कनोडिया काण्ड भाग १

डा.सुरेश कनोडिया परिवारद्धारा गर्भवती बुहारीमाथि चरम ‘यातना’

पेटमा बच्चा हुँदा डा.नितेशले माया, साथ त के पीडा दिएर घरबाट लखेटे : श्रीमती ग्रेस


सेतोखरी सेतोखरी   शनिबार, फागुन २४, २०८१
डा.सुरेश कनोडिया परिवारद्धारा गर्भवती बुहारीमाथि चरम ‘यातना’

नेपालगन्ज :सुन्दापनि अपत्यारिलो जस्तो । घटना नेपालगन्जको हो । शिक्षित र सम्भ्रान्त मारवाडी परिवारको वास्तविक कथा, जुन सुन्दा आँखाबाट आँशु झर्छ, आँङ् जिरिङ्ग हुन्छ अनि त्यो परिवारप्रति क्रोध पनि उठेर आउँछ । 

त्यो परिवार हो नेपालगन्ज मेडिकल कलेजका मालिक डा.सुरेश कुमार कनोडियाको । डा.सुरेश कुमार कनोडिया आफु डाक्टर, जेठो छोरा–बुहारी डाक्टर, कान्छो छोरा डाक्टर छन् । एकदमै शिक्षित र नाम कहलिएको परिवार । कनोडियाका कान्छो छोरा डा.नितेश कनोडिया नेपालगन्ज मेडिकल कलेज अवैध मानिएको संजीवनी अस्पतालको प्रमुख कार्यकारी अधिकृत (सिइयो) छन् । 

नितेशको विहे हुन्छ एउटा सम्भ्रान्त परिवार नेपालमा शेयर मार्केटका वाद्शाह छोटुलाल रौनियारकी छोरी ग्रेस रौनियारसँग । पैसा, धन, दौलत, कुनै कमी नभएको परिवारकी छोरी । छोरीपनि शेयरमै खेल्छिन्, मोस्टट्यालेन्टेड ग्रेस । त्यो पनि नितेशले मरिहत्ते गरेर पछि लाग्न छोड्दै नछोडेर दुवै जनाको विहे हुन्छ । 

तर के गर्नु ग्रेस कनोडिया परिवारको हिंसामा पर्छिन् । रुन्छिन, चिल्लाउँछिन् उनको चित्कार सुनिदिने कोही हुँदैन । जब नितेशले श्रीमती भित्र्याउछन् दुई महिना भित्रै उनी गर्भवती हुन्छिन् । त्यसपछि सुरु हुन्छ कनोडिया परिवारबाट ग्रेसमाथि यातना दिन । भर्खर विहे गरेकी एक युवती त्यसमाथि गर्भवती, श्रीमानको माया, केयर पाउनु त कहाँ हो कहाँ कनोडिया परिवार अनि श्रीमान डा.नितेश कनोडियाबाट यति यातना पाउँछिन्, यति यातनाकी कनोडियाको नेपालगन्ज सुर्खेतरोड स्थित घरबाटै लखेटिछिन् ।

Kanti Aarogya Hospital Nepalgunj

डा.नितेश कनोडियाको पेटमा बच्चा बोकेर रुँदै रुँदै ग्रेस नेपालगन्ज एयर पोर्टबाट प्लेन छढ्छिन् र काठमाण्डौं माइती फर्किन्छिन् । कनोडिया परिवारबाट प्रताडित एउटा पीडित नारी ग्रेससँग गरिएको कुराकानी सेतोखरीले पस्किएको छ ।

नेपालगन्ज मेडिकल कलेजका संचालक सुरेश कुमार कनोडियाकी कान्छी बुहारी ग्रेसले गर्भवती अवस्थामा परिवारले अमानवीय व्यवहार गरेर हदैसम्म दुःख दिएको सेतोखरीसँग बताएकी छिन् । नितेशले हदैसम्म दवाव दिएर विहे गरिएको र विहेपछि श्रीमान अनि परिवार सहितको सहनै नसक्ने शब्दमा व्यक्त गर्नै नसकिने टर्चर दिएर बर्षदिन नपुग्दै घरबाट लखेटको, माया गरेर विहे गरेको श्रीमानले घरबाट लखेटेपछि उल्टै अदालतमा अंशवण्डाको मुद्दा हालेकोले मानसिक तथा शारिरीक पीडामा लत्पतिदै आफु कानुनी लडाइ लडिरहेको ग्रेसाले सेतोखरीसँग बताइन् ।

उनलाई परिवारले गर्भवती भएका बेला माईत लखेटेको थियो । श्रीमान नितेशले श्रीमती ग्रेस विरुद्ध जिल्ला अदतालत बाँकेमा मुद्दा हालेपछि कनोडिया परिवार विरुद्ध आफु कानुनी लडाइ लड्न बाध्य भएको ग्रेसले बताइन् । काठमाडौं र बाँके जिल्लामा अदालतमा कनोडिया परिवार विरुद्ध पाँचवटा मुद्दामा ग्रेसाले कानुनी लडाई लडिरहेकी छन् । जसमा अंशवण्डा बदर, जालसाजी, मानाचामल जस्ता बिषयमा संलग्न छन् । 

