–वसन्त गौतम
आजभोली बजारमा अनेकथरि बिज्ञापन आउने गरेका छन् । बिज्ञापनमा उम्लेको दुधको पोष्टिक तत्व हर्लिक्सले पुर्ती गर्छ, भन्छन् त जुस र ड्रिङ्कले बलवान र शक्ति दिने कुरा गर्दछन् ।
बिचार गरौं, के बिज्ञापनमा आउने सबै कुरा सत्य र वास्तविक हुन्छन् त ? कदापी हुदैनन् । ति त ग्राहक तान्न गरिएका आकर्षक बिज्ञापन मात्र हुन् । टेलिभिजनमा हर्लिसको एउटा विज्ञापन आउँछ । ‘दुध उम्लेपछि पौष्टिक तत्व नष्ट हुन्छ । त्यसैले हर्लिक्स मिलाएर बच्चालाई दिनुस् र दुधको पोषण बढाउनुस् ।’ ‘तपाईका बच्चाहरुले घरको खाना खाँदैनन् ? त्यसैले हर्लिक्स खुवाउनुस्, यो खाएपछि बच्चा छिटो बढ्छ, बढी बुद्धिमान हुन्छ ।’ झट्ट सुन्दा हो जस्तो लाग्ने यस्ता बि
ज्ञापनले मानिसलाई बेबकुफ बनाउने र घरमा उब्जाउ भएका बस्तुको प्रयोगमा निरुत्साहित गर्ने गरेका छन् ।
आफ्नो खेतबारीमा उत्पादन भएको जांैको सातु महंगो हर्लिक्स भन्दा कैयौ गुणा स्वास्थबर्धक मानिन्छ । तर, मानिसहरु आकर्षक बिज्ञापनका कारण हर्लिक्स जस्ता रेडिमेट खाद्य बस्तुहरु आफ्ना बच्चालाई खुवाउने गर्दछन् । टेलिभिजनमा आउने हर्लिक्सको बिज्ञापनमा एकजना स्वास्थ्यकर्मी आएर यस्तो खानेकुराले ‘बालबालिकाको बुद्धि बढाउँछ’ भन्दछन् । कुनै पनि बजारिया प्याकेटमा राखिएका खानेकुराहरुले बच्चालाई न त अग्लो बनाउँछ, न बढी बुद्धिमान बनाउँछ ।
बच्चालाई घरमा नै बनाईएका दाल, भात, रोटी, तरकारी, दूध, दही, फलफुल, गेडागुडी आदिको उचित पोषणले नै स्वस्थ राख्न मद्दत गर्दछ । कुनै खास खानेकुराले बालबालिकालाई बढी नै बुद्धिमानी बनाउने भए धनी बाउआमाका छोराछोरी बढी बुद्धिमान हुनु पर्ने थियो । तर, वास्तविकतामा त यस्तो देखिएको छैन । बरु रेडिमेट खाद्य बस्तु भन्दा गाउँले उत्पादित खाद्यबस्तु खाएका बच्चाहरु तन्दुरुस्त र स्वस्थ देखिएका छन् । उनीहरु नै बलवान् देखिएका छन् ।
यस्तै भ्रमपूर्ण विज्ञापनका कारणले गर्दा धेरै बाबुआमाले आफ्ना बच्चाहरुलाई घरको दालभात, रोटी, तरकारी, फलफुल खान प्रेरित नगरेर बाहिरका महंगा र जंगफुट खानेकुराहरु दिने प्रचलन बढ्दै गएको छ । आफुलाई आधुनिक शहरिया देखाउनैका कतिपयले यस्ता बस्तुहरु प्रयोगमा ल्याउने गर्दछन् । यस्ता बस्तुको उपभोगमा आफुलाई ठुलो सम्झन्छन् ।
चाउचाउ, बिस्कुट, कुरमुरे लगायतका जङ्ग फुड र कोल्ड ड्रिंक लगायतका पेय पदार्थले बालबालिकाको स्वास्थ्यमा राम्रो गर्नु भन्दा बढी नराम्रो गरिरहेका हुन्छन् । बेलामा बुद्धि नपुराई घरमा बनाएको खाना भन्दा रेडिमेट उत्पादित खाना दिँदा आप्mना बच्चाहरु बिरामी परेर आज थुप्रै अभिभावकहरु चिन्तित भैरहेका छन् । सजिलो र आकर्षक बिज्ञापनको भ्रममा परेकोमा मनमनै आफैलाई धिक्कारेका छन् । बिग्रको छोरा छोरीको स्वास्थ्य उपचार गर्न देश बिदेश दौडिरहेका छन् ।
