मेडिकल कलेजको विवाद समाधान नगरे अझ भयावह स्थितीको सामना गर्नु पर्ने कर्मचारीको भनाई
नेपालगन्ज मेडिकल कलेज हेरिरहेका मान्यता पाइ नसकेको संजीवनी मेडिकल साइन्स प्रालिका सिइओ डा.नितेश कनोडियाले आफ्नै अस्पतालकी नर्सबाट झापड खाएका छन् । नर्समाथि अभद्र व्यवहार देखाएपछि डा.कनोडियाले गालामा झापड खाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
घटना गत मंगलबारको हो । अफिसियल कामले नेपालगन्ज मेडिकल कलेजको कार्यालयबाट बोलावट आएपछि सोही अस्पतालकी नर्स अनिता थापा कार्यालय पस्दै थिइन् । ढोकामा बसेका कर्मचारीलाई नर्स थापाले ‘भित्रबाट खनाल सरले बोलाउनु भएको थियो अनिता सिस्टर आउनु भएको छ भनिदिनुस् न’ भनिन् ।
ती कर्मचारी भित्र सोध्न गएर अनुमति मागेर आए अनि ‘आउनुस् म्याम’ भने । नर्स थापा भित्र के पस्दै थिइन् ढोकामा डा.नितेश दुई हात फिजाएर तेर्सिहाले । ‘तपाई कहाँ आउनु भो ? तपाईलाई यहाँ अलाउ छैन । तपाईले मेरो न्युज सेयर गर्ने ? भन्दै तथानाम बोल्दै दुई हातले ढोका छेकेर पिलर जस्तै खडा भइरहे । अनि नर्स थापाले मलाई भित्र सरले बोलाएर आएको हो भनिन् तर पनि डा.नितेशले अभद्र व्यवहार देखाइरहेपछि नर्स थापाले नितेशको गालामा थप्पड बजाइ दिइन् ।
अनि हङ्गामा भयो मेडिकल कलेजमा । झापड खाएका डा.नितेशले तुरुन्त सिसिटिभि भिडियो निकालेर जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी हाले । नर्स थापाले पनि डा.नितेशले अभद्र व्यवहार देखाएको र केही गर्न सक्ने संकेत देखिएपछि आत्मरक्षाका लागि झापड होनेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी लिएर गइन् । दुवैको उजुरी देखेपछि एसपी तुल वहादुर कार्की दङ्ग परे ।
दुवै थरीलाई प्रहरीले बोलायो । मेडिकल कलेजका तर्फबाट श्याम शर्मा, डा.नितेश कनोडिया र यता नर्स अनिता थापा छलफलमा बसे । अनि प्रहरीले दुवै थरीलाई मिलापत्र गराइ पठाइ दिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । ‘डा.नितेश उल्टै आफै फस्ने स्थिती आएपछि उजुरी फिर्ता लिएर जानु भयो’ एक प्रहरी अधिकृतले सेतोखरीसँग भने ।
जिल्ला प्रहरी कार्यालयमा नर्स थापाको तर्फबाट थुप्रै कर्मचारीहरु जम्म भइसकेका थिए । लामो समयदेखि नेपालगन्ज मेडिकल कलेजमा आन्दोलन चलिरहेको छ । कनोडिया परिवारले नेपालगन्ज मेडिकल कलेज बिक्री गरिसकेपछि कर्मचारी हटाउने उद्देश्यले त्यहाँ कार्यरत स्थाइ कर्मचारीलाई दुःख दिने, मानसिक यातना दिने, जागिरबाट हटाउने, बिना कारण कोहलपुर, चिसापानी सरुवा गरिदिने लगायतका कार्य जारी राखेपछि मेडिकल कलेज विरुद्ध कर्मचारी, राजनीतिक दल लगायत विरोधमा उत्रिएका छन् ।
झापड त एउटा संकेत मात्र भएको भन्दै कर्मचारीहरुले दुःख दिन नछोडे यो भन्दा भयावह स्थितीको सामना गर्नु पर्ने कर्मचारीहरुले बताएका छन् ।