आफ्नै बैंकबाट करोडौं रकम चलाएकोले अध्यक्ष ओम मिश्र राष्ट्र बैंक र सिआइबीको आन्तिरिक छानविनमा
रकम अपचलनका कारण नेपालगन्जमा केन्द्रिय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंक डुबेपछि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले (सिआइवी) ले पक्राउ गर्नका लागि बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरुलाई खोजिरहेको छ ।
कर्णाली डेभलपमेन्ट बैंकका संचालक, सिइओ र कर्मचारीहरुको मिलेमतोमा जनताको अर्बौ रकम हिनामिना हुँदा बैंक डुब्नपुगी डिपोजिट रकम समेत ग्राहकलाई फिर्ता गर्न नसकेपछि अन्तिम अवस्थामा नेपाल राष्ट्र बैंकले गत पुषदेखि उक्त बैंको व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको थियो ।
राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकको सम्पूर्ण व्यवस्थापन नियन्त्रणमा लिइ चलाउन थाले लगत्तै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले (सिआइवी) ले उक्त बैंक घोटाला बारे अनुसन्धान थालेको नेपाल राष्ट्र बैंक केन्द्रिय कार्यालयले जनाएको छ ।
सिआइवीको अनुसन्धानबाट बैंकका बोर्ड संचालक, सिइओ र कर्मचारीहरुको मिलेमतोमा बैंकको १ अर्ब भन्दा बढी रकम हिनामिना गरिएको पाइएपछि सिआइवीले पहिलो चरणमा कर्णाली डेभलपमेन्ट बैंकका पूर्व अध्यक्ष, पूर्व सिइओ, वर्तमान सिइओ सहित ७ जनालाई पक्राउ गर्नका लागि अदालतबाट पक्राउ पुर्जी लिएको छ ।
केन्द्रिय प्रहरीको उच्च स्रोतद्धारा सेतोखरी डटकमलाई प्राप्त विवरण अनुसार, वारदात स्थल (घटना स्थल) नेपालगन्ज भएकोले सिआइवीले जिल्ला अदालत बाँकेबाट बैंक घोटालामा संलग्न देखिएका ७ जना विरुद्ध पक्राउ पुर्जी लिइ उनीहरुको खोजी गरिरहेको छ । ७ जना मध्ये ४ जना त कर्णाली डेभलपमेन्ट बैंकका पूर्व सिइओहरु नै रहेका छन् ।
केन्द्रिय प्रहरीको उच्च स्रोतले सेतोखरीलाई दिएको विवरण अनुसार, पक्राउ पुर्जी जारी भएकाहरुमा कर्णाली डेभलपमेन्ट बैंकका पूर्व अध्यक्ष तथा सिइओ राजेन्द्रवीर राय, बैंकका पूर्व सिइओ सन्तोष कुमार राई, निमित्त सिइओ विष्णु प्रसाद कक्षपती, पूर्व सिइओ दिनेश कुमार रावत, वर्तमान सिइओ निरज बिक्रम शाह, पूर्व म्यानेजर दिपा थापा र फाइनान्स कर्मचारी वेद प्रकाश सिंह ठकुरी रहेका छन् ।
‘अदालतबाट पक्राउ पुर्जी ल्याउने वित्तिकै सिआइवीले उनीहरुको खोजी कार्य तीब्र पारेको छ अहिलेसम्म कोही भेटिएका छैनन् ।’ प्रहरीको उच्च स्रोतले सेतोखरीसँग भन्यो ‘बैंक घोटालमा प्रत्क्षय संलग्न देखिएका ७ जना पक्राउ पर्नेको पहिलो चरणको लिष्टमा छन् । यिनीहरुलाई पक्राउ गरेर बयान लिन थालेपछि दोस्रो चरणमा बोर्डमा बसेका संचालक देखि अन्य पनि अनुसन्धानको लागि पक्राउ पर्ने छन् ।’
सिआइवीले आफ्नो अनुसन्धानका क्रममा पक्राउ गर्नु पर्ने स्थिती आएमा सिधै ती व्यक्तिका नाममा अदालतबाट पक्राउ पुर्जी माग गर्ने र अदालतले दिएको पक्राउ पुर्जीका आधारमा सिआइवीले उनीहरुलाई पक्राउ गर्ने कानुनी प्रावधान रहेको छ । उक्त पक्राउ पुर्जी सिआइवी र अदालतसँग मात्र रहने गर्दछ ।
सिआइबी तथा नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक संचालन समितिका अध्यक्ष ओम मिश्र माथि पनि आन्तरिक अनुसन्धान गरिरहेको छ । आफ्नै बैंक आफै बैंकको बोर्ड अध्यक्षमा बसेर सोही बैंकबाट करोडौं रकम लगेको देखिएपछि अध्यक्ष मिश्र माथि राष्ट्र बैंक र सिआइबी दुवैले आन्तरिक रुपमा अनुसन्धान गरिरहेको स्रोतले सेतोखरीलाई जनाएको छ ।