्छ । जब की कोभिड र कोभिड आउनु अघि नै ३०० भन्दा बढी बेड यस अस्पतालमा संचालनार्थ थिए । यसरी अवैध बेड राखेर अस्पताल चलाउँदा पनि प्रशासन, जनस्वास्थ्य कार्यालय, उपमहानगरको स्वास्थ्य शाखा, राजस्व कोही बोलेको देखिदैन ।