बर्षदिनको काखे बच्चा च्यापेर उनी कहिले काठमाडौं त कहिले नेपालगन्जका अदालतमा ढोका ढकढक्याउँदै न्यायको भिख मागिरहेकी छन् । गहभरी आँशु झार्दै ग्रेस भन्छिन्  ‘एउटी महिलाका लागि सबैभन्दा संवेदनशील समय भनेको गर्भ र सुत्केरी बेला हो । ठिक त्यति नै बेला पढेलेखेको र डाक्टर नै डाक्टरले भरिएको परिवारले जुन अमानवीय हर्कत गर्नुभयो म त्यसको विरुद्ध लडिरहेको छु । कसरी विर्सन सक्छु कनोडिया परिवारले मलाई दिएको यातना ।’

नितेशले नै जोडबल गरेपछि काठमाडौंमा जन्मे हुर्केकी ग्रेसा विहे गर्न राजी भएकी थिइन । उनीहरुको विहे दुई बर्षअघि लखनउबाट भएको थियो ।

लखनउमा रहेका ग्रेसका आफन्तले नेपालगन्जका सम्भ्रान्त र डाक्टरले भरिएको परिवारमा छोरीको उज्जवल भविष्य होला भनेर विहे गरेर सुम्पिदिएका थिए । विहे अघि काठमाडौं मात्रै होइन लखनउमै हरदिन जसो ग्रेसलाई भेट्न नितेश पुग्थे । उनको प्रेममा पागल बनेका नितेशप्रति ग्रेस र परिवारले भरोसा नगर्ने कुरै भएन ।

‘उहाँको व्यवहार देखेर सबै चकित थियौं । यतिसम्म गर्ने केटा ठिकै होला भन्ने लागेर मलाई विहे गरिदिएका हुन । त्यति माया गर्ने मान्छेले अहिले यति दुःख र हैरानी दिनुभयो  शब्दमा बयान गर्न सक्दिन ।’ ग्रेसले भनेकी छन् । 

विहेको तीन महिनासम्म ठिकठाकै थियो । तर त्यसपछि भने सासुबाट कचकच शुरु भयो । बिशेषगरी सासुले तीन महिनामै ग्रेसलाई बुहारीका रूपमा स्विकार गर्न नसकेको भन्दै कचकच गर्न थालिन् । कनोडिया मारवाडी समुदायका हुन् भने ग्रेस फरक समुदायकी हुन् । त्यही बिषय समेत उठाएर सासुले तनाव दिन शुरु गरेकी थिइन् ।  

‘खासमा उहाँले मलाई स्विकार नगरेको पाए । नितेशकै जोडबलमा विहे भएको रहेछ । सासुले मलाई बुहारी त आफ्नै समुदायको हुनुपर्छ भन्न थाल्नु भएको थियो । खै उहाँले त्यस्तो किन भन्नुभयो ।’ ग्रेसाले भनिनन् । 
विवाद बढ्दै गएपछि कनोडिया परिवारले ग्रेसलाई अनेक बहाना बनाएर घरबाट निकाल्ने उपाय खोज्न थाले । सुरुमा आमाले मात्रै कचकच गरे पनि त्यसपछि भने श्रीमान नितेशले पनि मानसिक यातना दिन थाले ।

गर्भवती भएको तीन महिनामा उनलाई माइती लगेर छाडियो जतिबेला कँहीकतै लामो यात्रा गर्नुहुन्न भन्ने कुरा ससुरा, श्रीमान, जेठाजुदेखि अस्पतालनै भएको परिवारलाई थाहा नहुने कुरै भएन । तर आफूलाई घरबाटै निकाल्ने नियत राखेर माईत पठाइएको ग्रेसाले बताइन् । ‘गर्भवती छु म जाँदीन भन्दा पनि मानेनन् । श्रीमान नितेश देखि परिवार सबैले योजनावद्ध तरिकाले म गर्भवतीलाई घरबाट लखेटे ।’ ग्रेसले भक्कानियर रुँदै सेतोखरीसँग भनिन् 

त्यसपछि ग्रेस काठमाडौं माइत बसिन् । केही दिनमै लिन आउँने कनोडिया परिवारको बाचा थियो । ससुरा डा. सुरेश कनोडियाले पनि त्यहि भनेका थिए । तर भनेको पन्ध्र,बीस दिनको भाखा नाघेपनि कोही लिन गएनन् । ग्रेस माईतमै बसिन् । गर्भवती अवस्थामा परिवारको तर्फबाट भएको व्यवहारले उनलाई दुःखी बनायो । गर्भवती भएको सात महिना वितिसक्दा पनि लिन आउँछौं भनेकोमा न कोही आए न त ग्रेसलाई नै आउन दिए ।