आजभोली फलफूलको रसहरु तथा जुसको विज्ञापनमा पनि निकै झुट एवं भ्रमपुर्ण कुराहरुको प्रचार प्रशार भैरहेको छ । यस्ता बिज्ञापनमा ‘ताजा फलफूलबाट बनाई केही नमिसाई बट्टामा बन्द गरिएका स्वस्थ’ भनेर जोडतोडले प्रचार गर्ने गरिएको छ । फलफूलको बास्ना र चिनी मिसाएर बनाईएका रसलाई हामी साच्चिकै फलफूलको रस भनेर पत्याई किनेर खाने गर्दछौं ।
ठण्डा दिमागले सोचौं त फलफुलकै रस हो भने के कुनै पनि बाहिरी वस्तु नमिसाई फलफूलको रस ‘ताजा’ रहिरहन सक्छ ? बिल्कूल सक्दैन । फलफूलका रस बनाएर राख्दा फलफूलमा भएका कतिपय पोषण तत्व नष्ट हुन्छन् ।
गुलिया आइसक्रिम, चोखोपन, चकलेटहरु जति खाए पनि कुनै खास मञ्जनले दाँत माझेपछि चाँहि दाँतमा केही असर नगर्ने भन्ने किसिमका विज्ञापनहरु पनि सञ्चार माध्याममा आउने गरेका छन् । यसबाट बच्चाहरु मात्र नभई आमा बाबुहरुमा पनि ठूलो प्रभाव परेको देखिन्छ । तर, यस किसिमका भनाई बिल्कुलै गलत हुन् । बालबालिकाहरुको दाँतमा चकलेट, केक, आइसक्रिम, कोकाकोला, पेप्सी आदि गुलियो वस्तुको नकारात्मक असर पार्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।
वास्तवमा भन्ने हो भने कुनै वस्तुको जति बढी विज्ञापन हुन्छ त्यो वस्तु नै हामीलाई नचाहिने रहेछ भनेर बुझे हुन्छ । भटमास, कोदो, मकै, चना, जौ, फापर जस्ता वस्तुको विज्ञापन गर्न पर्दैन ति वस्तु हाम्रा लागी कति उपयोगी र हितकर छ भन्ने कुरा हामी कसैबाट छिपेको छैन । तर, आधुनिकता र अल्छीपनाले गर्दा आज हामी हाम्रा बच्चाहरुको स्वास्थ्य बिगार्नमा हामी आफै जिम्मेवार भैरहेका छौ । हामी आफैले आफ्ना बालबालिकालाई यस्ता वस्तुका परिकार बनाएर दिनुको सट्टा सजिलोको लागी रेडिमेट खानाको प्रयोग बढीनै मात्रामा गर्न थालेका छौं । आधुनिक र सभ्य कहलिन बजारीया सामग्रीको प्रयोग गर्न थालेका छौं ।
भ्रमपुर्ण विज्ञापनकै प्रभावले गर्दा आज तपाईं हामी जीवनका हरेक पलमा ठगिइरहेका छांै । विवेकहीन विज्ञापनकै प्रभावमा परेर हामीलाई आवश्यक नपरेका बस्तुहरु पनि किन्ने, घरैमा त्यो बस्तु भए पनि पकाउनको झन्झटका कारण रेडिमेट किन्ने नराम्रो बानी हामीमा परिसकेको छ ।
यसले गर्दा थोरै व्यय गर्ने ठाउँमा पनि हामीले धेरै खर्च गरिहेका छौं । आफ्नो स्वास्थ्य खराब गर्न आफैं अघि सरिरहेका छौ ं। विज्ञापनको प्रभावमा देखेर कुनै वस्तु प्रयोग गर्नु अघि हामीले गंभीर भएर सोच्ने बेला भैसकेको छ । के विज्ञापनमा भनिएका कुरा साँच्चै विश्वास गर्न लायक छन् त ? के विज्ञापनको प्रभावमा परेर हामीहरु विबेक त गुमाइरहेका छैनौँ ? ठण्डा दिमागले सोचौं ।
भ्रमपुर्ण बिज्ञापनको आधारमा सामान खरिद नगरौं । सजिलो र आकर्षक बिज्ञापनमा भ्रममा परि बालबालिकालाई जंग फुट दिन बन्द गरौं । वास्तविक कुरा बुझ्ने प्रयत्न गरांै । सकेसम्म घरमा उत्पादिन चिजबस्तुहरु प्रयोग गरौं । आधुनिक र सभ्य बन्ने नाममा स्वास्थ्यमाथी खेलवाड नगरौं । घरेलु उत्पादनका बस्तुहरुको अधिकतम प्रयोग गरौं ।
–लेखक उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष हुन् ।