‘गर्भवती र सुत्केरी हुँदा श्रीमानको साथ, माया, केयर चाहिने हो । नितेश कनोडियाले साथ त के तिरस्कार गरे, पुरै परिवारले टर्चर दियो । कसरी देखाउ म मेरो पीडा । आँखाबाट तप्प तप्प आँशु चुहाउँदै ग्रेसाले सेतोखरीसँग भनिन् । 

अनि नितेशले अब संगै हिड्न समस्या हुने सुनाएपछि ग्रेस छाँगाबाट खसेझै भइन् । भक्कानिएर रोइन् । यता गर्भमा सात महिनाको बच्चा छ, उता श्रीमानले छुट्टिने कुरा सुनाउदा ग्रेसलाई काठमाडौंबाट विहे गरेर नेपालगन्ज जानुको परिणाम यहि रहेछ भन्ने लाग्यो । 

तर गर्भको बच्चालाई सम्झिएर सम्हालिनु बाहेक आफ्नो विकल्प नभएको ग्रेसले बताइन् । परिवारको नियत आफूप्रति ठिक छैन भन्ने लागेपछि ग्रेसले परिवार र काठमाडौंमा मारवाडी समुदायका अगुवासँग छलफल समेत गरिन् । जानेबुझेको परिवारबाट गर्भवती बुहारीप्रति गरेको व्यवहार सुनेर उनीहरु समेत अचम्ममा परेका थिए । 

ग्रेस भन्छिन ‘उहाँहरुले पनि सम्झाउँदै बच्चा चाहिँ नेपालगन्ज घरमै जन्माउन भन्नुभयो ।’ सुत्केरी हुने डेट आइपुग्दा समेत परिवारले बोलाउन कुनै चासो नदिएपछि चिकित्सकको सल्लाह लिएर ग्रेस नेपालगन्ज घर आइन् । तर यहाँ आउँदा उनले कनोडिया परिवारबाट जे कुराको सामना गर्नु पर्याे त्यो अमानविय व्यवहार सम्झिदा ग्रेस धुरुधुरु रुन्छिन् ।  

‘उहाँहरुले गेट खोल्नु भएन । मैले जोडजोड कराएपछि खोल्नु भयो । भित्र पसेपछि सासूले रिसाउँदै म प्रति रुखो ब्यहार देखाउनुभयो जो भनिसाध्य छैन । म घर जाने बेला श्रीमान (नितेश) अन्तै हुनुहुन्थ्यो ।’ उनले भनिन् । 

परिवारका तर्फबाट भएको अमानवीय व्यवहारका कारण यहाँ बच्चा जन्माउँदा जे पनि हुन सक्ने लागेपछि ग्रेस त्यस्तो अवस्थामा पनि फेरी काठमाडौं फर्किन बाध्य भइन् र त्यहीँ छोरालाई जन्म दिइन् । छोरा जन्मिएपछि पनि परिवारले कुनै रेस्पोन्स गरेनन् । कनोडिया परिवारले बच्चा गर्भमै हुँदा घरबाट लखेटेर भगाएपछि नितेश र ग्रेसको छोरा जन्मिएको छ । अहिले उनको बच्चा यहि फागुनमा एक बर्षको भएको छ । 

काठमाडौं जिल्ला अदालतको आदेशमा ग्रेसा काठमाडौंस्थित घरकै फ्ल्याटमा छोरासँग बस्दै आएकी छन् । त्यहीँ बसेर उनले कानुनी लडाइँ लडिरहेकी छन् । ‘त्यति जानेबुझेको परिवारले गर्भवती र सुत्केरी अवस्थामा म माथि जुन अमानवीय व्यवहार गरे त्यसका विरुद्ध लडिरहेकी छु । यस्तो व्यवहार अरु कुनै महिला माथि कसैले गर्न गर्ने आँट नगरोस् । नितेशसंग एक बर्ष बसेर बच्चा जन्माउनका लागि मात्रै विहे गरेको होइन । म माथि भएको अन्यायका विरुद्ध लडिरहन्छु ।’ ग्रेस भन्छिन् । 

तर यसरी कानुनी लडाई लड्दा छोरा र आफू माथि असुरक्षा हुने चिन्ता ग्रेसलाई छ । त्यसैले उनले राष्ट्रिय मानवअधिकार आयोग गुहारेकी छन् । किनकी कनोडिया परिवार आर्थिक, राजनीतिक पहुँच भएको परिवारका रुपमा चिनिन्छ जसको बुहारी माथि गर्भवती अवस्थामा चरम अन्याय भएको छ ।

समाचारमा उठाइएका र लेखिएका बिषय वस्तुका सबै प्रमाणहरु सेतोखरीसँग सुरक्षित रहेका छन् ।